२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

घिमिरे र बाँस्तोलालाई बीपी सम्मान

काठमाडौँ — बीपी कोइरालाको १०५ औं जन्मजयन्ती अवसरमा शुक्रबार दुई व्यक्तित्वलाई सम्मान गरिएको छ । साहित्यकार एवं पत्रकार रोचक घिमिरेलाई बीपी साहित्य सम्मान र नेता चक्रप्रसाद बाँस्तोलालाई बीपी प्रजातन्त्र सेनानी सम्मान दिइयो ।

घिमिरे र बाँस्तोलालाई बीपी सम्मान

जननायक बीपी कोइराला स्मृति ट्रस्टका तर्फबाट पूर्व राष्ट्रपति रामवरण यादवले सम्मानित दुवैलाई नगद र ताम्रपत्र हस्तान्तरण गरे । घिमिरेलाई एक लाख र बाँस्तोलालाई ५० हजार रुपैयाँसहितको सम्मान दिइयो । बिरामी बाँस्तोलाकी पत्नी कुसुमले सम्मान थापिन् । आफूहरूको सम्मान स्विकारिदिएकोमा ट्रस्टका उपाध्यक्ष्य बलदेव शर्मा मजगैयाले धन्यवाद दिए ।

समारोहमा साहित्यकार घिमिरेबारे प्रा. अभि सुवेदी र नेता बाँस्तोलाबारे पत्रकार हरिहर विरहीले व्यक्तित्व चित्रण गरेका थिए । प्रा. सुवेदीले साहित्यकार घिमिरेलाई कोरा साहित्यिक साधकका रूपमा परिचित गराए । पञ्चायतकालमा लेखक वर्गलाई प्लेटफर्म निर्माण गरिदिएर अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अडिग रहेको जस उनले घिमिरेलाई दिए ।

वक्ताद्वयले सम्मानित व्यक्तिहरूको बीपीसँगको सम्बन्ध पनि उजागर गरिदिए । बीपीका ज्वाइँसमेत रहेका बाँस्तोला बनारस छँदा नै उनीसँग निकट रहेको पत्रकार विरहीले अवगत गराए । ‘बीपीकी भान्जीसँग उहाँले विवाह गर्नुभएको थियो,’ विरहीले भने, ‘तर, पहिली श्रीमतीको असामयिक निधन भयो । उहाँ राजनीतिकर्मी मात्र नभएर असल साहित्यकार पनि हुनुहुन्थ्यो । राजनीतिले त्यो प्रतिभा ओझेल पारिदियो ।’

राजा महेन्द्रले बहुदलीय व्यवस्था खारेज गरेर बीपीका सिद्धान्त र विचार दबाउन खोज्दा साहित्यकार घिमिरेहरूले प्रजातन्त्रका पक्षमा अभिव्यक्ति दिएको प्रा. सुवेदीले बताए । ‘उहाँले त्यो बेला अभिव्यक्तिको माध्यम रचना गरिदिनुभयो,’ उनले भने, ‘द्वन्द्वात्मक समयमा एउटा साहित्यिक वर्ग प्लेटफर्मको खोजीमा थियो जुन उहाँले निर्माण गरिदिनुभयो ।’

ट्रस्टले बीपीका कृतिबाट प्राप्त रोयल्टी रकममा थपथाप गरेर विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आएको कार्यक्रममा बताइयो । गत वर्ष प्रा. अभि सुवेदी र तीर्थराज ज्ञवालीलाई क्रमश: साहित्य र सेनानी सम्मान प्रदान गरिएको थियो ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?