‘अस्वीकृत विचारक’ को सम्झना

काठमाडौँ — ‘अस्वीकृत विचार साहित्य’ का एक प्रवर्तक डा. कविताराम श्रेष्ठको ४५ औं स्मृति दिवसमा मंगलबार श्रद्धाञ्जलीसभा गरिएको छ । शुभचिन्तकहरूले गरेको कार्यक्रममा उनको साहित्यिक, सांस्कृतिक एवं सामाजिक योगदानबारे चर्चा गरियो । 

‘अस्वीकृत विचारक’ को सम्झना

ओखलढुंगामा २००४ माघ ११ मा जन्मिएका श्रेष्ठ ७ वर्षदेखि बेलायतमा बस्दै आएका थिए । क्यान्सर लागेर लन्डनमा उपचाररत उनको मंसिर ३ मा उहीं निधन भएको थियो । उनका २८ वटा साहित्यिक कृति प्रकाशित छन् । पाँचवटा सहलेखन गरेका छन् । ओखलढुंगाबाट प्रकाशित हुने ‘जुनकिरी’ हस्तलिखित म्यागाजिनमा विसं २०१७ मा पहिलो निबन्ध ‘वनमारा’ निकालेका उनको अन्तिम पुस्तक लन्डनबाट ‘लाइट अफ हिमालय’ शीर्षकमा छापिएको थियो ।

कविताराम सहितको ‘अस्वीकृत विचार साहित्य’ ले जर्जर समाजविरुद्ध कडा आवाज प्रस्तुत गर्दै आएको छ । ‘साहित्यिक विकासका लागि बुट पालिस अभियान’ पनि उनकै टोलीले चलाएको थियो । उनी स्कटल्यान्डको अबर्डिन मेडिकल स्कुलका भिजिटिङ प्रोफेसर थिए । उनकै संयोजकत्वमा ओखलढुंगा सदरमुकाममा युगकवि सिद्धिचरण श्रेष्ठको सालिक निर्माण गरिएको थियो । र, सिद्धिचरणको ‘मेरो प्यारो ओखलढुंगा’ नामक कवितालाई सार्थक तुल्याउन कवितारामले २०६७ मा त्यही नामको पुस्तक प्रकाशन गरेका थिए । श्रद्धाञ्जली कार्यक्रममा पूर्वसांसद रामहरि खतिवडा, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, साहित्यकार प्रेमनारायण प्रेमी, कवि शैलेन्द्र साकार, पत्रकार चेतनाथ धमला, कोमल राजभण्डारी, रामविनय श्रेष्ठ, भीमप्रसाद श्रेष्ठ, विन्दिया प्रधान, धनकुमार श्रेष्ठलगायतले श्रेष्ठका योगदानबारे बोलेका थिए ।

प्रकाशित : पुस २०, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?