कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

स्रष्टा र सिर्जनामा अनिता

काठमाडौँ — सांस्कृतिक संस्थान (नाचघर) ले हरेक महिनाको अन्तिम बिहीबार गर्दै आएको ‘स्रष्टा र सिर्जना’ शृंखलामा यसपटक कवि अनिता लामा प्रस्तुत भइन् ।

स्रष्टा र सिर्जनामा अनिता

बिहीबार संस्थानको मिनी हलमा आयोजित एकल वाचन शृंखलामा उनले समसामयिक सन्दर्भका एक दर्जन कविता सुनाइन् । ‘अनुराग’, ‘अर्पण’ र ‘आतुङ’ गरी तीनवटा कविता कृति ल्याइसकेकी उनले ‘सलाम आदरणीय आमाबुबा’ शीर्षकको कविताबाट वाचन थालिन् ।

सन्तान र आमा–बुबाबीचको सम्बन्धको सौन्दर्य बखान गरिएको सिर्जनापछि उनले वैदेशिक रोजगारीको तीतो यथार्थ समेटिएको ‘स्वस्थानी साङ्गे’, भिडियो कल’, तराईको गरिबी समेटिएको ‘मुसुरिया’, राष्ट्रियता र सीमा सन्दर्भको ‘आऊ बरु लास बनौं’ कविता सुनाइन् ।

आफ्नो पेसागत धर्म छाडेर राजनीति गर्ने चिकित्सकहरूमाथि उनले ‘डाक्टरहरू’ कवितामार्फत व्यंग्य कसिन् भने ‘विद्यार्थी’ शीर्षकको कवितामा वर्ग विभेदको कुरा उठाइन् । त्यसपछि उनले ‘संयुक्तता’, ‘संकल्प’, ‘बिर्खबहादुर माझी’, जस्ता कविता सुनाइन् ।

नारीवादी चेतना समेटिएको ‘पाठेघर’ कविता वाचनमा उनलाई रंगकर्मी रोजिता बुद्धाचार्यले सघाइन् भने केही छोटा कविताहरू कवि फूलमान वलले सुनाए । कविता सुनिसकेपछि साहित्यकार एवं पूर्वमन्त्री प्रदीप नेपालले ‘कविहरूले अब संघीयता र नयाँ नेपालको कविता लेख्नुपर्ने’ सुझाए ।

वाचित कवितामाथि समीक्षा गर्दै युवा समालोचक रमेश शुभेच्छुकले अनिताको कवितामा निम्नवर्गीय पक्षधरतासँगै नारीवादी चेतना, राष्ट्रप्रेमजस्ता पक्षहरू सशक्त रहेको दाबी गरे ।

नाचघरले सुरु गरेको शृंखलाको यो छैंठौं संस्करण हो । साहित्य, संगीत, रंगमञ्च लगायतको विधा समेटेर नाचघरले विभिन्न मासिक प्रस्तुति शृंखलाहरू सञ्चालन गर्दै आएको महाप्रबन्धक राजेश थापाले जनाए ।

अनिताको व्यक्तित्व र कृतित्वबारे भने गायिका एवं पूर्व सभासद मधु गुरुङ, कवि वासुदेव अधिकारी, साहित्यकार राम विनय लगायतले चर्चा गरे । गुरुङले विभिन्न सामाजिक अभियानहरू सँगसँगै साहित्यिक सिर्जनामा पनि अनिताले छलाङ मार्दै गएको बताइन् ।

प्रकाशित : भाद्र २२, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?