कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल–भारत कला कार्यशाला

मधु शाही

भारत, लखनउ — कलाकार र पत्रकारको सम्बन्ध दर्साउन भारतको लखनउमा ४ दिने कार्यशाला गोष्ठी सुरु भएको छ । ‘इन्डो–नेपाल आर्टिस्ट एन्ड आर्ट क्रिटिक सिम्फोजियम’ नाम दिइएको उक्त गोष्ठी शनिबारदेखि सुरु भएको छ ।

गोष्ठीमा नेपालबाट चित्रकार रागिनी उपाध्यायसँगै एरिना ताम्राकार, समुन्द्रमानसिंह श्रेष्ठ, केशवराज खनाल सहभागी छन् भने भारतबाट अमित कुमार, सञ्जय के राज, चन्दन अग्रवाल, मनीषा अग्रवाल छन् । त्यस्तै, दुवै देशका ४/४ पत्रकार पनि कार्यशाला गोष्ठीमा सहभागी छन् ।


ललितकला अकादमी क्षेत्रीय कार्यालयको स्टुडियोमा ४ दिनसम्म कार्यशाला चल्नेछ । युपी आर्ट सर्कल लखनउले आयोजना गरेको कार्यशालामा पत्रकारको कला समीक्षा विषयमा समेत सेमिनार चलिरहेको छ । सेमिनारमा भारतका कला समीक्षक एवं पत्रकार डा. राजेश व्यासले कला पत्रकारिता कसरी गर्ने भन्नेबारे अनुभव साटे ।


कला पत्रकारिता आमपत्रकारिताभन्दा फरक रहेको उनले बताए । कला समीक्षक बन्नका लागि सबैभन्दा पहिला कलाकारिता बुझ्न जरुरी रहेको उनको तर्क थियो । ‘कला समीक्षक पनि कलाकार नै हो,’ उनले भने, ‘कलाकारले क्यानभासमा कला सिर्जना गर्छ भने समीक्षक वा पत्रकारले शब्दमा वाचन गरिदिन्छ । जुन आफैंमा ठूलो क्रिएसन हो ।’ तर, भारत र नेपालमा गरिने कला पत्रकारिता समाचारमा मात्रै सीमित रहेको उनले बताए ।


कार्यक्रममा कवि समीक्षक नरेश सक्सेनाले कला नांगो आँखाले देख्न नसकिने बताए । छोएर, हेरेर, सुँघेर, महसुस गरेपछि मात्रै कलाको वास्तविक अर्थ बुझिने उनको विचार थियो । यूपी आर्ट सर्कलका अध्यक्ष प्रोफेसर जयकृष्ण अग्रवालले नेपाल र भारतका कलाकार एवं पत्रकारको सिम्फोजियम पहिलो पटक भएको दाबी गरे ।


कला र पत्रकारिता एक–अर्काका परिपूरक रहेको र यी दुवैलाई सँगै तिखार्न सकियो भने देशको सांस्कृतिक विकास दरिलो हुने उनको तर्क थियो ।

प्रकाशित : माघ २७, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?