१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बालविवाहविरुद्ध मुकारुङको 'मितिनी'

काठमाडौँ — पूर्वी पहाडको एउटा गाउँ । जहाँ ब्राहृमण जातिको मात्र बसोबास हुन्छ । गाउँको कुनै नाम हुँदैन । पछि वरपरबाट अरु जातिहरू आउँछन् । उनीहरूले गाउँको नाम राखिदिन्छन्, 'बाहुन गाउँ' । यसरी गाउँले नाम पाउँछ, एक जातिबाट अनेक जातिको बसोबास हुन्छ । 

बालविवाहविरुद्ध मुकारुङको 'मितिनी'

एक दिन गाउँका दुई बालिका सविता र वविताबीच झगडा हुन्छ । उनीहरूको झगडा मिलाउन अभिभावकले मित लगाइदिन्छन् । मितिनी भएपछि सविता र वविता मिल्छन् तर केही समयपछि नै छुट्टनिुपर्छ, कारण बालविवाह । ब्राहृमण समुदायकी सविताको बाल विवाह हुन्छ । नेवार समुदायकी वविता पछि डाक्टर बन्छिन् । सानैमा विवाह भएकाले सविताले जीवनमा अनेक चुनौती झेल्नुपर्छ । अवसर पाएकाले वविता सफल बन्छिन् ।


यसरी एउटै गाउँका फरक जातिका बालिकाबीचको मितिनी सम्बन्धबाट बालविवाहविरुद्ध वकालत गरेको 'मितिनी' नाटकको एक सय १८ शृंखला झन्डै अढाइ वर्ष मुलुकभरका ५८ वटा सामुदायिक रेडियोबाट प्रसारण भयो । सोही रेडियो नाटकलाई कवि/नाटककार श्रवण मुकारुङले हालै पुस्तकको रूपमा प्रकाशन गरेका छन् । मोबाइल एप्लिकेसनसमेत बनिसकेको नाटक पहिले सुन्न मात्र सकिन्थ्यो, अब पढ्न पनि सकिन्छ ।


रेडियोमा प्रसारण भइसकेको नाटकलाई किन पुस्तकको रूपमा प्रकाशन गर्नुपर्‍यो त ? नाटककार मुकारुङ भन्छन्, 'रेडियो नाटकको स्तर कमजोर भइरहेको अवस्थामा रेडियो नाटक गर्न चाहनेलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरेको हुँ ।' मूलतः कविको छवि बनाएका मुकारुङले 'मितिनी' रेडियो नाटकको क्षेत्रमा सन्दर्भ सामग्री हुने विश्वास व्यक्त गरे ।


'मैले कविता, गीत लेख्छु तर सबै विषय त्यसबाट व्यक्त गर्न सकिँदैन,' नाटक लेखनमा आउनुको कारण खुलाउँदै मुकारुङले भने, 'नाटक पनि साहित्यको महत्त्वपूर्ण विधा हो, यसबाट पनि प्रभावकारी रूपमा सन्देश प्रवाह गर्न सकिन्छ ।' उनले रेडियो नाटक 'मितिनी' आफ्नो महत्त्वाकांक्षी लेखन भएको बताए ।


मितिनी नाटकका कार्यकारी निर्माता रेडियो अभियान्ता रघु मैनालीले पनि यो पुस्तक रेडियो नाटक उत्पादन गर्नेहरूका लागि मार्गनिर्देशक बन्ने बताए । 'प्रसारणपछि विरलै मात्र सिर्जना प्रकाशित हुन्छ,' मैनालीले भने, 'मितिनी नाटकले बोकेको ओजपूर्ण सन्देश र शिल्पी माधुर्यले यो पुस्तकको स्वरूपलाई सम्भव बनाएको हो ।'


नाटकमा माओवादी सशस्त्र द्वन्द्व सुरु भएपछिका दुई दशकको अवधिमा नेपाली समाजमा देखिएका राजनीतिक, सामाजिक, मनोवैज्ञानिक परिवर्तनलाई आलोचनात्मक यथार्थवादमा आधारित रहेर प्रस्तुत गरिएको छ ।


नाटकले महिलामाथि हुँदै आएको भेदभाव, बालविवाह र यसले ल्याउन सक्ने सम्भावित खतरालाई सम्बोधन गरेको नाटक निर्देशक अनुप बरालले बताए । 'त्यति मात्र होइन,' बरालले भने, 'एउटा कालखण्ड, समाजको संरचना, भूगोल र राजनीतिलाई परीक्षणको दायरामा ल्याउँछ ।'


रेडियो अभियन्ता मैनालीले पनि मुकारुङको नाटक बालविवाहविरुद्धका अभियन्ताका लागि अचुक अभियान सामग्री बन्ने दाबी गरे । नाटककार मुकारुङले नाटक मूलतः मञ्चन गर्ने विषय भएको भन्दै यस पुस्तकको आधारमा रंगमञ्चमा नाटक मञ्चन गर्न, टेलिश्रृखला बनाउनलगायतका सिर्जनात्मक कामका लागि आफू खुला रहेको बताए । 'नाटक सुनेपछि विभिन्न जिल्लाबाट मञ्चनका लागि आग्रह भएको थियो,' मुकारुङले भने, 'सहकार्यबाट अगाडि बढ्न खुला छु ।'


'मितिनी' नाटक पुस्तक ब्रदर बुक्सले प्रकाशन गरेको हो । मुकारुङले २०५३ मा 'यलम्बर' नाटक पनि लेखेका थिए ।

प्रकाशित : वैशाख २४, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?