प्रधानमन्त्री ओलीद्वारा पत्रकार गुरुङको 'निरन्तर नेतृत्व' पुस्तक विमोचन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधामनन्त्री केपी ओलीले पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक 'निरन्तर नेतृत्व'को विमोचन गरेका छन् । तमूहरुको चाड ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले उक्त पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले पुस्तकले समाजका लागि सकारात्मक सन्देश दिने बताए । समाजमा लेखेर योगदान दिने काममा अझ अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

बेलायतमा तमूहरुले सामाजिक संस्थाको रुपमा स्थापना गर्नका लागि गरेको संघर्षलाई समेटेर पुस्तक लेखिएको हो । पुस्तकमा तमु धिं युकेको हालसम्मको आठ नेतृत्वको अनुभवलाई समेटिएको छ । पुस्तकमा तमुधिं युके स्थापनाको १८ वर्षको संघर्ष र सफलता समेटिएको छ । प्रवासमा रहेर पनि समाजसेवामा पुर्‍याएको योगदान र मानवीय सहयोगका लागि तमुधिंले खेलेको भूमिकालाई पुस्तकको मुख्य विषयवस्तु बनाएको पत्रकार गुरुङले बताए । त्यस अवसरमा गौरव गुरुङद्वारा लिखित ल्होछार गीतको भिसीडीसमेत प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका थिए ।

त्यसैगरी, उक्त पुस्तक ल्होछारको अवसरमा बेलायतमा पनि आइतबार नै विमोचन भएको छ । गण्डकी प्रदेशका योजना तथा अर्थ मामिलामन्त्री किरण गुरुङले बेलायतको रेडिङमा तमुधिं युकेले आयोजना गरेको ल्होछार समारोहमा विमोचन गरेका हुन् । पुस्तक २३२ पृष्ठको छ ।

प्रकाशित : पुस १५, २०७५ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्

पर्व बिदा पुनरावलोकन गर्ने प्रधानमन्त्री ओलीको आश्वासन [भिडियोसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले कटौती भएका विभिन्न समुदायको पर्व बिदा पुनरावलोकन गर्ने आश्वासन दिएका छन् । तमु ल्होछारको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले पर्वमा सार्वजनिक बिदा दिनुपर्नेलगायत जायज माग प्रक्रिया मिलाएर पूरा गर्ने बताए ।

'मैले तपाईंहरूको भावना र माग बुझें, जायज माग पूरा गर्न पहल गर्नेछु’, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदले गरेको ल्होछार कार्यक्रममा उनले भने, 'मैले यहाँ घोषणा गर्न मिलेन। प्रक्रियाअनुसार तपाईंहरूको जायज माग पूरा हुन्छ।’

ओलीले प्रक्रिया पूरा गरेर माग सम्बोधन गर्ने आश्वासन दिए। 'मैले यहीं घोषणा गरें भने फेरि मलाई स्वेच्छाचारी भयो भनिहाल्छन्, म सबै जातजातिका मानिस नेपाली हौं भन्नेमा विश्वास गर्छु, तपाईंहरूको जायज माग पूरा गर्छु’, उनले थपे।

गुरुङ, मगर, राई, लिम्बू, थारू, तामाङलगायत आदिवासी जनजाति तथा मुस्लिम धर्मावलम्बीको प्रमुख चाडमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरी समुदाय विशेषलाई मात्र बिदा दिने गरिएकामा विरोध भइरहेको छ। उनीहरूले पुन: सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन्।

प्रधानमन्त्रीभन्दा अघि स्वागत मन्तव्यका क्रममा छोंज धिं अध्यक्ष रेशम गुरुङले बिदा कटौतीको निर्णय पुनरवलोकन नगरे आन्दोलनमा जाने चेतावनी दिएका थिए। ‘गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ तर गुरुङहरू गण्डकीमा मात्रै छैनन्, प्रधानमन्त्रीकै गृहजिल्ला झापामा पनि छन्। हामी टुँडिखेलमा जम्मा भएर पनि खुसीसाथ ल्होछार मनाउन सकेका छैनौं’, उनले भने, ‘बिदा कटौती गर्ने निर्णयले हाम्रो चित्त दुखेको छ।’

गुरुङ समुदायले पुस १५ लाई नयाँ वर्षको रुपमा मनाउँछन्।विभिन्न पेसा र व्यवसाय गरेर काठमाडौंमा बसोबास गर्नेहरुले टुँ‌डिखेलमा जम्मा भएर ल्होछार मनाउँदै आएका छन्।

भिडियो

प्रकाशित : पुस १५, २०७५ १७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्