कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पश्चिमको ‘ऐना’ पूर्वमा

धरान — सुदूरपश्चिमको धरातलमा उभिएर लेखिएको कथा संग्रह ‘ऐना’ ले यसपटकको मदन पुरस्कार जित्यो । त्यही कृतिका लेखक रामलाल जोशी पश्चिमका कथामाथि छलफल चलाउन पूर्व आएका छन् ।

पश्चिमको ‘ऐना’ पूर्वमा

विमल स्मृति पुस्तकालय र क्यानभास साहित्य समाजले कथाकार जोशी र पूर्वका पाठकबीच दोहोरो संवाद चलाए । पूर्वका पाठक र समीक्षकको जिज्ञासालाई मेट्दै जोशीले भने, ‘लेखक कवि साहित्यकार स्वतन्त्र, दबाबमुक्त नभएसम्म समाजको वास्तविक ऐना लेख्न सकिन्न । मैले त्यही धर्म निभाएको छु । कथाहरूमा सुदूरपश्चिमाञ्चलको समाजको यथार्थ छाया देख्नु हुनेछ ।’ 

धनगढीमा बसेर स्थानीय लयमा कथा लेख्दै आएका जोशीले पहिलो कथासंग्रहमै मदन पुरस्कार पाएपछि थप जिम्मेवारी र पाठकको मायासँगै आत्म–दबाब सृजना भएको बताए । भने, ‘पुरस्कार प्राप्तिपछि परिष्कृत र परिपक्व हुनुपर्ने महसुस भएको छ ।’ सुरुमा कविता र गजल लेख्दै आएका जोशीले ०७० देखि मात्र कथा लेख्नु सुरु गरेका हुन् । उनले ०७२ चैतमा आफ्नै लगानीमा ‘ऐना’ को पहिलो र त्यसलगत्तै दोस्रो संस्करण प्रकाशित गरे । पछि बुकहिलबाट छापियो । प्रकाशक भूपेन्द्र खडकाले ‘ऐना’ हालसम्म २० हजारप्रति बिक्री भइसकेको जनाए । सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्षसमेत रहेका जोशी कलेज पनि पढाउँछन् । 

४१ वसन्त पार गरेका जोशी लेखन प्रेरणाबारे पनि खुले । उनका बुवा हरिभक्त जोशी पनि लेख्थे । ‘तर म सात वर्षको हुँदा उहाँ बित्नुभयो । चार कक्षामा पढ्दा बुवाको डायरी फेला पारें । त्यसमा ‘विद्याकी रानी’ शीर्षकको कविता झ्याउरे छन्दमा थियो,’ उनले भने, ‘त्यही कविताबाट प्रभावित भएर लेख्न थालें ।’ उनको गजल कृति पनि प्रकाशित छ । त्यसपछि अर्को कविता र गजलसंग्रह निकाल्ने तयारी गर्दागर्दै एकैचोटि कथा लेखनमा हाम्फालेको उनले बताए । कथा नै लेख्नुपर्ने कारणबारे उनले भने, ‘मलाई किन किन कविताबाट भन्दा कथाबाट म बसेको समाजको यथार्थलाई चित्रण गर्न सहज लाग्यो ।’ कथामा सुदूरपश्चिमका दु:ख, समस्या मात्र देखाएको आरोप लगाइएको बारेको प्रश्नमा उनले ‘साहित्यमा कला र आनन्दका कुरा मात्र हुन नुहने’ प्रतिक्रिया दिए । उनले सुदूरपश्चिमको भाषा, जीवनशैली, सामाज, साहित्यलाई मूलधारमा प्रवेश गराउँदा पाठकले मन पराएको पाएको दाबी गरे । भने, ‘पाठकले कसरी लिन्छन् भनेर परीक्षण गर्नु पनि थियो । परीक्षणमा सफल पनि भइयो ।’

समालोचक प्रा.डा. भीम खतिवडाले राजनीतिले फुटाएका मनलाई साहित्यले मात्र जोड्ने बताए । उनले कथासंग्रहमाथि टिप्पणी गर्दै भने, ‘जोशीका कथाले समस्या देखाएको छ । अब कथाकारले समाधान पनि गर्ने उपाय र धारणा दिनु जरुरी छ ।’ चेवनश्रीले सहजीकरण गरेको संवादमा अर्का टिप्पणीकार राज माङ्लाकले जोशीका कथाहरूमा पश्चिम नेपाली समाजका विडम्बनाहरूलाई जस्ताको तस्तै चित्रण गरिएको बताए । धरानबाट सुरु संवाद धनकुटा, इटहरी, इनरुवा र झापासम्म पुग्ने प्रकाशक खड्काले जनाए ।

प्रकाशित : पुस १७, २०७३ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?