राज्यसँगको त्यो पौँठेजोरी

काठमाडौं — कुरा पाँच वर्षअघिको हो । अभिनेता खगेन्द्र लामिछाने रेडियो नाटक र रंगमञ्चतिर रमाइरहेका थिए । उनलाई एक दिन फिल्म खेल्ने प्रस्ताव आयो । माने । फिल्म बन्यो । रिलिज पनि भयो । तर, खगेन्द्र चिनिएनन् । उनी मात्रै होइन, फिल्मका कलाकारमध्ये धेरैलाई दर्शकले झट्ट खुट्टयाउन सकेनन् ।

राज्यसँगको त्यो पौँठेजोरी

मनोज पण्डित निर्देशित ‘वधशाला’ मा खगेन्द्र, सौगात मल्ल, सरिता गिरीजस्ता कलाकार कालो कपडाको मुकुन्डोभित्र बाँधिएका थिए । त्यसैले तिनलाई चिन्न गाह्रो पर्नु स्वाभाविकै भयो । खगेन्द्र भने पहिलो फिल्ममै ‘मास्क’ भित्र रहेकाले उनलाई सोधियो, मान्छेले चिन्दैनन् भनेर पीर लागेन ? 

‘चिन्छन्, चिन्दैनन् भन्नेतिर लागिएन,’ उनले जवाफ दिए, ‘बरु, सजिलो भयो । जता हेरेर बोले पनि हुने, क्यामेराको फोकस कता छ भन्नेमा ध्यानै दिनु नपर्ने ।’ उनका कुरा सुनेर सरिता खितिति हाँसिन् । 

अनामनगरको युनियन हाउसमा आइतबार भएको ‘सन्डे सिनेमा’ मा ‘वधशाला’ देखाइएपछिको संवादमा यस्तो वार्तालाप भएको थियो । जनयुद्धका बेला सैनिक पक्षले माओवादीलाई कैदी बनाएर दिएको यातना र सैनिक–कैदीबीच उत्पन्न मानवीय सम्बन्धलाई फिल्ममा देखाइएको निर्देशक पण्डितले बताए । उनलाई फिल्मको विषय, निर्माण र प्रदर्शनीपछिका अनुभवहरू सेयर गर्न लगाइएको थियो ।

रंगकर्मी घिमिरे युवराजले मोडरेसन गरेको कार्यक्रममा पण्डितले ‘वधशाला’ लाई राज्यसँग पौँठेजोरी खेल्न सफल फिल्मको संज्ञा दिए । ‘तर, यसलाई अझै सशक्त बनाउन सकिने रहेछ,’ उनले भने, ‘मुख्य प्रसंगभन्दा अन्ततिर धेरै भड्किएछु म । मुग्लिन जान्छु भनेर हिँडेको, मलेखुको माछामै भुलिएजस्तो भयो मेरो फिल्म ।’
उनका अनुसार फिल्मको मुख्य ध्येय कैदी र सैनिकबीचको सम्बन्ध देखाउनु हो । तर, फिल्ममा यातना र दु:खलाई चाहिनेभन्दा बढी व्याख्या गरिएको छ ।

निर्देशक पण्डितले यसो भनिरहँदा खगेन्द्रले चाहिँ यसमा पात्रैपिच्छेका अलग–अलग प्लट हुँदा फिल्म छरिएको बताए । ‘मुख्य पात्रमा फोकस्ड भइदिएको भए फिल्म निकै बलियो हुन्थ्यो,’ उनले भने, ‘प्लट नै प्लट बढी भयो ।’

सशस्त्र द्वन्द्वका बेला सेनाको भैरवनाथ गणबाट एउटा चिठी लिक भएपछि त्यहाँ बन्दी बनाइएकाहरूको खबरले आफूलाई ‘वधशाला’ बनाउन प्रेरित गरेको त्यसको पटकथाकारसमेत रहेका पण्डितले सुनाए ।

डिल्लीबजार जेलमा खिचिएको फिल्म प्रदर्शन गर्ने बेला भने साह्रै लफडामा परेछ । ट्रेलर रिलिज हुनासाथ सैनिक पक्षले फिल्म चल्न नदिन चलचित्र विकास बोर्डलाई पत्र पठाएछ । ‘पूरा फिल्म देखाइदिएपछि चाहिँ एउटा सिन काट्न लगाएर फिल्म चल्न दिइयो,’ निर्देशक पण्डितले भने । 

फिल्ममा सैनिकले दिएको यातनालाई मात्रै देखाइएको भन्दै उनलाई माओवादीको ‘पार्ट’ किन नदेखाएको भन्ने प्रश्न पनि धेरै सोधिने रहेछ । आइतबार यस्तै आशयको प्रश्न सुनेपछि उनले डाइलग मारे, ‘हामीकहाँ जे देखाइएको छ त्यसबारे कुरा हुँदैन । जे देखाइएको छैन, त्यो किन देखाइएन भनेर सोधिन्छ । मलाई जे देखाउनु थियो, त्यति मात्रै देखाएको हुँ । सेटिङबाहिरको चिज किन देखाऊँ ?’

सरिताले चाहिँ फिल्म गर्दा थुप्रै पटक रिटेक लिनुपरेको क्षण सम्झिइन् । थोरै डाइलग भए पनि लामा सिन खिच्दा निकै संघर्ष गर्नुपरेको रहेछ उनले । ‘वरिपरि यातनैयातनाका दृश्य खिचिँदै थिए,’ उनले सुनाइन्, ‘एकातिर खगेन्द्रको टाउको तातो पानीमा डुबाइँदै थियो, अर्कोतिर सौगातलाई बुटले हिर्काइँदै थियो । मलाई भने घिसार्दै एक ठाउँबाट अर्कोमा लगिएको थियो ।’ ढाड खुइलिए पनि ऐया नभनी काम गरेको उनले बताइन् । दुर्भाग्य, सरिताको त्यही सिन सैनिक पक्षले काट्न लगाएको थियो । 


 

प्रकाशित : वैशाख २६, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?