१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बान्तावा कविता प्रतियोगिता सम्पन्न

दमक — तेह्रौं बान्तावा कविता प्रतियोगिता शनिबार मोरङको उर्लाबारीमा सम्पन्न भएको छ । प्रतियोगितामा भोजपुरका बन्धना राई प्रथम भइन । पाँचथरका इन्द्र मुकारुङ द्वितीय तथा भोजपुरकै विजय ग्वाले तृतीय भए ।

बान्तावा कविता प्रतियोगिता सम्पन्न

बान्तावा भाषाको मासिक पत्रिका ‘बुङ्वाखा’ को तेह्रौं वार्षिकोत्सवको अवसरमा आयोजित कविता प्रतियोगितामा १३ जना कवि सहभागी थिए । रचना पठाएका ३५ जनाबाट छनोटमा परेका उत्कृष्ट १३ जनाले प्रतियोगितामा कविता वाचन गरेका थिए । उर्लाबारीको किरात राई यायोक्खाखिममा भएको प्रतियोगितामा राईको ‘लाम’ शीर्षकको कविता प्रथम हुन सफल भयो । द्वितीय भएका मुकारुङले ‘ए झेक्ने सिप्पा’ र तृतीय भएका ग्वालेले ‘खाना चोमोलुङ्मा’ शीर्षकको कविता प्रस्तुत गरेका थिए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: १०, ६ र ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । कार्यक्रममा सम्मान तथा पुरस्कार वितरण समेत गरिएको थियो ।



उक्त कार्यक्रममा यस बर्षको बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कारबाट इलामका सानङ्वा एवार्ड पुरस्कृत भएका छन् । उनलाई ताम्रापत्र र ३५ हजार नगदसहित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख श्रवण मुकारुङले पुरस्कृत गरेका थिए । बुङ्वाखा–पञ्चकुमारी संगीत पुरस्कारबाट भोजपुरका आभा मुकारुङ पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी नगद २० हजार रहेको छ ।


बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कारबाट सुनसरीका राजेन्द्र राई पुरस्कृत भए । उक्त पुरस्कारको राशी नगद ६ हजार रहेको छ । बुङ्वाखा–धनेन्द्र बादिहाङ पुरस्कारबाट इलामका अलग बहादुर सोङमेन पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी ५ हजार रहेको छ । वार्षिकोत्सवको अवसरमा पत्रिकाले दमक संवाददाता धनजित रुङ्माहाङ र मोरङ संवाददाता हर्क साम्पाङ राईलाई सम्मान गरेको थियो ।

प्रकाशित : पुस ९, २०७४ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?