कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मन नपरेको नामको कथा

बाल्यकालमा हीनताबोध भइरहने केही कारणहरू थिए मसँग । कालो हुनु एउटा हीनताबोध थियो । गर्भमै हुँदा बाबाले मागेर गएकी गोरी केटी र उसका सहेलीहरूले जिस्क्याएको सुन्थेँ, ‘भट्टको गेडोमा चामल मिसिने भयो ।’
रामलाल जोशी

बाबाले सेतो पहाडी कागजको लामो पानामा ‘रामनाथ’ नाम लेखेर जानुभो । बाबा कहाँ जानुभएको हो मलाई थाहा थिएन तर यति थाहा छ त्यसपछि कहिल्यै फर्किनुभएन मेरो बाबा । बाबा नफर्किनुको अनुभूति अव्यक्त छ । बाबा नहुनुको अनुभव नि:शब्द छ ।

मन नपरेको नामको कथा

बाबा नहुनुको तीतो यथार्थ यही छ कि एउटा सुन्दर नाम सदाका लागि अन्त्य भएको छ । बाबाले राखिदिएको सुन्दर र प्यारो नाम ‘रामनाथ’ कहिल्यै प्राप्त नहुने भयो मेरा लागि ।

बाबा नहुनुको आजादी पनि थियो । गाउँमा स्कुल नहुनुको निस्फिक्री पनि थियो । बाबा नहुनुमा जति स्वतन्त्रता थियो स्कुल नहुनुको मजा पनि त त्यति नै थियो । पढ्नु पर्ने थिएन । लेख्नुपर्ने थिएन । दिनहुँ स्कुल जानुको झमेला थिएन । मास्टरको डर थिएन । बाबाको भय थिएन । बिहानको गाँस टिपेर या त गाई–गोरुका पुच्छर निमोठ्दै वनवनमा भौंतारिनु थियो अथवा चराका घोल (गुँड) खोज्दै जंगलजंगल चहार्नु थियो । बस यतिको आजादी या त पानीको माछालाई थियो या त आकाशको पन्छीलाई थियो या त मलाई नै थियो । संसारमा अरू कसलाई थियो र यति आजादी ?
एघार वर्ष पुग्न थालेको एक दिन केही केटाकेटीहरूको साथमा जोईपोइ बनेर खेलिरहेकै बेला ठयाक्कै गाउँमा विद्यालयको स्वीकृति पाइएको खबर सुनियो । दोस्रो दिनदेखि छुट्टीका दिनबाहेक गाईगोरुका पुच्छर निमोठ्दै वनपाखामा जान बन्द । चरामा घोल खोज्न जान बन्द । जोईपोइ खेल्नु पनि प्राय: बन्द । तीतेपातीले बारिएको गोठ–कोठामा मास्टरसँगै लय हालेर कपुरी ‘क’ गाउनु त्यति आनन्ददायी लागेन । जोईपोइ बनी खेल्नु जत्तिको सुन्दर आनन्द स्कुल जानुमा कहाँ हुन्थ्यो र ?

हाजिर लाउँदा मास्टरजीले भन्नुभो, ‘रामलाल !’ सबै चुप, सबै शान्त थिए । कोही बोलेन । मतिर हेरेर फेरि भन्नुभो, ‘ए सुनिनस् ? पर्जेन्ट सर भन् ।’ 

‘प्रजेन्ट सर ।’

त्यस दिनदेखि मैले आफ्नो नाम रामलाल भएको थाहा पाएँ । चार कक्षामा पुगेर एबीसीडी पढ्न सुरु गरेपछि पाँच कक्षमा एकैचोटि मास्टरजीसँगै लय हालेर ‘रामलाल इज अ कार्पेन्टर’ लेखिएको वाक्य दोहोर्‍याई तेहेर्‍याई घोक्नुपर्थ्यो । हत्तेरी मलाई कत्ति निको लागेन आफ्नो नाम । साथीहरू मलाई हेरेर हाँस्दै पढ्थे, ‘रामलाल इज अ कार्पेन्टर ।’ यो नामसँग मलाई कत्ति पनि आकर्षण र सहमति थिएन । तर स्कुलबाट घर पुग्दा त्यो नाम ओझेल परिसकेको हुन्थ्यो । सबैले पुकार्ने नामसँगै म अभ्यस्त थिएँ, ‘रामे’ । आफ्नो नामसँग मलाई कहाँ मोह थियो र ? छोराको नाम कसरी बिगारिइँदै छ आमालाई के थाहा ? 

