२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सम्मान नपाए विदेश जानू !

‘विदेशीहरू हाम्रा कामलाई चासोका साथ हेर्ने गर्छन् र त्यसको राम्रै पारिश्रमिक पनि दिन्छन् । हाम्रोमा गफ मात्रै ठूलो !’
मधु शाही

काठमाडौँ — धेरैजसो नेता भन्ने गर्छन्– ‘कलाकार देशका गहना हुन् ।’ यो कुराले मिथिला चित्रकार अजित साहलाई खासै फरक पर्दैन । नेपाली सन्दर्भमा गहना लगाउने र फुकाउनेमै सीमित रहेको उनको बुझाइ छ । जब उनी मुलुक छोडेर समुद्रपारिका देशहरू पुग्छन् तब उनको काम साँच्चिकै अमूल्य हुन्छ ।

सम्मान नपाए विदेश जानू !

‘स्वदेशमा भन्दा बढी विदेशमै सम्मान पाएको छु,’ उनले सुनाए, ‘विदेशीहरू चासोका साथ कामलाई हेर्ने गर्छन् र त्यसको राम्रै पारिश्रमिक पनि दिन्छन् । हाम्रोमा गफ मात्रै ठूलो ।’
त्यही भएर अजित स्वदेशमा भन्दा विदेशतिरै बढी डुलिरहेका हुन्छन् । कलाको उच्च सम्मान पाउनुको साथै प्रशस्त प्रतिक्रिया आउने हुँदा आफ्नो काम सच्याउने अवसर पनि विदेश कलायात्राले दिने गरेको उनको अनुभव छ ।

अजित कला प्रदर्शनीका क्रममा जापान चारपटक गइसकेका छन् भने अमेरिका, बंगलादेश, चीन, थाइल्यान्ड, सिंगापुर, भारत लगायत मुलुकमा उनले आफ्ना सिर्जना पुर्‍याइसकेका छन् । केही अघि मात्रै सिंगापुर गएर फर्किएका अजितले अमेरिकामा बिताएको कलायात्रा विशेष रहेको बताए । दुई पटक अमेरिका पुगेका उनले त्यहाँ विभिन्न स्कुलमा ‘मिथिला कला वर्कसप’ नै गर्न भ्याए । ‘वे अफ लाइफ’ थिममा उनले एकल चित्रकला प्रदर्शनी पनि गरे । उनका अनुसार विदेशी कला पाखरीले खासगरी मिथिला कलाको मौलिकताको प्रशंसा गरे ।


‘यस्तो मौलिकतालाई जारी नै राख्नु भन्दै प्रेरणा दिनेहरू थुप्रै भेट्टाएँ,’ उनले भने, ‘यसपछि उनीहरूले आफ्नो छोराछोरीलाई सिक्न पनि पठाए ।’


अमेरिकाको प्रदर्शनीमा झन्डै ९ लाख रुपैयाँको कला बिक्री गरेको उनले सुनाए । चित्र बेच्दै र वर्कसप गर्दै ११ महिना अमेरिकामा बसेर उनी केही अघि मात्रै मुलुक फिरेका हुन् ।


चित्रकार एरिना ताम्राकार तीन साताअघि १० जना नेपाली चित्रकारको टोलीसँगै थाइल्यान्ड पुगिन् । इआर्टस् नेपाल डटकमले चाँजोपाँजो मिलाएको यो कला भ्रमणमा उमा शंकर साह, जीवन राजोपाध्याय, सागर मानन्धर, मीना कायस्थ, प्रमिला बज्राचार्य, सरिता डंगोल, प्रति श्रेष्ठ, मुकेश श्रेष्ठ, समुद्रमान सिंह श्रेष्ठ, संगी श्रेष्ठ लगायत थिए । यस्तो विदेश भ्रमणमा नेपाली कलाको प्रवद्र्धन गर्न सजिलो हुने एरिनाले बताइन् । प्राय: विदेशमा कलाकृति लिएर निरन्तर गइरहने चित्रकारमध्ये पर्छिन् एरिना । यस्तामा अन्तर देशीय कला अनुभवको आदानप्रदान हुने मात्रै नभई कलाकर्मको बजारिया दायरा नै फराकिलो हुने उनको अनुभव छ । पछिल्लो समय थाइल्यान्डमा जाँदा त्यहाँको सरकारले नै निम्तो गरेको एरिनाले बताइन् ।


