रहेनन् कवि हमाल

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ कवि एवं गीतकार हेम हमालको ७७ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । बिहीबार राति पौने एक बजे मध्यबानेश्वरस्थित घरबाट केएसी अस्पताल लाँदै गर्दा उनको निधन भएको छिमेकी एवं राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले जनाए ।

रहेनन् कवि हमाल

१६ वर्ष अघि किड्नी प्रत्यारोपण गरेका हमाल पछिल्लो समय घरमै आराम गरिरहेका थिए ।

सन् १९४१ मा काठमाडौं बानेश्वरमा जन्मिएका हमाल बीसको दशकदेखि नै साहित्यमा सक्रिय थिए । पोखरेलका अनुसार पञ्चायतको समयमा उनी व्यवस्थाविरोधी साहित्यिक गतिविधिमा समेत सामेल थिए । ‘२०४६ को जनआन्दोलनमा पनि उहाँ निकै सक्रिय हुनुहुन्थ्यो,’ आयुक्त पोखरेलले भने । हमालका ‘पहरामा बास बसी झरनाको पानी पिउँला....’ लगायत आधा दर्जन गीत बच्चु कैलाशले गाएका छन् ।

हिन्दी भाषामा समेत विभिन्न रचना अनुदित हमालको पहिलो कृति ‘यो सहर छाड्नुभन्दा पहिले’ (२०२९) हो । यसबाहेक उनका ‘गाउँ गाउँजस्तो छैन सहर सहरजस्तो छैन’ (कविता संग्रह २०३९) सँगै ‘मार्केटिङ फयामिली प्लानिङ इन नेपाल’, ‘पपुलेसन एजुकेसन फर नेपाल’ लगायत अन्य विधाका पुस्तक पनि प्रकाशित छन् ।

रत्नश्री स्वर्ण पदक, शुभ राज्यभिषेक पदकलगायतका सम्मान तथा पुरस्कारहरू पाएका उनले संयुक्त राष्ट्रसंघअन्तर्गत लामो समय युगान्डामा समेत बिताए । हमालका श्रीमती, एक छोरा र तीन छोरी छन् । शुक्रबार हमालको पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।

प्रकाशित : श्रावण २७, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?