बाल्यकालमा हीनताबोध भइरहने केही कारणहरू थिए मसँग । कालो हुनु एउटा हीनताबोध थियो । गर्भमै हुँदा बाबाले मागेर गएकी गोरी केटी र उसका सहेलीहरूले जिस्क्याएको सुन्थेँ, ‘भट्टको गेडोमा चामल मिसिने भयो ।’ सायद बालक हृदयमा परेको त्यही चोटको प्रतिशोध हुन सक्छ चामलको गेडोले भट्टमा मिसिने अवसर कहिल्यै प्राप्त गरेन । कालो हुनु त्यस बेला मेरा लागि अभिशाप थियो । सयौंचोटि ऐनामा अनुहार हेर्थें । तर त्यो ऐनाले मलाई मेरो अनुहार कहाँ प्रतिविम्बित गर्न सक्थ्यो र ? आफ्नो अनुहार हेर्नका लागि वर्षौं कुर्नुपर्‍यो मलाई । हीनताबोधको अर्को कारण थियो— साइँला बाजे ठानेर भजनसिहं लुहारलाई पटक–पटक ढोग दिनु । अँध्यारोमा आँगनको डिलमा बसेको भजनसिंहलाई झुक्किएर कैयौँपटक ढोग गरेको थिएँ । ढोग गरिसकेपछि हीनभावले ग्रसित पारिरहन्थ्यो । सबैभन्दा ठूलो हीनताबोधको कारण थियो आफ्नै नाम । पटक्कै मन नपरेको नाम— रामलाल ।

एसएलसी पास गरेर क्याम्पसे जीवनमा पुगेपछि थाहा पाएँ हेपचेपमा परेका निम्न वर्गीय पात्रहरूकै प्रतिनिधि नाम थियो त्यो । उपल्ला वर्गका पात्रहरूको कही कतै सुनिएन त्यस्तो नाम । होटलमा खाजा खान बस्दा प्राय: बेयराहरूको नाम हुन्थ्यो रामलाल । थारू समुदायमा प्राय:को नाम हुन्थ्यो रामलाल । धेरैजसो मिस्त्री, कुल्ली अथवा रिक्सावालाहरू रामलाल नामधारी हुन्थे । सरकारी कार्यालयमा जाँदा रामलाल नामका पियनहरू भेटिन्छन् धेरैजसो । कपाल काट्ने ठाउँमा जाँदा नाईहरूको यही नाम सुनिन्छ । ओहो ! देश दुनियाँ देखिसकेपछि बल्ल थाहा भो— भित्तामै पुर्‍याउने गरी कति अपमानपूर्वक राखिएको रैछ मेरो नाम । बाबाले राखिदिएको रामको पछाडिको ‘नाथ’ झिकेर प्रसाद चन्द्र, राज अथवा भक्त यस्तै–यस्तै उपल्ला वर्गलाई जनाउने शब्द राख्नमा किन कञ्जुस्याइँ गरिएको होला ? किन हेपचेपमा परेका तल्लो वर्गको प्रतिनिधित्व हुने गरी यस्तो हेपाहा दृष्टिले मेरो नाम राखियो होला ?

मलाई यस बेला बाबा नहुनुको घोर विपत्ति महसुस भयो । मेरा बाबा भैदिया भए यसरी मेरो नाम कसले होच्याएर राख्न पाउने थियो र ? मेरो नाम सुन्दरै राखिने थियो । म एउटा सुन्दर नामले पुकारिने थिएँ । बाबा नहुनुको सबैभन्दा ठूलो सजाय त्यही थियो मेरा लागि । मलाई आफ्नो नाम रत्तिभर पनि मन पर्न थालेन ।

आफ्नै नामप्रति असहमति जनाएर विद्रोह नगरेको पनि कहाँ थिएँ र ? बालजीवन र बन्दी खामका नामबाट गजल र मुक्तकहरू लेखेको थिएँ । जो नाम रुमानी दुनियाँमै रुमल्लिएर हराउन पुग्यो । 
पत्रकारिता जीवनमा आएपछि फिचर लेखमा लेखिने राजन शर्मा रहस्यमै रह्यो । सन्ध्या बिहानीका नामले केही लेखहरू आएपछि प्रेमिल पुरुषहरूको खोजाइ र चासोले सायद रहस्यको पटाक्षेप खतरापूर्ण हुने संकेतले त्यो नाम पनि सदाका लागि हराएर गयो । यी विद्रोही नामहरूले कहींकतै आस्तित्व कायम राख्न सकेनन् । पहिचान निर्माण गर्न असमर्थ भए । यी नामहरूसँग कुनै दु:ख र संघर्षका फेहरिस्त पनि त थिएनन् नि । 

