कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

वीरगन्जको कथा चितवनमा

चितवन — यहाँको उद्योग वाणिज्य संघको सभाहलमा आइतबार वीरगन्ज सहरबारे चर्चा गरियो । साहित्यकार, पाठक र सञ्चारकर्मीमाझ ‘वीरगन्ज मेरो सहरको कथा’ बारे जानकारी दिन वरिष्ठ पत्रकार नारायण वाग्ले र लेखक गिरीश गिरी उपस्थित थिए ।

वीरगन्जको कथा चितवनमा

 

‘हामीले नगरे कसले गर्ने’ र सुनगाभा बुक हाउसद्वारा आयोजित थियो कार्यक्रम । 

‘गिरीश र म २५ वर्षदेखि सँगै छौं,’ वाग्लेले भने, ‘उनले वीरगन्जबाट पत्रकारिता सुरु गरे, मैले काठमाडौंबाट ।’ उनले गिरीशको प्रशंसा गर्दै किताबबारे थपे, ‘लेखाइ सरल छ । झन् उनले कला शैलीका बारेमा लेख्ने भएकाले किताबमा नौलोपन छ । कथ्य शैली महत्त्वपूर्ण छ । किताब पत्रकारले लेखेकाले शैली पनि पत्रकारी छ ।’ 

पाठकहरूको जिज्ञासामा वाग्लेले भने, ‘शीर्षकमा कथा भनिए पनि यो गाथा हो । 

आफ्नो व्यक्तिगत भोगाइबाट लेखकले लेखनीको सुरुआत गरेका छन् । आँखामा नपर्ने पात्रहरू किताबमा अटाइएका छन् । उनीहरूको छुट्टै कथा छ । गिरीशले देखेभोगेको वीरगन्ज सहर चिनाउने नयाँ खालको लेखन छ । वीरगन्जको राजनीति, भूगोल र संस्कृति सबै पुस्तकमा अटाइएको छ । अनौपचारिक रूपमा फिचर लेखन शैली हुर्काइएकाले पत्रकारका लागि यो किताब उपयोगी छ ।’

उक्त किताबमा इतिहासका कुरा थोरै रहेको उल्लेख गर्दै गिरीशले चाहिँ भने, ‘धेरैजसो मैले भोगेका पात्रहरूको कथा छ ।’ उनले पुस्तक अंश वाचन पनि गरेका थिए । 

साहित्यकार एलबी क्षेत्रीले लेखन संस्कृति र पठन संस्कृति अहिले बढिरहेको बताए । कवि भूपिनले गिरीशले पुस्तक लेखेर वीरगन्जको ऋण तिर्ने काम गरेमा आफूलाई खुसी लागेको सुनाए । साहित्यकार प्रेमविनोद नन्दन, रमेश प्रभात, संगीत आयाम, अजिता अधिकारी, मीनराज वसन्त, लेखराम सापकोटाको समेत उपस्थिति थियो ।

प्रकाशित : चैत्र ८, २०७२ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?