विमान अपहरण बारे दुर्गा सुवेदीको आत्मकथा, ‘विगत जीवित पार्न लेखें’

काठमाडौँ — विसं २०३० मा तत्कालीन शाही नेपाल वायुसेवा निगमको विमान अपहरण भयो, यसको मुख्य योजनाकार थिए दुर्गा सुवेदी । उद्देश्य थियो, मुलुकमा प्रजातन्त्र ल्याउने । बीपी कोइरालाको निर्देशनमा भएको यो विमान अपहरणको नेपाली राजनीतिमा पछिसम्म चर्चा भइरहने छ ।

विमान अपहरण बारे दुर्गा सुवेदीको आत्मकथा, ‘विगत जीवित पार्न लेखें’

यति बेला भने उक्त अपहरणको नालीबेली समेटेर तिनै सुवेदी प्रजातान्त्रिक योद्धा दुर्गा सुवेदीले संस्मरणात्मक पुस्तक ल्याएका छन्– ‘विमान विद्रोह’ । राजधानीमा शनिबार पुस्तकमाथि परिचर्चा गरियो ।

पञ्चायती शासनविरुद्ध नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकको भारु ३० लाख लुट्न सुवेदीले विमान अपहरण गरेका थिए । यसबापत् सुवेदीले एक दशक प्रवास र दुुई वर्ष भारतीय जेलमा जीवन बिताउनुपर्‍यो । सुवेदीले आफ्नो भोगाइ र अनुभवलाई जीवित राख्न पुस्तक लेखेको बताए । ‘विगत जीवित पार्न पुस्तक लेखें,’ उनले भने । पूर्व प्रधानमन्त्री बाबुुराम भट्टराईले भारतमा आफू अध्ययन गर्न जाँदा सुवेदीलाई भेटेको प्रसंग सम्झे । उनले सुवेदीले त्यतिबेला अंगालेको बाटो अनुकरणीय र राजनीतिक हिसाबले समय सापेक्ष रहेको दाबी गरे । ‘राजनीतिक आन्दोलनको बेला के ठीक के बेठिक भन्ने कुरा गौण बन्न जान्छ,’ उनले भने, ‘विमान अपहरण त्यति बेलाको ऐतिहासिक आवश्यकता थियो ।’

उनले सुवेदी जस्ताको योगदानले कुनै बेला कांग्रेस क्रान्तिकारी पार्टी लागेको भए पनि बीपी नेपाल आएर राजासँग मिलेपछि भने धारणा परिवर्तन भएको बताए । ‘त्यति बेला बीपी किन राजासँग मिले म छक्क पर्छु,’ उनले भने, ‘सुवेदीको किताबमा पनि यसको जवाफ भेटिनँ ।’

सांसद गगन थापाले नेपाली कांग्रेसको इतिहासको आलोचनात्मक समीक्षा गर्न जरुरी रहेको बताउँदै दुर्गाको पुस्तकले तत्कालीन समाज, राजनीति र कांग्रेसको विगत ताजा बनाएको दाबी गरे । थापाले अपहरणपछि भागेर भारत जानुपर्दाको समय, जेल जीवन, भारतकै चिप्को आन्दोलन जस्ता ऐतिहासिक सन्दर्भसमेत पुस्तकमा रहेको बताए । सुवेदीले कुनै पनि डर या लालसाबिना इमानदार भएर कृति लेखेको उनले दाबी गरे ।

सुवेदीका पत्नी एवं पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुस्तक छाप्नुअघिका किस्सा सुनाइन् । उनका अनुसार धेरै पहिले नै सुवेदीले पुुस्तक तयार पारेका थिए । बाथरूममा लडेर घाइते भएपछि सुवेदी केही समय थलिए । उपचारपछि पुस्तक निकाल्न आफूले नै प्रेरित गरेको कार्कीले बताइन् । ‘यो पुस्तकले उहाँलाई पुनर्जीवन दिएको छ,’ उनले भनिन् । पुस्तक किताब पब्लिसर्सले छापेको हो ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?