आफूलाई ननिको लाग्ने नाम वरण गर्न बाध्य थिएँ म । बाकसमा फेला परेको स्व.बाबाको डायरीमा रहेको ‘विद्याको रानी’ शीर्षकको कविताको सिको गर्दै लेखिएको कविता राजा वीरेन्द्रको जन्मोत्सवमा सुनाउँदा जीवनमै पहिलोपल्ट साहित्य सिर्जनाका लागि २० रुपैयाँ पुरस्कार पाएको थिएँ यही नामले । आठ कक्षामा पुग्दा कविताका तीनवटा पाण्डुलिपि तयार गरिसकेको थिएँ यही नाममा । चार कक्षामा पढ्दै गर्दा साथीहरूको समूह बनाएर खोला–खेतमा सरस्वतीको मन्दिर निर्माण गरेको थिएँ यही नाम धारण गरेर । विद्यालयका 
प्रमाणपत्रहरू बनेका थिए यही नाममा । आफूलाई मन नपरेको यही नाम नै विद्यालयका रजिस्टरमा प्रथम पंक्तिमा लेखिएर आउँथ्यो सधैँ । सौगात, कोपिला युगपुकार र परामर्शजस्ता पत्रिकाहरूमा यही नाम छापिएर आयो सम्पादक बनेर । सुदूरपश्चिममा साहित्यको तीनतले भवन बनाउन घर–घरमा गएर चन्दा मागेको थिएँ यही नामले । ‘हत्केलामा आकाश’ गजलसंग्रह छापियो यही नाममा । ‘ऐना’ लेखियो यही नाममा । र, अन्तत: नेपाली साहित्यको सर्वश्रेष्ठ पुरस्कार मानिने मदन पुरस्कारको घोषणा भयो यही नाममा । हजारौँ सहृदयी पाठकको माया प्राप्त गर्‍यो यही नामले, रामलालले ।

उफ ! आफ्नै नामसँगको मेरो अन्तरसंघर्षको पटाक्षेप यसरी भयो कि म हारेँ अन्तत । आफ्नै नामसँग । रत्तिभर मन नपर्ने मेरै नामले नै विजय गर्‍यो ममाथि । कहिल्यै मन नपर्ने लोग्नेसँग अँगालो हालेर कसरी सुत्दी हो एउटी श्रीमती जीवनभरि ? मलाई या नामसँग टाँसिनुको नमज्जा त्यस्तै थियो । तर म हारें मेरै नामसँग । मेरो नामले जितेको छ जीवनभरिको अन्तरद्वन्द्वमा मसँग । बधाई छ तँलाई है, मेरो नाम । 

आज प्यारो लाग्न थालेको छ यही नाम जसले जीवनमा धेरै–धेरै हीनताहरू मलाई सहन सिकाएको छ । हेय र अपमानहरू सहँदै बाँच्नेहरूको एउटा प्रतिनिधि नाम वरणयोग्य बनेको छ । लहना बोहरा भन्छे— ‘मलाई रामलाल बनेर मेरै कथा सुनाउनु थियो ।’ ऐनामा अनुहार हेरेपछि सिर्जना घोषणा गर्छे— रामलाललाई आँखामा राखेर म मेरै कथा हेर्न चाहन्छु ।’ रामलाल डगौराले हात मिलाउँदै भन्यो, ‘म तपाईंकै समकक्षमा पुगको छु आज ।’ यस्तै भन्छन् अचेल— रामलाल चौधरी, रामलाल राना, रामलाल थारू र रामलाल भुजुहरू । धेरैहरूका मानसपटलमा रामलाल थारू, यादव अथवा चौधरी बनेर बसेको थियो । कतिका दिमागमा कुल्ली–मिस्त्री, बेयरा, नाई अथवा पियन बनेर बसेको थियो । पश्चिम नेपालको तिमिल्सिना ब्राह्मण भएर पनि कतिका सोचाइमा रामलाल जोशी नेवार बनेर बसेको थियो । मानसपटल र सोचाइका यी सबै भ्रमहरूलाई चिरेर जो नाम आज एउटा लेखकका रूपमा दरिएको छ त्यो मेरै नाम हो बाबाको रामनाथकै नाम हो— रामलाल । हो मेरै नाम । कथा बनेको एउटा नाम— रामलाल जोशी ।

प्रकाशित : जेष्ठ २८, २०७४ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?