२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

निबन्धकार शर्माको स्मृतिमा कृति

काठमाडौँ — अनुवादक एवं निबन्धकार नगेन्द्र शर्माको योगदान बारेको कृति 'नगेन्द्र शर्माको जीवनी र कृतित्व' प्रकाशनमा आएको छ । सोधकर्ता अनिता पन्थीले गरेको प्रत्यक्ष वार्ता र टिपोटको आधारमा तयार भएको कृतिमा लेखक शर्माका निबन्धसंग्रह, अनुवाद, व्यङ्गयसहितका लेखरचनाको समीक्षा गरिएको छ ।

निबन्धकार शर्माको स्मृतिमा कृति

हालै डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालयमा आयोजित समारोहमा साहित्यकार गीता केशरी, तुलसी भट्टराई, शर्माकी छोरी योजना शर्मासहितले कृतिको विमोचन गरेका थिए । मिर्गौला रोगबाट प्रताडित शर्माको २०७४ फागुन २५ मा ८८ वर्षेको उमेरमा काठमाडौंमा निधन भएको थियो ।


पश्चिम बंगालको खर्साङबाट घुम्ने क्रममा ३० वर्षे उमेरमा नेपाल आएका नगेन्द्र शर्माले काठमाडौंकै साहित्यिक संगत र माहोलमा आफूलाई स्थापित गराएका थिए । उनका 'नगेन्द्रका निबन्ध', 'अण्डादेखि भ्यागुत्तोसम्म', 'बनारसमा बेचिएकी बहिनी', 'सम्झाउनी बिर्साउनी', 'अनुस्मरण' लगायतका निबन्धसंग्रह प्रकाशित छन् । शर्माले बीपी कोइरालाको 'हिटलर र यहुदी' तथा झमक घिमिरेको 'जीवन काँडा कि फूल' पनि अंग्रेजीमा अनुवाद गरेका छन् ।


शर्माको साहित्यिक योगदानबारे प्राध्यापक गोविन्दराज भट्टराई, कुमार कोइराला, तुलसी भट्टराई, गीता केशरी, हरि गौतम लगायतले मन्तव्य राखेका थिए । 'नगेन्द्र शर्माको जीवनी र कृतित्व' पुस्तक ओरिएन्टल पब्लिकेसन्सले प्रकाशित गरेको हो । पुस्तकमा पत्रकार पारस नेपालले साहित्यकार शर्मासँग २०६८ सालमा लिएको विस्तृत अन्तर्वार्ता पनि समेटिएको छ । अन्तर्वार्तामा लेखक शर्माले भनेका छन्-'आइडल भएर कोही बस्नुहुन्न, कुनै उमेरमा पनि । झन् बूढ्यौलीमा त हुँदै हुन्न । मेरी श्रीमतीलाई जचाउन जाँदा डाक्टरले भन्थे-'हाम्रो ब्रेन पनि फलामजस्तै हो । जति चलायो, त्यति तिखारिंदै जान्छ । त्यत्तिकै राखे फलाममा झैं खिया लाग्दै जान्छ ।'



प्रकाशित : जेष्ठ ७, २०७६ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?