३२ भाषाका ३६ कविता वाचन
काठमाडौँ — अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानले मङ्गलवार 'राष्ट्रिय मातृभाषा कविता महोत्सव' आयोजना गरेको छ । महोत्सवमा ३२ भाषाका ३६ वटा कविता वाचन गरिएको छ ।
महोत्सवमा सपना श्रीवास्तवले अवधि, राकेश बी एम चिन्तनले अठार मगर खाम, कुमारी शरणा उराँवले उराँव, रमा कुमाल र पशुपति कुमालले कुमाल, समीप कुलुङले कुलुङ, हेमन्त केवरतले केवरत, नेचुरल्ली दिपकले कोयु, स्मृति अधिकारीले खस, छम गुरुङले गुरुङ, गणेशकुमार घलेले घले, टहल जिरेलले जिरेल, टंकबहादुर आलेमगर र मेक रानामगरले ढुटमगर भाषामा कविता सुनाएका थिए ।
यस्तै, पूर्णीमा ताजपुरियाले ताजपुरिया, ङ्हेमा थाङ्पालले तामाङ, शिखर थामीले थामी, राकेशकुमार सिंह र अर्णव चौधरीले थारु, रमेश कुमार दनुवारले दनुवार, प्रयास दुमी राईले दुमी, मुक्तिनाथ घिमिरेले दुरा, उर्मिला धिमालले धिमाल, प्रतापसिं नाछिरिङले नाछिरिङ, महेश कमल र सुधीर ख्वबिले नेपाल भाषा, रेहान खानले बज्जिका, सन्तोष निराले बान्तवा, शिवनन्दन जयसवाल र वीणा सिन्हाले भोजपुरी, गणेशकुमार लाल र दिनेश यादवले मैथिली, हेन्सेन याक्खाले याक्खा, बालकृष्ण राईले वाम्बुले, राधिका चोङ्बाङले लिम्बु, आङ्दावा शेर्पाले शेर्पा, शोभा सुनुवारले सुनुवार र गुना हायुले हायु भाषामा कविता सुनाए ।
दुईदिने महोत्सवको दोस्रो दिन धिमाल, लिम्बु, बान्तवा, नेवार, गुरुङ, तामाङ, शेर्पा, सुनुवार खस जातिले सांस्कृतिक झाकीसहित र्याली प्रदर्शन गरे । कमलादीबाट सुरु भएको र्याली रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रतिष्ठानमै आएर टुंगिएको थियो ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले बाह्य भाषाले जबरजस्त रूपमा नेपाली समुदायलाई प्रभाव पारिरहेकोमा दुःख व्यक्त गर्दै उनले गोपनीयता कायम राख्न नेपालले आफ्नै भाषाको प्रयोग गर्न सक्ने बताए । 'बौद्धिकता र गुणस्तरीयको नाममा जानी नजानी आफ्नो भाषा छोडेर अरूको भाषा सिक्न तत्पर भइरहेका छौँ । यसलाई सुधार्नुपर्छ,' उपराष्ट्रपति पुनले भने, 'हाम्रै मातृभाषामा नेपाल लेख्न र बोल्न जान्दैन भने कसरी राष्ट्रियता रहन्छ होला । त्यसैले प्राथमिकतामा आफ्नो भाषा हुनुपर्छ ।'
तस्बिरहरुः सञ्जोग मानन्धर/कान्तिपुर
प्रकाशित : फाल्गुन ९, २०७५ १८:३६