३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चिनियाँ लेखकहरु नेपालमा 

काठमाडौँ — चिनियाँ लेखकहरुको प्रतिनिधिमण्डल चारदिने साहित्यिक भ्रमणका क्रममा काठमाडौंमा व्यस्त छ । नेपाल प्रज्ञा प्रतिष्ठानको निमन्त्रणामा आइतबार आइपुगेको टोलीले उपत्यकाका विभिन्न सम्पदा घुम्ने र अध्ययन गरिरहेको प्रतिष्ठानले जनाएको छ । 

चिनियाँ लेखकहरु नेपालमा 

चिनियाँ लेखक संघका उपाध्यक्ष तथा लु सुन साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष कवि जिडी माजियाको नेतृत्वमा आएको ६ सदस्यीय भ्रमण दलमा सियाओमिङ, चाङ छिङहुवा, ली याङछिङ, चाङ रुइफेङ र हु वेई छन् । प्रतिष्ठानले चिनियाँ साहित्यकारहरुको स्वागतमा आइतबार साँझ होटल यल्लो प्यागोडामा विशेष रात्रिभोज दिएको थियो । उक्त अवसरमा चिनियाँ पाहुनाहरुको स्वागत गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सगरमाथा र बुद्धको देशमा मित्रराष्ट्र चीनका लेखक पाहुनाहरुलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।


उनले भ्रमणले दुई मित्रराष्ट्रबीच आपसी हितका साथै साहित्यिक एवं सांस्कृतिक सम्बन्ध बलियो र दीर्घकालीन बन्ने विश्वास व्यक्त गरे । उनले पाँच वर्षअघि सम्झौता भएबमोजिम नेपाली साहित्य चिनियाँ भाषामा र चिनियाँ साहित्य नेपाली भाषामा अनुवाद गर्ने काम भइरहेको पनि जनाए । उप्रेतीले आफ्नो पहलमा चीन तथा दक्षिण एसिया साहित्यसभा गठन भई पहिलो सभा चीनमा सम्पन्न भएको उल्लेख गर्दै दोस्रो सम्मेलन नेपालमा गर्न प्रज्ञा प्रतिष्ठान तयार रहेको बताए ।


चिनियाँ प्रतिनिधिमण्डलका संयोजक जिडी माजियाले चीन र नेपालका साहित्यिक एवं सांस्कृतिक विकासका लागि काम थप प्रभावकारी बनाउन भ्रमणले सघाउने बताए ।


प्रतिष्ठानका सदस्य सचिव प्रा. जीवेन्द्रदेव गिरीका अनुसार चिनियाँ लेखक टोलीले भक्तपुर, ललितपुर र काठमाडौंका ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक स्थलहरुको अवलोकन गर्ने क्रममा जारी छ ।


प्रकाशित : भाद्र ५, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?