कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोराछोरीले दिए हीरादेवीलाई श्रद्धाञ्जली

कान्तिपुर संवाददाता

ललितपुर — लोक भाकालाई सुहाउँदो फरक स्वरका कारण सत्तरीको दशकमा गायिका हीरादेवी वाइवा लोकप्रिय बनिन् । ‘फरिया ल्याइदेछन्, त्यो पनि राता घनन..’, ‘धनकुटाको डाँडैडाँडा..’, ‘आइस्याङवो सहनाईको..’, ‘राम्री त राम्री....’ जस्ता गीतहरू रेकर्ड गरेपछि नेपालका गाउँबस्तीसहित भारतका दार्जिलिङ, सिक्किम, सिलोङसम्म उनका प्रसंशक बढ्दै गए ।

छोराछोरीले दिए हीरादेवीलाई श्रद्धाञ्जली

सन् २०११ मा ७१ वर्षको उमेरमा हीरादेवीको निधन भयो । उनको निधनपछि रिक्त भएको ठाउँ भर्न उनका दुई सन्तान अघि सरे । छोरी नवनीत आदित्य र छोरा सत्य आदित्यले कुटुम्ब ब्यान्डसँग मिलेर गीतहरूलाई पुन: रेकर्ड गराए । दुई वर्षको निरन्तर सहकार्यपछि ‘आमालाई श्रद्धाञ्जली’ एल्बम तयार भयो ।

पाटन संग्रहालयमा शुक्रबार उक्त एल्बमको दिदीभाइ नवनीत र सत्यले लोकार्पण गरे ।

‘सानो छँदा आमाले हरेक गीत हामीलाई सँगै राखेर गाउनुहुन्थ्यो । आमाको निधनपछि हरेक दिन उहाँले गाउने मीठा स्वरहरूको पनि बेस्सरी सम्झना आउन थाल्यो,’ लन्डन बस्दै आएका सत्यले भने, ‘त्यसपछि मैले आमाले गाउनुभएका गीतहरूको पृष्ठभूमि, नेपाली संस्कृति र जनजीवनसँग ती गीतहरूको अन्तरसम्बन्धका बारेमा अध्ययन सुरु गरेँ । दिदीले आमाका गीतहरूलाई आधुनिक प्रविधिमा पुन: रेकर्ड गराई आगामी पुस्तासम्म ल्याउने कुरा गरेपछि एल्बम तयार भएको हो ।’ एल्बमकै कामको लागि नवनीत आफूलाई असाध्यै मनपर्ने एयरलाइन्सको जागिर छाडेर भारतको सिलिगुडी फर्किएको सुनाए ।

लोकबाजा र लोकभाकाको प्रवद्र्धनका लागि सक्रिय कटुम्बका सदस्यहरूले हीरादेवीका गीतहरूमा नेपाली ठेट लोक–बाजागाजाको धुन भर्ने, रि–रेकर्डिङ गर्नेजस्ता काममा दिदीभाइलाई सघाएका छन् ।

कलाकार जयनन्द लामाले हीरादेवीलाई नेपाली संगीत जगत्की सरस्वतीको रूपमा व्याख्या गरे । हीरादेवीले रेडियो नेपालको स्टुडियोमा जयनन्दसँग थुप्रै तामाङ सेलो रेकर्ड पनि गराएकी थिइन् । उनले भने, ‘दिदी मादल, समाला, धिमे र डम्फु, बाँसुरी लगायतका परम्परागत बाजामा गीत गाउन मन पराउनुहुन्थ्यो । बाजाले पनि त्यति सुमधुर संगीत निकाल्न सक्दैनथ्यो, जसरी उहाँको गलाबाट निस्कन्थ्यो ।’ कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पुराना गीतहरूको संकलन गरी रोयल्टी वितरण गर्ने व्यवस्था मिलाउनेतर्फ अग्रसर भएको सुनाए ।

एल्बममा ‘ए स्याङ्बो’, ‘छुइया म हा’, ‘धनकुटा’, ‘राम्री त राम्री’, ‘झिल्के नाचेको’, ‘फरिया ल्याइदेछन्’ र ‘कहु बेला’ गरी सात गीत नवनीतको स्वरमा छन् । नेपाली समुदायले आमाका गीतहरूलाई बिर्सिसकेकाले लोक गीत जोगाउन एल्बमको प्रोजेक्ट अगाडि बढाएको नवनीतले बताइन् । उनले ‘कसरी काटूँ मैले समुद्रको रात..’ ‘उँधो जाँदा..’, ‘धनकुटेको डाँडा...’ लगायतका हीरादेवीका गीत कार्यक्रममा गाएकी थिइन् ।

प्रकाशित : कार्तिक १८, २०७४ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?