रिडिङ रुममा तन्नेरी

‘रिडिङ रुम भनेको रिडिङ रुम नै हो । यहाँ पढ्दा घरमा जस्तो अल्छी र निद्रा लाग्दैन ।’
मधु शाही

काठमाडौँ — पढ्न बस्यो आँखा झपक्कै हुन्छन् । शंखमूलकी १८ वर्षीया रक्षा सुवेदीका लागि मानाैं किताबका पाना स्लिपिङ टयाबलेट हुन् । तर, सुतेर पनि त भएन । इन्जिनियरिङमा स्नातकको इन्ट्रान्स तयारीमा रहेकी उनले घरमा मन लगाएर पढ्ने निकै कोसिस गरिन् ।

रिडिङ रुममा तन्नेरी

कहिले इन्टरनेट चलाउने ध्याउन्न त कसले टेलिभिजनतिर मन । भेट्न आउने साथीभाइ पनि उत्तिकै ।
‘अनि पढ्ने वातावरण खोज्दै एकजना साथीसँग आइपुगें,’ थापाथलीस्थित मार्टिन चौतारीमा भेटिएकी उनले सुनाइन्, ‘यहाँ लाइब्रेरी मात्रै हैन, रिडिङ रुम पनि छ । फेसबुक, ट्वीटर र युट्युब निषेध छन् ।’

तीन महिनादेखि रक्षा मार्टिन चौतारी धाइरहेकी छन् । किताबसँग रमाउन अब उनलाई कुनै छेकबार छैन । बिहान खाना खाएपछि १० बजे भित्रै चौतारीमा आइपुग्छिन् । दिनभर कोर्ससँग सम्बन्धित किताब अध्ययन गरेपछि साँझ घर फर्किन्छिन् । ‘यहाँ पढ्दा घरमा जस्तो अल्छी र निद्रा पनि लाग्दैन,’ उनले भनिन्, ‘रिडिङ रुम भनेको रिडिङ रुम नै हो ।’

उनकै साथी सुदर्शन काफ्ले पनि चौतारीकै लाइब्रेरी धाउँदै आएका छन् । बुद्धनगर बस्ने १९ वर्षे सुुदर्शन ७ महिनादेखि पुस्तकालय धाउन थालेका हुन् । मार्टिन चौतारी आउनुभन्दा पहिले उनको मुख्य जक्सन थियो, सुनधारास्थित नेपाल–भारत पुस्तकालय । गाडीमा दैनिक आउजाउ गर्दा समय र भाडा खर्च भएपछि उनी नजिकै कुनै लाइब्रेरीको खोजीमा थिए ।

यस्तैमा एक साथीले मार्टिन चौतारीबारे जानकारी दिए । ‘अहिले म बुद्धनगरबाट हिँडेरै आउँछुु,’ उनले भने, ‘शान्त वातावरणमा पढ्दा छिट्टै विषयवस्तुु बुुझ्न सजिलो हुँदो रहेछ ।’ सुदर्शन पनि इन्जिनियरिङ प्रिपरेसनमै छन् । पुस्तकालयभित्र अनुशासनमा बस्नुपर्ने भएकाले पढ्नका लागि भित्रैदेखि अभिप्रेरित हुने उनले सुनाए ।


मार्टिन चौतारीको पुस्तकालयमै भेटिएका सञ्चय शेरचनको अनुभव झन् लामो छ । सामाजिक अनुसन्धानकर्ता सञ्चयको पुुस्तकालय यात्राले दुई दशक छोइसक्यो । यस क्रममा पुुल्चोकस्थित हरिहर भवन पुस्तकालय, सुनधारास्थित नेपाल–भारत पुस्तकालय, कान्तिपथस्थित केशर पुस्तकालय र कीर्तिपुरस्थित त्रिवि पुस्तकालयमा उनले थुप्रै दिन बिताएका छन् । अचेल उनी डल्लुुबाट बिहानै खाना खाएर पुुस्तकालय यात्रा सुरु गर्छन् । दिउँसो हमेसा मार्टिन चौतारीमा हुन्छन् । ‘अहिले त लाइब्रेरी लतजस्तै पो भएको छ,’ उनले भने, ‘दिनभर पुस्तक पढे पनि धित मेटिँदैन ।’

मार्टिन चौतारीकी लाइब्रेरियन रेनुुका गुरागार्इंले पछिल्लो समय पुस्तक पढ्न आउनेहरूको संख्या बढ्दै गएको बताइन् । विशेषत: कुनै सामाजिक, राजनीतिक एवं मिडियासम्बन्धी अनुसन्धानमूलक सामग्री खोज्नुपर्‍यो भने चौतारी त्यसको केन्द्रबिन्दु नै हो । चौतारीले आफैंले पनि विभिन्न अनुसन्धानमुलक पुस्तकहरू निकाल्दै आएको छ । गुरागाईंका अनुसार, चौतारीले अंग्रेजीका ३५ र नेपालीका ६३ पुुस्तक छापिसकेको छ । यीमध्ये धेरैजसो इतिहास, समाज र मिडिया सम्बद्ध छन् । ‘मिडिया अनुसन्धान गर्न आउनेलाई प्रशस्त सामग्री उपलब्ध हुने’ उनले बताइन् ।

पाठकलाई चाहिने आवश्यक सामग्री सकेसम्म उपलब्ध गराउनतिरै आफूहरूको ध्यान हुने मार्टिन चौतारीका पठन कक्ष हेर्ने दलबहादुुर श्रेष्ठले बताए । उनका अनुुसार २०४६ देखि अहिलेसम्मका पत्रपत्रिका यहाँ सुरक्षित राखिएका छन् । जुनसुकै कालखण्डका समाचार र मिडिया सामग्री बुुझ्न चाहनेलाई पत्रपत्रिका सबैभन्दा उपयुुक्त हुने उनले बताए । ‘कतिपय पत्रकार त आफ्नै पुुराना लेख रचना खोज्न आउँछन्,’ उनले भने, ‘कतिपय चाहिँ लाइब्रेरीमा आफ्नै पाठयपुुस्तक लिएर आउने पनि छन् ।’ घरमा पढ्ने अवस्था नभएपछि किताबसहित पुस्तकालय आउनेलाई रिडिङमा स्वागत गरिरहेको उनले बताए ।

पुस्तकालयलाई संस्कृतिकै रूपमा विकास गरिरहेका संघसंस्थाहरू पनि छन् । यीमध्ये रिड नेपालले सामुदायिक पुस्तकालयको परम्परा नै बसालेको छ । देशभर हालसम्म ६६ वटा सामुदायिक पुस्तकालय सञ्चालनमा ल्याइसकेको रिड नेपालका कोषाध्यक्ष सुशील मैनालीले बताए । ‘हामीकहाँ पढ्ने पाठक कम छैनन्,’ उनले भने, ‘बरु पठनयुक्त सामग्री कसरी उपलब्ध गराउनेबारे चाहिँ सोच्नुपर्ने समय आएको छ ।’

शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले पठन संस्कृति विकास गराउन सरकारले पनि पुस्तकालय व्यवस्थापनमा तीव्रतर काम गर्दै आएको बताए ।

प्रकाशित : श्रावण २४, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?