आख्यानतिर भूपीन

काठमाडौँ — कविता हुँदै आख्यानतिर पस्ने लेखक थुप्रै छन् । यो पंक्तिमा थपिएका छन् स्रष्टा भूपीन खड्का । साहित्यमा भूपीन मात्रै लेख्ने भने यिनी कविता र निबन्ध हुँदै उपन्यास लेखनमा पनि पसेका हुन् ।

आख्यानतिर भूपीन

शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित समारोहमा उनको उपन्यास ‘मैदारो’ लोकार्पण गरियो । साहित्यकार तथा विश्लेषक आहुति, उपन्यासकार नयनराज पाण्डे, राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारीले कृति सार्वजनिक गरे ।

आहुतीले उपन्यासमार्फत दलित मुद्दालाई स्थापित गर्न खोजिएको बताए ।


उनले विसं २००६ मा दलित अभियन्ता सर्वजित विश्वकर्मले थालेको आन्दोलनको कथालाई औपन्यासिक चित्रांकन गरेर भूपीनले राम्रो कार्य गरेको बताए । ‘यो उपन्यासको नायक युद्धको निरपेक्ष विरोधी छ,’ उनले भने, ‘तिनै नायकमार्फत लेखकले कुनै पनि युद्धले मानवीय क्षतिबाहेक अरू उपलब्धि नदिने विचार अभिव्यक्त गर्न खोजेका छन् ।’ उनले उपन्यासको भाषाको पनि प्रशंसा गरे । ‘भाषा र शैलीको हिसाबबाट पनि कृति अब्बल छ,’ उनले भने । त्यस्तै उपन्यासकार पाण्डेले ‘दलितलाई केन्द्रमा राखेर लेखिएको उपन्यासमा कविता, निबन्ध र आख्यानको पनि सम्मिश्रण पाइने दाबी गरे ।


अन्सारीले विषयवस्तुमाथि न्याय गर्न ‘मैदारो’ सफल रहेको बताए । भूपीनले आफूले सामाजिक यथार्थवाद र स्वैरकल्पनाको मिश्रण गरेर स्थानीय विषयलाई स्थापित गर्न खोजेको दाबी गरे । ‘आञ्चलिकताको प्रयोग स्थानीय स्वाद दिनका लागि मात्र होइन,’ उनले भने, ‘स्थानीय विषयवस्तु स्थापित गराउन पनि हो ।’ प्रकाशक बुक हिलका अध्यक्ष भूपेन्द्र खड्काले पनि पुस्तकमाथि प्रकाश पारे ।

प्रकाशित : वैशाख १, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?