मेरो बुझाइमा 'निर्वाण'

कमलप्रसाद न्यौपाने

काठमाडौं — निर्वाण प्रकाशित भएको खबर सुनेपछि पढ्ने चाहना उत्कर्षमा पुग्यो । आद्योपान्त पढेँ । बुद्धदर्शनको भावभूमिमा उपन्यासका माध्यमबाट निर्वाणको प्रस्तुति रोचक लाग्यो । यो मनोरञ्नन मात्र नभएर मनोभञ्जन समेत रहेछ । साथीहरूलाई पनि पढ्ने सल्लाह दिएँ । अधिकांशले नामै बुझेनन् ‘के निर्माण ?’ भनेर सोधे ।

मेरो बुझाइमा 'निर्वाण'

मैले होइन ‘निर् वाण’ भन्दा रामवाण, कामवाण, धनुर्वाण सुनिएको थियो यो ए.के.४७ को जमानामा कुन वाण को कुरा गर्छौ ? भन्ने प्रश्न पो आयो । मैले संक्षेपमा उत्तर दिएँ । केही जानकार गुरुज्यूहरूलाई पनि पढ्न आग्रह गरेँ । उहाँहरूले भन्नु भयो, ‘अहिले त छोरा छोरीको बिहे गरिदिनु छ तिनको बिहेवारी होस् अनि पढौँला, बुझौँला निर्वाण ।’)

कस्तो विचित्रविडम्बना ! नबुझ्नेको प्रश्न स्वाभाविक नै थियो, तर बुझेर बुझ पचाउनेहरूलाई कसरी बुझाउनु ?  पश्चिमाहरू ‘निर्वाण’लाई निर्वाना भन्दा रहेछन् । पश्चिममा सबैभन्दा सोधिएको, रोजिएको र खोजिएको शब्द रहेछ यो ।

अनि सम्झें रत्नाकर डाकुलाई जसले ‘राम’ उच्चारण गर्न नसकेर मरा–मरा को उल्टो आवृत्ति गर्दागर्दै ‘राम’भनेर महर्षि बाल्मीकि भएको थियो । हाम्रो कस्तो मानसिकता ? पूर्वीय मनीषिले राम १ हरे १ कृष्ण भन्दा शङ्का गर्ने, तर पश्चिमाले ‘हरे रामा १ हरे कृष्णा’ भन्दै नाच्न थालेपछि चाहिँ पत्याउने !

लाजमर्दो कुरा त हज्जारौँ वर्ष अघि हाम्रो ऋषि महर्षिले यही पावन भूमिमा कठोर साधना गरी प्रतिपादन गरेको योगलाई उनीहरूले योगा भन्दै साधना गर्न प्रारम्भ गरे । संयुक्त राष्ट्र संघले जुन २१ लाई विश्व योग दिवस घोषणा गरे पछि बल्ल धेरैका कानमा बतास पस्यो । हुन त पूर्वीय संस्कृति र सनातन परम्पराका पक्षधरहरूले गुफा, कन्दरामा साधना गरेर योगलाई जीवितै राखेका थिए । नेपालका सर्वप्रथम डा.काशीराज उपाध्यायले पुरानो पुस्तामा रहेको योगलाई आधुनिक पुस्तामा जोड्ने सम्बन्ध सेतुको काम गरे । डा.हरिप्रसादपोख्रेलले २०३६ सालदेखि नै पाल्पाको सुन्दर गाउँमा माघ १ गतेलाई विश्व योग दिवसका रुपमा मनाउने ऐतिहासिक कार्य गरे र त्यसलाई निरन्तरता पनि दिए । तर नेपाल सरकारले गत वर्षदेखि बल्ल माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्‍यो । पश्चिमाले स्वीकार गरेपछि मात्र सक्रियता देखाउने यो कस्तो मनोवृत्ति हो ?

धन्य ! स्रष्टा घनश्याम खड्काले बुद्ध जन्मिएको देशमा बुद्धदर्शनको भावभूमिमा निर्वाण लेखे । अब कुनै नेपालीले रामा, कृष्णा, योगा भनेर चिनेझैँ निवार्णलाई ‘निर्वाणा’ भनेर चिन्नु पर्ने छैन सायद ।  त्यसका लागि पुन:अहोभाव ।
    
पढेपछि लाग्यो, नीलगगनको शुभ्र शान्त मेघ, भगवान बुद्धको ध्यान र वेदको ज्ञान बोकेर ‘घन–श्याम’ (कालो बादल) बनेर सनातनधर्मको आकाश हुँदै विश्वमै साहित्यका माध्यमबाट अध्यात्मको वर्षा गर्न सफल हुनेछ निर्वाण ।

निर्वाण गहिरा सुक्तीजस्ता वाक्यहरुले भरिएको छ । ‘साँझ हुन्छ, विहान हुन्छ, यसरी नै जीवनचिहान हुन्छ’ एउटा उदाहरण मात्रै हो ।

