प्रज्ञा प्रतिष्ठानको चार वर्ष

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा १ सय ६ वटा पुस्तक प्रकाशन गरेको छ भने १ सय ५३ वटा अनुसन्धानहरू सम्पन्न गरेको छ ।

प्रज्ञा प्रतिष्ठानको चार वर्ष

प्रतिष्ठानले सोमबार राजधानीमा चारवर्षे कार्यप्रगति विवरण सार्वजनिक गरेको हो । प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद् ४ वर्षका लागि २०७१ भदौ २० गते गठन भएको थियो । मंगलबार कार्यकाल सकिँदै छ ।

प्रतिष्ठान कुलपति गंगाप्रसाद उप्रेतीले चार वर्षमा नयाँ प्रशासनिक र पुस्तकालय भवन बनेको, अत्याधुनिक प्रेस सञ्चालनमा आएको, पुरानो प्रेक्षयालयको जीर्णोद्धार हुँदै गरेको लगायतका प्रगति विवरण सुनाए ।

हालको पदाधिकारीहरूले प्रयोग गर्ने कार्यकक्षलाई प्रतिष्ठित साहित्यकारहरूका नामबाट संग्रहालय सञ्चालन गर्ने लक्ष्य रहेकोमा त्यो भने पूरा गर्न नसकेको उप्रेतीले बताए । उनले भने, ‘प्रतिष्ठानमा रहेका विभिन्न बाजा, भेषभूषा र ध्वनि चक्काहरूसहितको संग्रहालय व्यवस्थित गर्ने काम भने आरम्भ गरिएको छ ।’ सरकारबाट प्राप्त बजेट र प्रतिष्ठानको हलभाडा बाट प्राप्त रकमले कर्मचारीको तलब वितरण र मर्मतको काम गर्दागर्दै खर्च हुने भएकोले प्राज्ञिक क्षेत्रमा काम सधैं बजेट अभाव हुने पनि कुलपतिले दाबी गरे ।

प्रतिष्ठानका सदस्यसचिव जीवेन्द्रदेव गिरीले प्रतिष्ठानले आफ्नो कार्यकालमा मैथिली, भोजपुरी, तामाङ शब्दकोश, प्रज्ञा संस्कृति कोश, संक्षिप्त साहित्यिक कोश, अनुवादक कोश, नारी साहित्यकारहरू, नेपाली डायस्पोराका कविता, नेपाल प्रज्ञा प्रतिष्ठानको गौरवमय साठी वर्ष, नेपाली बृहत् शब्दकोशका नयाँ संस्करणहरू, नेपाली नारी साहित्यकार परिचय कोशलगायत विभिन्न भाषासँग सम्बन्धित विभिन्न विधाका पुस्तक प्रकाशन गरेको र ३९ वटा कृतिहरू छपाइका लागि छापाखाना पठाइएको जनाए ।

प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रसँग सम्बन्धित अनुसन्धान परियोजनाअन्तर्गत विभिन्न विद्वान्हरूबाट १ सय ८३ वटा अध्ययन अनुसन्धान र राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा २ सय २७ वटा गोष्ठी सम्मेलन र कार्यशालाहरू गरेको उनले जनाए । ‘करिब २ दर्जन अन्य कृतिहरू सम्पादन गरी प्रकाशनमा पठाइने तयारीमा छन्,’ उनले भने ।

पुस्तकहरूका अतिरिक्त ‘कविता’, समकालीन साहित्य, सयपत्री, प्रज्ञा (अनुसन्धानमूलक पत्रिका), ‘रूपान्तरण’ (त्रिभाषिक अनुवाद पत्रिका), ‘जर्नल अफ लिटरेचर, आर्ट एन्ड कल्चर’ (अंग्रेजी जर्नल), ‘थाय्भु’ (नेपाल भाषाको पत्रिका), ‘आङन’ (मैथिली भाषाको पत्रिका), ‘फक्ताङफुङ,’ (लिम्बू भाषाको पत्रिका), ‘महुआ’, (भोजपुरी भाषाको पत्रिका) लगायत नियमित रूपमा प्रकाशित भएका छन् ।

प्रतिष्ठानले चार वर्षमा ८४ जना लेखक कलाकारलाई २४ लाख ६ हजार रुपैयाँ उपचार सहयोगको रूपमा र २ सय ७ वटा साहित्यिक पत्रिकालाई २२ लाख २ हजार रुपैयाँ आर्थिक सहयोग गरेको पनि कुलपति उप्रेतीले जनाए । त्यस्तै चार वर्षमा २२ जना साहित्यकारलाई प्रज्ञा पुरस्कार, ८ जनालाई हीरक जयन्ती विशिष्ट प्रतिभा पुरस्कार र चार जनालाई आजीवन सदस्यता प्रदान गरेको पनि कार्यक्रममा बताइयो ।

झन्डै २० करोडको लागतमा प्रतिष्ठानको मूल भवनको रेट्रोफिटिङ, ध्वनि, श्रव्य विद्युत्, फोहोरासहितको पोखरी, शौचालय, लिफ्ट लगायतका काम पनि सम्पन्न हुँदै छन् ।

त्यस्तै १० करोड ६९ लाखको लागतमा अत्याधुनिक छपाइ मेसिनसहित, कटिङ, बाइन्डिङ, फोल्डिङ, स्टिचिङ, सिटिपी, कलर प्रिन्ट प्रोडक्सन, ह्वाइट एन्ड ब्ल्याक प्रिन्ट प्रोडक्सन, लेमिनेसन मेसिन र छापाखाना जडान भई सञ्चालनमा आएको पनि पत्रकार सम्मेलनमा जनाइयो ।

यो कार्यकालमा वांग्ला एकेडेमी, पाकिस्तान एकेडेमी अफ लेटर्ससँग प्राज्ञिक आदानप्रदानको सम्झौता भएको र चाइना फेडरेसन अफ लिटरेरी एन्ड आर्ट सर्कल्स र गैरआवासीय नेपाली संघसँग सम्झौता नवीकरण गएको कुलपति उप्रेतीले जनाए ।

नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन, अनुसन्धान, संरक्षण, सम्वद्र्धन र विकासका लागि विसं २०१४ मा प्रतिष्ठान स्थापना भएको थियो । सोमबारबाटै प्रतिष्ठानको पहिलो तल्लामा पुस्तक प्रदर्शनी पनि सुरु भएको छ । प्रदर्शनीमा भर्खरै छापिएका प्रज्ञाका अनुसन्धानमुलक कृतिहरूसँगै विभिन्न विधाका पुस्तक राखिएका छन् ।

प्रकाशित : भाद्र १९, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?