मदन पुरस्कार र जगदम्बा–श्री प्रदान

कान्तिपुर संवाददाता

ललितपुर — महिला अधिकारका लागि आफूसहित ६७ अनुयायीसँगै जीवन त्याग गरेकी योगमाया न्यौपानेमाथि लेखिएको ‘योगमाया’ उपन्यासका लागि नीलम कार्की निहारिकालाई वर्ष २०७४ को मदन पुरस्कार प्रदान गरिएको छ ।

मदन पुरस्कार र जगदम्बा–श्री प्रदान

बिहीबार पुरस्कार ग्रहण गरेपछि नीलमले भनिन्, ‘योगमायाको साहस र योगदानलाई समाजमा परिचित गराउने मेरो सानो प्रयासले मात्र उनको पूर्ण सम्मान हुँदैन । उनले परिकल्पना गरेको ‘धर्मराज्य अर्थात् सुशासन’ स्थापना भएपछि मात्रै उनको युद्धको विश्राम र उनको सच्चा सम्मान हुनेछ ।’


पाटनढोकास्थित रातो बंगला स्कुलको कमलमणि थिएटरमा आयोजित पुरस्कार वितरण समारोहमा नीलमलाई मदन पुरस्कार र साहित्यकार शान्तदास मानन्धरलाई जगदम्बा–श्री पुरस्कार प्रदान गरियो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले दुवैको आरती उतार्दै माला पहिर्‍याएर जनही २ लाख

रुपैयाँ अर्पण गरे । पुरस्कृत सर्जकलाई तोया गुरुङ, रमेश खकुरेललगायतले गुठीको चलनअनुसार सिटबाट ‘उल्क्याएर’ स्टेज चढाएका थिए । दुवैलाई ब्यौला (बेहुला) सम्बोधन गरिएको थियो ।

कार्यक्रममा नीलमले निकै भावुक भएर परिवार, साथीभाइ, प्रकाशक र गुठीप्रति आभार व्यक्त गरिन् ।


जगदम्बा–श्री पाएका शान्तदास भने आफूलाई हौसला मिलेको बताइरहेका थिए । उनले भने, ‘बालबालिकाका लागि काम गरेकाले मैले देशका पूर्व र पश्चिमका धेरै जिल्ला पुगेर देश चिन्न पाएँ । यही कारण आजा मैले कहिल्यै नचिताएको ऊर्जा पाइरहेको छु ।’ २०१५ सालमा गोपालप्रसाद रिमालले आफूलाई नेपाली भाषामा लेख्न भनेपछि आफू बालसाहित्यतर्फ लागेको उनले स्मरण गरे ।


समाजले कम देखेका, कम लेखेका, कम सुनेका र कम बुझेका योगमायाजस्ता पात्रलाई साहित्यमार्फत् अगाडि ल्याएकोमा नीलमलाई पुरस्कृत गरिएको गुठी अध्यक्ष दीक्षितले बताए । शान्तदासमार्फत् आफूले नेपाली कथा परम्परा सिकेको भन्दै दीक्षितले थपे, ‘भविष्यको पुस्तालाई यहाँ र यहाँजस्तै बालसाहित्य, लेखन, सम्पादनमा सदैव सक्रिय रहने व्यक्तिको खाँचो छ ।’ भाषा, साहित्य र कला–संस्कृतिको विकास, विस्तार र प्रवर्धन गर्ने उद्देश्यले गुठी स्थापना गरिएको उनले अवगत गराए ।


समारोहमा विद्वद् प्रवचन दिँदै वातावरणविद् डा. तीर्थबहादुर श्रेष्ठले नेपालको पर्यावरणीय विवरण, हिमाल–पहाड–तराईको विशेषता र अहिलेको विवादास्पद बाराको वनबारे चर्चा गरेका थिए । ‘बारामा २४ लाख रूख काटेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रस्ताव छ । त्यसको बदलामा ६ करोड १२ लाख

रूख अन्यत्र रोप्ने कुरा छ । रूख रोप्ने कहाँ हो, ठाउँ यकिन छैन । रोपिहाले पनि सयौं वर्षको समयावधिपछि मात्र वनले स्वरूप लेला । समयान्धी सोच वातावरणका लागि उपयुक्त हुँदैन ।’

प्रकाशित : आश्विन २६, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?