१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘घोडचढी’ मा चमार संस्कृति

कान्तिपुर संवाददाता

मोरङ — चमार समुदायको बदलिँदो जनजीवन र संस्कृतिमाथि तयार पारिएको नाटक ‘घोडचढी’ ले केही महिनाअघि राजधानीका दर्शकको मन जितेको थियो । यति बेला यो विराटनगरस्थित गुरुकुलको सुशीला कोइराला नाटक घरमा आइपुगेको छ । काठमाडौंको सुमेरु कला सरोवरको प्रस्तुति रहेको ‘घोडचढी’ यहाँ नियमित मञ्चन भइरहेको छ ।

‘घोडचढी’ मा चमार संस्कृति

सुबलमणि सापकोटाको लेखन तथा निर्देशनमा मञ्चन भइरहेको ‘घोडचढी’ मा मधेसको चमार समुदायको सांस्कृतिक पक्षलाई उजागर गरिएको छ भने वैदेशिक रोजगारीमा छोराहरू पलायन हुँदा छोरीहरू नै जातीय पेसा, धर्म, संस्कृति जोगाउन लागिपरेको सन्दर्भ छ । नाटकको सेट सामान्य गाउँको छ । लखनपुर गाउँको भगतराम चमारको घरलाई कथानकको केन्द्र बनाइएको छ । वैदेशिक रोजगारको भूतले नेपाली समाजलाई यतिसम्म छोएको छ कि स्कुलकै शिक्षकले पढाइ छोडेर विदेश जान उक्साउँछ ।

नाटकमा यो असामान्य लागे पनि वैदेशिक रोजगारको प्रभावको आकलन भने सही लाग्छ ।

विदेशबाट पठाइएको रिमिटयान्सको धेरैजसो प्रतिशत सदुपयोग हुँदैन भन्ने विभिन्न सर्वेक्षणले देखाइरहेकै छन् । नाटक पनि यस्तै हुन्छ । आफ्ना सन्तानले बाहिरबाट दु:ख गरेर पठाएको पैसाले रक्सी खाने पात्रहरू नाटकमा भेटिन्छन् । चमार समुदायमा हुने लैंगिक विभेदको अर्को विडम्बना पनि नाटकमा हेर्न सकिन्छ । छोराहरू जति सबै वैदेशिक रोजगारमा पलायन भएपछि मात्रै छोरीहरूले स्कुल पढ्ने अवसर पाउँछन् । कसैको अनुपस्थितिमा खाली भएको स्पेसमा मात्रै नारीहरूले स्थान पाएको अवस्था अहिलेको समयमा राम्रो हैन । तैपनि नाटकमा भने यसलाई सकारात्मक रूपमा प्रयोग गरिएको छ । तिनै छोरीहरू पढ्न र लेख्न सक्ने भइसकेपछि सांस्कृतिक चिनारीको जर्गेना गर्नुपर्छ भन्दै अभियान चाल्छिन् ।

यो क्रममा नाटकले चमार जातिको चम्खोली बाजा र ग्रामदेवताको थान पूजाको बेला हुने घोडचढी नृत्यलाई अघि सारेको छ । छोरीहरूले मिलेर यो नृत्य पुनर्जीवित गराउन खोज्दा नाच्न जान्ने तिनै बूढो भगतराम मात्रै बाँकी हुन्छ । ठूला र शक्तिशालीहरूको सांस्कृतिक प्रभावका कारण सिमान्तकृतहरूले खेपिरहेको सांस्कृतिक हिनताबोध नाटकको अर्को पक्ष हो । भगतराम कुनै पनि अवस्थामा घोडचढी नाच्न नछोड्ने मानसिकतामा अघि बढिरहेको बेला उनकै छोरा अवरोधको रूपमा देखापर्छ । आफ्नो बुबाले घोडचढी नाच्दा अरूले हेप्छ कि ? कुरा काट्न कि ? भन्ने हीन मनोभावबाट उनको छोरा ग्रस्त हुन्छ । अहिलेको समग्र नयाँ पुस्ते मनोविज्ञानलाई प्रस्तुत गर्न नाटक सफल छ ।

अनिल कुर्मीको रंगमञ्चको साजसज्जा, नवराज केसीको प्रकाश संयोजन, सन्तोष गौतमको संगीत संयोजन, वासुदेव हरिजन, अर्जुन राम, बच्चु राम, भगतराम र पुलोदेवीराम चमारको चम्खोली समूहको बेजोड प्रस्तुतिले १ घण्टा ३० मिनेटसम्म दर्शकलाई समातेर राख्न नाटक सफल छ । नाटकमा लोकमणि सापकोटा, सरस्वती अधिकारी, सविन कट्टेल, उद्धव सापकोटा, प्रेम दाहाल, शंकर भण्डारी, सबिर चुरौटे, अनु दाहाल, शुलभ पाण्डे, रुपेश लामा, कविता पोख्रेल लगायतको अभिनय हेर्न सकिन्छ ।

नाटक शनिबारसम्म मञ्चन हुनेछ ।

प्रकाशित : कार्तिक १८, २०७४ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?