शङ्कराचार्यको चर्पटमञ्जरिका स्त्रोत्रको सार मुखरित भएको छ यहाँ । ‘कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन’ भन्ने गीतादर्शनको भाव उपन्यासकी मूल पात्र श्वेताको जीवनमा देखिन्छ । ग्रामबाालाका रुपमा प्रवेश गरेकी ऊ चित्रकलाका कारण निकै सम्पन्न पनि भई । विश्व भ्रमणमा निक्लँदा पानीजहाज दुर्घटनामा परी । कर्म गरी उपभोग गर्नबाट वञ्चित भई । यही हो नियतिकृत नियम रहित भनेको । विपश्यनाभित्रको पश्यना पनि छ निर्वाणमा ।

‘मन एवं मनुष्याणां कारण बन्धमोक्षयो’ अर्थात् बन्धनमा पर्नु र मुक्त हुनु दुबैको कारण मन हो भन्ने भावलाई सरल शब्दमा ‘दु:खी ठाने दु:खी हुन्छौं सुखी ठाने सुखी’ भनिदिएको छ निर्वाणले ।

सबभन्दा महत्त्वपूर्ण कुरा त के भने शाकाहारी बन्न प्रेरित गरेको छ यसले जुन अध्यात्मको प्राण हो । मदिरा पान गर्ने मोनिका शाकाहारी हुनु र अन्त्यमा मदिरा पनि त्याग्नु यसको प्रमाण हो । समुद्रमा म पात्रलाई माछाले खाएन । भन्छ, ‘माछाले मलाई खाएन किनभने म पनि माछा खान्न ।’

व्यक्तिलाई शाकाहारी बनाउने साँचो देख्छु म यो अभिव्यक्तिमा । हुन पनि विश्वका अधिकांश दार्शनिक र वैज्ञानिकहरू शाकाहारी भएको प्रमाण छ हामी सामु ।

लहडी छोरालाई आदर्श पिताका प्रवचन उपनिषद्का सूक्तिभन्दा कम छैनन् । यिनै पूर्वीय दर्शनका आदर्श नयाँ पुस्तालाई बुझाउन खोजेको छ निर्वाणले । यिनै भ्रम चिर्ने जमर्काे गरेको छ निर्वाणले । मोक्षको यात्रा बुढो भएपछि होइन युवावस्थामै गर्नुपर्छ भनेको छ यसले । वर्तमानमा नर–नारी बीचको प्रकृतिप्रदत्त आकर्षणलाई चेतन मनले जति दबाए पनि अवचेतन हावी भएपछि मानिस उम्कन नसक्ने यथार्थ रहस्यमय तरिकाले भेट भएकी श्वेतासँग भएको प्रणय सम्बन्धले पुष्टि गरेको छ ।

‘तेन त्यक्तेन भुञ्जिता’ भन्छ उपनिषद् । माने भोगपछि मात्र त्याग्न सकिन्छ । निर्वाणले यसलाई पनि गहिरो अर्थमा बुझाएको छ पाठनकलाई । तत्त्वबोध भएपछि युवतीका भावभङ्गीमाले बोधीको मन विचलित नहुनु यसको प्रमाण हो ।

सुरा, सुन्दरी, सिनो र कसिनो (जुवाघर) को मृगतृष्णालाई मात्र साहित्य मान्ने कथित आधुनिक विकृत संस्कृतिलाई पार गर्ने माध्यम हो निर्वाण १  बगर, बस्ती, वन र वाटिकामा व्यभिचारको खेती गर्न मात्र सिकाउने साहित्यबाट माथि उठेको छ निर्वाण । वेदान्त दर्शनको ब्रह्मसत्यं जगत्मिथ्याको सरल सटिक प्रस्तुति यसमा छ । उपनिषदको रसो वैस: पनि यसैमा छ । भगवान बुद्धको ‘अप्प दीपो भव’ यसको मूल मन्त्र हो ।

नाभिबाट निस्केको चाँदी जस्तो प्रकाशपुञ्जको माध्यमबाट मणिपुर चक्रको रहस्यलाई संकेत गरेका छन् लेखकले । आशा गरौं मूलाधार, स्वाधिष्ठान, अनाहत, विशुद्धि आज्ञा र सहस्रार चक्रको रहस्य पनि खुलोस् साहित्यमा । अब उत्तर आधुनिकतावाद मात्र होइन अध्यात्मवादले समेत यसै गरी स्थान पाउनेछ साहित्यमा । निर्वाणले झैं अब साहित्यले काम वाणबाट आहत युवा मनका लागि ध्यान, ज्ञान र साधनाको मार्ग चित्र कोर्ने रामवाणको काम गरोस्, त्यो पनि अमोघ । उपदेशका तीन शैलीमा सबैभन्दा लोकप्रिय कान्ता सम्मित उपदेश हो जो निर्वाणको आवरण तस्वीरले नै बोलिरहेछ ।

प्रकाशित : श्रावण १०, २०७३ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?