३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बोडो-मेचे सभामा छमछमी 

काँकडभिट्टा — खाम (ढोलक), छिफुङ (बाँसुरी) र दोथ्रा (सारंगी) वाद्यवादक अघि लागेका छन् । दोस्रो पंक्तिमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई छन् । उनीपछि दोखना (मेचे पहिरन) लगाएका युवती । उनीहरूले बाजाको तालमा बोराइनाइ (स्वागत नाच) नाच्दै मुख्यमन्त्रीलाई स्वागत गरे ।

बोडो-मेचे सभामा छमछमी 

कुनै कार्यक्रम सुरु गर्नुपूर्व यो समुदायको जातीय विधि नै छ । विधि पूरा गरे । मुख्यमन्त्रीलाई राष्ट्रिय झन्डोत्तोलन गर्न लगाएपछि मञ्च चढाए ।


झापा यस्तो जिल्ला हो, जहाँ सरकारले अनुसूचित गरेका आदिवासी जनजातिमध्ये अधिकांशको बसोबास छ । यसमा लोपोन्मुख आदिवासी मेचे पनि छन् । मेचे समुदायले शनिबार नेपालमै पहिलो पटक बोडो-मेचे साहित्यसभा आयोजना सुरु गरेको छ । दुईदिने महोत्सवमा मेचेहरूको पुख्र्याैली थलो भारत असमबाट समेत दुई सय हाराहारीमा सहभागी छन् । सम्मेलनमा आफ्नो साहित्य र संस्कृतिको चर्चा गर्ने मानवशास्त्री सन्तलाल मेचेले जनाए । मेचे सिवियारी आफातले आयोजना गरेको सम्मेलनमा उनीहरूको भाषा, संस्कृति र रहनसहनबारे बहस हुनेछ ।


मुख्यमन्त्रीले नेपाल जातीय, भाषिक, सांस्कृतिक र धार्मिक रूपमा वैभवशाली रहेको चर्चा गरे । संघीयताले सबै जातजाति र भाषाभाषीको पहिचानको सपना पूरा गर्न सक्ने उनले बताए । मेचे समुदायको भाषा, साहित्य र संस्कृतिको उत्थानका लागि सक्दो पहल गर्ने आश्वासन दिए । मानवशास्त्री सन्तलालले मेचे समुदायको संस्कृति र रहनसहनको जगेर्ना गर्न यस किसिमको कार्यक्रम सार्थक हुने जनाए ।


उनले भने, 'हाम्रो अधिकार प्राप्तिका लागि यस्ता कार्यक्रम प्रभावकारी बन्न सक्छन् ।' सम्मेलनमा मेचे समुदायका भाषा, साहित्य, कला, संस्कृति आदि विभिन्न विषयमा छलफल गरिने अध्यक्ष रुपेश मेचेले जनाए । यी समुदाय झापाको मेचीनगर, दमक, धाइजन, ज्यामिरगढी, चकचकी, जलथल, भद्रपुरलगायत स्थानमा छन् । २०६८ को जनगणनाअनुसार मेचेको संख्या ४ हजार ८ सय ६७ रहेको छ ।

प्रकाशित : वैशाख ३०, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?