१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

छोरी जन्मनु श्राप हो यदि भने...

काठमाडौँ — इटहरीमा रहेर क्रियाशील कवि टीका आत्रेयलाई बिहिबार काठमाडौंमा सुनियो । उनले आफ्ना कविताहरू छन्दमा वाचन गरिन् ।

छोरी जन्मनु श्राप हो यदि भने...

विभिन्न छन्दका कविता सुनेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निकै मज्जा आएको प्रतिक्रिया दिए । ‘यसअघि उहाँलाई सुनेको रहेनछु,’ ज्ञवालीले भने, ‘पहिले नै सुनेको भए धेरै सिक्न पाइने रहेछ ।’

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले प्रत्येक महिनाको तेस्रो बिहीबार आयोजना गर्दै आएको ‘स्रष्टा र सिर्जना’ कार्यक्रममा यसपालि टीकालाई निम्त्याएको थियो । सोही समारोहमा मन्त्री ज्ञवालीले टीकाका केही कविता दोहोर्‍याएर सुने । ‘उहाँको जस्तो लयमा गाउन सक्दिनँ,’ उनले भने, ‘मेरो स्वर कर्कश सुनिएला ।’ भाव, स्वरूप र प्रस्तुति तीनै तरिकाले टीकाका कविता सुन्दर लागेको ज्ञवालीको भनाइ थियो ।

समारोहमा कविले ‘आमा बनेको दिन’ शीर्षक रचनामा प्रसव पीडाका प्रसंग सुनाएकी थिइन् :

मेरो ऊर्वर कोखबाट धरती

आशा यही गर्दथ्यो

मैले सुन्दर सृष्टि रोप्छु जगमा

विश्वास यो भर्दथ्यो

ब्रह्माले रचना गरे यदि भने

आमा बनायो किन ?

यौटा मृत्यु गरें परास्त पहिले

आमा बनेको दिन ।

शार्दूलविक्रीडित छन्दकै

‘भ्रूण प्रश्न’ शीर्षक कविता उत्तिकै शक्तिशाली थियो :

यो ब्रह्माण्ड कहाँ रहन्छ यसको,

मासेर मूलै जरा ?

रोक्दै छौ किन जन्मिने पथ यहाँ, छोरीहरूकै तर ?

त्रासैत्रास छ भ्रूणमै पनि हरे

पाउन्नँ कि जन्मन ?

छोरी जन्मनु श्राप हो यदि भने

संसार कस्को भन ?

‘धरौटी प्राण’ कवितामा उनले वैदेशिक रोजगारीमा रहेकाहरूको मनोभाव सुनाइन् । ‘परदेश जानेलाई’ मा भने उनले बिदेसिनेको सम्झना र अभावमा रहेका परिवारको व्यथा व्यक्त गरेकी थिइन् ।

कविकी छोरी स्वीकृति काफ्लेले ‘आमा’ शीर्षक कविता सुनाइदिइन् । इन्दु अंशुले पनि मन्दाक्रान्ता छन्दमा रहेको ‘यात्रा मेरो अविरल बनोस्...’ भन्दै टीकाको रचना वाचन गरिदिएकी थिइन् । ‘वसुन्धरा’, ‘युवा’ लगायत कविता पनि प्रस्तुत गरिएका थिए ।

काठमाडौंलाई केन्द्र र काठमाडौं बाहिरलाई मोफसल भन्दै कलामा कृत्रिम पर्खाल निर्माण गरिएको भन्दै मन्त्री ज्ञवालीले यो तोड्नु आवश्यक रहेको औंल्याए । ‘टीकाजीका कविता सुनेपछि काठमाडौं मात्र श्रेष्ठ वा सिर्जनाको केन्द्र हो भन्ने भ्रम तोडिन्छ,’ उनले भने, ‘त्यो भ्रमका लागि यस्ता रचनाहरू जबरजस्त जवाफ हुन् ।’

प्रकाशित : मंसिर २१, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?