२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रंगमञ्चमा कविद्वय

विपिन श्रीस

काठमाडौँ — कवि विप्लव प्रतीकले ‘इच्छा’ शीर्षकको कविता सुनाए । उनले यो कविता सुनाएसँगै प्रत्यक महिनाको पहिलो दिन सर्वनाम थिएटरमा हुने ‘हामी कवि र कविता’ को ६८ औं शृंखला सकियो ।

रंगमञ्चमा कविद्वय

मलाई मन छ म भएको कसैलाई थाहै नहोस्

मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस् ...


उनले कवितामा व्यक्त गरेको इच्छाभन्दा विपरीत कविता पारखीले भने उनलाई घेरे । कविताको प्रशंसा गरे, कविको तारिफ । उसो त उनले ‘इच्छा’ सुनाउनु ठीक अघि भनिसकेका थिए, ‘हामीले रचना गर्दा सबै मोहबाट वञ्चित भएर गर्न सक्यौं भने सच्चा कृति छोडेर गएका हुनेछौं जसको गौरव संसारभरका मान्छेहरूसँगै नेपालीले गर्न पाउँछन् ।’


‘काल’ शीर्षकको कविता सुनाएपछि कवि प्रतीकले तीन किसिमका कवि, कलाकार अथवा मान्छे हुने बताएका थिए । ‘एकथरी हुन्छ, जो जीवनभरिकलाकर्म अथवा जे जानेको छ त्यो गर्छ र त्यही जीवनमा प्रतिफल पाउँछ, कमाउँछ, खुसी हुन्छ । दोस्रोथरी जो जीवनभर कुकुरले नपाएको दु:ख पाउँछ, मरेपछि भयंकर मानसम्मान पाएर अरबौँ खरबौँको धनी हुन्छ,’ कवि प्रतीकले मान्छेको वर्गीकरण गर्दै भने, ‘र, अर्को कलाकार हुन्छ जसले जीवनभर कुकुरले नपाएको दु:ख पाउँछ, मरेपछि पनि उसलाई कसैले याद राख्दैन ।


मलाई वास्तवमा त्यस्तो किसिमको कलाकार बन्न मन छ । किनभने यहाँ कुनै सालिकको पनि अर्थ छैन, मरिसकेपछि कुनै पुरस्कार अथवा प्रतिष्ठाको पनि अर्थ छैन ।’


‘मेरो खुल्दुली’ शीर्षकको कविताबाट वाचन सुरु गरेका प्रतीकले त्यसपछि ‘जेब्राक्रसमा एउटा कुकुर’, शीर्षकको कविता सुनाए । कविता सुन्दै गर्दा समाजमा विद्यमान अव्यवस्थाप्रति व्यंग्य गरिएको आभास हुन्थ्यो । त्यसलगत्तै ‘हामी बाचेको युग’, ‘छुट्नुअघि’ वाचन गरे । असीको दशकमा लेखेको ‘नहारेको मान्छे’, ‘आरनमा तिमी र म’, ‘बा’, लगायतका झन्डै एक दर्जन कविता सुनाए ।


कवि प्रतीकले आफूलाई कविताको ‘फर्म’ मात्र लेखेको जस्तो लाग्छ, र ‘इसेन्स’ हराएजस्तो लाग्ने बताए । उनको कविता सुनिरहँदा त्यस्तो लाग्दैनथ्यो । उनले छन्द कविता लेख्न नसकेकोप्रति खेद पनि प्रकट गरे । उनले भने, ‘छन्दमा बसेर कविता लेख्न गाह्रो हुन्छ, त्यो अनुशासनमा बसेर लेख्नुपर्छ,’ छन्दमा कविता लेख्न नसकेको बताउँदै कवि प्रतीकले थपे, ‘यसको अर्थ यो होइन कि मैले लेखेका कविताहरू, रमेशले लेखेका कविताहरू सजिला छन् । यसमा पनि के भन्नुपर्छ भन्ने अनुशासनमा बसेर लेख्नुपर्छ, यसमा पनि रिदम हुन्छ, महसुस गर्नेले त्यो महसुस गर्छन् ।’


प्रतीकअघि कवि रमेश सायन प्रस्तुत भए । कविता सुनाउनकै लागि मोरङबाट रातारात काठमाडौं आएका सायनले ‘परिचय’, ‘बुख्याच्चा’ लगायतका आधा दर्जन कविता सुनाएका थिए । सायनले सुरुमै आफ्नो स्वतन्त्रताको गुमाएको जागिरेको मनोदशामा आधारित कविता ‘जागिर’ शीर्षकको सुनाए ।


एक दिन म जिन्दगीसँग औधि थाकेँ

र भनेँ-

मालिक, तपाईंले मेरा भोक र अभावहरू टारिदिनुभयो

धन्य छ तपाईंलाई

अब मलाई मर्न दिनुस्

मालिकले भन्यो-

ठिक छ

आज थुप्रै काम छ

सप्पै सक र भोलि मर ।’

(जागिर कविताबाट)


प्रकाशित : जेष्ठ २, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?