चरीमायालाई सम्मान

काठमाडौं — चेलीबेटी बेचविखनविरुद्धकी अभियानकर्ता चरीमाया तामाङलाई हङकङमा सम्मान मिलेको छ । चेतनामूलक सामाजिक योगदानका लागि उनलाई तामाङ घेदुङ हङकङले सम्मान गरेको हो ।

चरीमायालाई सम्मान

शक्ति समूहकी संस्थापक सदस्य चरीमायालाई नगदसहित सम्मान गरिएको हङकङ घेदुङका अध्यक्ष प्रेम लामा मोक्तानले जनाए ।

हङकङको जोर्डनस्थित कंगन रेस्टुरेन्टमा सम्पन्न सम्मान तथा भेटघाट समारोहमा नेपाली महिला संघ हङकङकी अध्यक्ष रिता गुरुङ, एनआरएन हङकङका अध्यक्ष ललित सुब्बा, हङकङ च्याम्बर अफ कमर्सका अध्यक्ष दसुराम पराजुली, उपाध्यक्ष कमल पौडेल, जनजाति महासंघ हङकङका अध्यक्ष एमबी थापा, घेदुङ उपाध्यक्ष भावेश घिसिङ, सचिव विश्वनाथ घिसिङ लगायतले चरिमायाको योगदानको प्रशंसा गरे ।

चरीमायाले आफ्नो संघर्षका कथा सुनाउँदा कार्यक्रमका सहभागीहरू भावुक बनेका थिए । कुनै समय आफैं मुम्बईको कोठीमा बेचिएकी चरीमाया सन् १९९६ मा उद्धार भएर काठमाडौं आएकी थिइन् । यसपछि उनी शक्ति समूह नामक संस्था खोलेर बेचविखनविरुद्धको अभियानमा लागिन् । यही अभियानकै लागि अमेरिकी सरकारले चरीमायालाई चार वबर्षअघि ‘आधुनिक दासताविरुद्धको नायक’ अवार्ड दिएको थियो ।

‘उहाँको मनछुने कथाले हामी सबैलाई भावुक बनायो,’ हङकङ घेदुङ अध्यक्ष प्रेम लामा मोक्तानले भने, ‘चेलीबेटी बेचविखनविरुद्धको अभियानमा उहाँले निकै ठूलो योगदान पुर्‍याउनुभएको रहेछ ।’ कार्यक्रममा घेदुङ कोषाध्यक्ष किरण स्याङ्बोको पहलमा आर्थिक संकलन गरी चरीमायालाई सम्मान स्वरूप हस्तान्तरणसमेत गरिएको मोक्तानले जनाए ।

प्रकाशित : चैत्र ७, २०७२ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?