‘हामीकहाँ सरकारको पक्षबाट कला र कलाकारको प्रवद्र्धन गर्ने संस्कार विकास भएको छैन,’ उनले भनिन्, ‘तर, विभिन्न कलाकारका संस्था र व्यक्तिगत रूपमा भने अन्तर्राष्ट्रिय स्तरमा कला पुर्‍याउने र भित्र्याउने चलन बढदै छ ।’ विदेशमा कला प्रदर्शन गर्न जाँदा कलाकारको सोच फराकिलो हँुदै जाने पनि उनको बुझाइ छ ।


अर्का चित्रकार एनबी गुरुङ यसै साता युरोपका पाँच देश घुमेर आए । २५ दिने विदेश भ्रमणमा रहँदा उनले मुख्य दुइटा काम गरेको बताए । एउटा ‘वाटर कलर’ मा चित्र बनाउने तरिका विदेशीलाई सिकाए, भने अर्को त्यहाँको कला र आफ्नो कलाकारितामा देखिने भिन्नता छुट्टयाउने अवसर पाए । उनका अनुसार युरोपेली कला प्राविधिक हिसाबले धेरै माथि छ । तर, नेपाली कलामा मौलिकता जीवित रहेको देख्दा भने एनबी गौरव अनुभूति गर्छन् ।


‘नेपाली कलाकार भन्नेबित्तिकै विदेशीले हिमाल र बुद्धको आँखा खोज्न थाल्छन्,’ उनले भने, ‘पोस्ट मोर्डन आर्टिस्टको भीडमा हाम्रो कला साँच्चिकै युनिक देखिँदो रहेछ ।’
उनी चित्र लिएर चारपटक चीन गइसकेका छन् । अब पाँचौं भ्रमणको तयारीमा छन् । उनका अनुसार चिनियाँ कलाकारले नेपाली कलामा पछिल्लो समय विशेष चासो राख्दै आएका छन् । ‘हेर्ने मात्रै होइन, चिनियाँहरू राम्रै दाममा चित्र किन्ने पनि गर्छन्,’ उनले भने, ‘आर्ट कलेक्सनमा उनीहरू निकै अगाडि छन् ।’

विदेशीहरू कस्ता चित्र मन पराउँछन् ?
बंगलादेश, चीन, थाइल्यान्ड, भारतलगायत मुुलुकमा भ्रमण गरेकी चित्रकार अनिता भट्टराई आफ्नै कामको स्वमूल्यांकन गराउन विदेश जानुपर्ने सल्लाह दिन्छिन् । उनी हालसालै भारतबाट कला प्रदर्शन गरेर फर्किएकी छन् । लगत्तै बंगलादेश, चीन र इटाली जाँदै छिन् । ‘वाटर कलर’ माध्यमका कला पस्किने क्रममा उनी विदेश यात्रामा लागेकी हुन् । नेपाली कलाकारसँग विदेशी कलाकारले आधुनिक ढाँचाभन्दा मौलिकता नै खोज्ने गरेको उनको पनि ठम्माइ छ । ‘जस्तो चित्र बनाए पनि तिमीहरूको हिमाल कस्तो हुन्छ भनेर जिज्ञासु हुन्छन् विदेशी,’ उनले भनिन्, ‘त्यस बेला हिमाल र बुद्ध नबनाई हुँदैन ।’ त्यस्तै नेपालीले पोत्ने रंगमा पनि विदेशीले सांस्कृतिकपन झल्केको महसुस गर्ने उनले बताइन् ।
चित्रकार नरबहादुर विके र प्रमिला परियार यही महिना बनारस घुमफिर गरेर आए । त्यहाँ जानुको पछाडि बनारसका कलाकारसँग सम्बन्ध विस्तार गर्नु र आफ्नो कलाकारिता प्रदर्शन गर्नु थियो । जर्मन, कोरिया, जापान, बंगलादेश, अस्ट्रिया, युरोपलगायत १२ देशमा उनीहरूका सिर्जना प्रदर्शन भइसकेको छ । घुम्ने क्रममा नरबहादुर प्राय: उक्त देशको कलाकर्म कस्तो छ ? र कस्तो शैली र प्रविधि अपनाउँछन् ? भन्नेतिर ध्यान दिन्छन् । प्राय: बाहिरी मुलुकका कलामा भावनात्मक पक्ष बढी हाबी हुने बताउँदै नरबहादुरले नेपाली कलाकारको चित्रमा विषयवस्तु बढी मुखरित हुने दाबी गरे । ‘यही पक्ष विदेशीलाई मन पर्छ,’ उनले भने ।

प्रकाशित : भाद्र १५, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?