१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ओलम्पिक पार्कमा नेपाली नृत्य

फूलमान वल

बेइजिङ — चीनको चर्चित वर्ड नेस्ट ओलम्पिक स्टेडियममा एसियन कल्चरल कार्निभलको भव्य उद्घाटन भएको भोलिपल्ट स्टेडियमकै ग्रिन पार्कमा बिहीबार नेपालबाट आएका विभिन्न समुदायका कलाकारहरूले नृत्य प्रस्तुत गरे । 

राजधानी बेइजिङमा जारी ‘कन्फरेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन’ अन्तर्गत आयोजित ‘एसियन सिभिलाइजन परेड’ मा विभिन्न १७ एसियाली मुलुकसँगै नेपालले पनि सहभागिता जनाएको हो । बिहीबार बिहान उद्घाटन भएको परेडमा मारुनी, तामाङ सेलो, थारू, कौडा, गुरुङ नाच, धिमे, टप्पा र सन्थाल नृत्य समेटेर ३० जना कलाकारहरूले सामूहिक प्रस्तुति दिएका थिए ।


कुमारीको भेषमा सजिएकी कलाकारले नेतृत्व गरेको नेपाली टोलीमा धरानबाट थारू र मारुनी नृत्य, काभ्र्रेस्थित सेलो थिएटरबाट तामाङ सेलो, भक्तपुरस्थित नेपाल सांस्कृतिक उत्थान परिषदबाट कुमारी, धिमे र सन्थाल नृत्य, पोखरास्थित हिमाली सांस्कृतिक परिवारबाट कौडा र गुरुङ नाच सामेल थिए ।


विभिन्न लोक बाजाहरू समेटर गायक दीपक बज्राचार्यले ‘मन मगन’ थिममा कम्पोज गरेको संगीतमा कलाकारहरूले आठवटै नेपाली नृत्यहरूको स्टेपलाई मिसाएर प्रस्तुत गरेका थिए ।


परेडको उदघाटनपछि बंगलादेश, कम्बोडिया, भारत, जोर्डन, कजाकिस्तान, लाओस, लेवनान, रूस हुँदै मैदानमा नेपाली कलाकार देखिएका थिए । यसपछि फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, थाइल्यान्ड, टर्की र भियतनामको प्रस्तुति रहेको थियो ।


चार्मिङ एसियाअन्तर्गत यी मुलुकको प्रस्तुतिपछि चार्मिङ चाइनाअन्तर्गत भित्री मंगोलिया, तिब्बत, युन्नानलगायत एक दर्जन चिनियाँ प्रान्तका कलाकारहरूको प्रस्तुति रहेको थियो । नेपालबाट भने गुरुङ र कौडा नृत्यको युवराज गुरुङले, तामाङ सेलोको सुसन लामाले, थारू र मारुनीको प्रशान्त तामाङले, नेवारी र कुमारीको बालमुकुन्द प्रजापतीले संयोजन गरिरहेका छन् । यी टोलीको मुख्य संयोजन वल्र्ड कल्चर नेटले गरेको हो ।


२००८ मा ओलम्पिक आयोजना भएको यो परिसरमा सांस्कृतिक परेड अझै चार दिन जारी रहनेछ । ‘नेपाली सभ्यता चिनाउने यो ठूलो मौका हो,’ टोली संयोजक दीपक सरकारले भने, ‘त्यही भएर विभिन्न समुदायको संगीत र नृत्य परम्परामार्फत नेपालभित्रको सांस्कृतिक विविधता झल्काउने गरी संयुक्त प्रस्तुति तयार पारेका हौं ।’

प्रकाशित : जेष्ठ ३, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?