लेखनाथ — बैजनी रंगको फूलले ढकमक्क छ काठमाडौं । पारिजातको 'शिरीषको फूल' कि जकारान्डा भन्ने बहसले सामाजिक सञ्जाल रंगिएको छ । फेवाताल किनारमा भएका दुई-तीन बोट जकारान्डाले त्यो बहस पोखरासम्म ल्याएको छैन ।
बरु, पारिजातकै 'रातो गुलाब' कवितामाथि विमर्श भएको छ, शनिबारको पोखरा साहित्य महोत्सवमा ।
दर्शकदीर्घामा मन्त्रमुग्ध भएर बसिरहेका थिए उनै खगेन्द्र संग्रौला, जसले वर्षाैं पहिले पारिजातको अंग्रेजी कविता 'रेड रोज' अनुवाद गरेर 'रातो गुलाब' बनाएका थिए । उनको पहिचान जनाउने सेतै कपाल थियो । ढयाके चस्मा थियो ।
'रातो गुलाब' माथि बोल्न आउँदा रातो झोला थिएन । हम्मेसी साथै हुने रातो झोला उनले कहाँ राखे ? १५ मिनेटको आफ्नो सेसनमा उनले खुलाएनन् । रातो गुलाब अनुवादको सन्दर्भ सुनाए । 'कविता मैले बिर्सिसकेको थिएँ ।
आयोजकले भनेपछि धमिलो सम्झना मलाई के आयो भने पारिजातको दुईवटा कविता मैले अंग्रेजीबाट नेपालीमा अनुवाद गरेको थिएँ, एउटा 'रेड रोज' र अर्को 'डेथ (मृत्यु)',' उनले सम्भिए, 'रेड रोजमा के थियो मलाई थाहा थिएन । निस्सारताकालीन कविता हो कि, राल्फाकालीन कविता हो कि, अवसानको बेलाको कविता हो । मलाई थाहा थिएन ।'
पारिजातको २०४८ मा देहान्त भएपछि सुकन्याले आफूलाई अनुवाद गर्न दुई कविता दिएको उनले स्मरण गरे । कविता अनुवादका बारेमा भने आफ्नो मत अलि अप्ठेरो भएको उनले बताए । कविता अभिव्यक्तिका विधामध्ये सबैभन्दा कठिन, संक्षिप्त, सूत्रबद्ध, सूक्ष्म र तीक्ष्ण हुने भएकोले जोहोकीले लेख्न नसक्ने र लेखिएकाको अनुवाद गर्न नसक्ने उनको तर्क छ ।
महोत्सवमा पारिजातको विद्रोही कविता मात्रै सुनिएन, अंग्रेजी कवि पर्सी बयसी (पीबी) शेलीका प्रेमिल कविता पनि सुनिए । स्वच्छन्दतावादी ती महान् कविका कविता अर्का युवा कवि त्रिवेणीले वाचन गरे । शेलीका कविता 'ओजिमेन्डियस', 'फिलोसोफी अफ लभ' र 'ज्युज (यहुदी)' मा त्रिवेणी उम्दा सुनिए ।
प्रकाशित : जेष्ठ ५, २०७६ ०९:१५