२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

डबलीमा मुन्धुम कथा

काठमाडौ — डबलीमा नाटक मञ्चन गर्ने परम्परालाई ब्युँझाउन संगीत-नाट्य प्रज्ञा प्रतिष्ठानले गत महिनादेखि थालेको अभियानलाई दर्शकको लोभलाग्दो साथ मिलिरहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको कमलादीस्थित डबलीबाट सुरु गरिएको अभियानको दोस्रो शृंखला आइतबार वसन्तपुरको डबलीमा प्रस्तुत गरियो ।

डबलीमा मुन्धुम कथा

यसपटक राजन मुकारुङको लेखन र दयाहाङ राईको निर्देशन रहेको नाटक 'घुमि्रएको कपाल' देखाइयो । केही वर्षअघि फ्यामिली थिएटरको अवधारणाअनुरूप मुलुकका विभिन्न भागमा मञ्चन भइसकेको र मण्डला थिएटरमा समेत देखाइसकिएको यो नाटक डबलीमा हेर्न आउनेको घुइँचो थियो ।
लिम्बू समुदायमा प्रचलित र मुन्धुम लोककथामा आधारित नाटकले पारिवारिक प्रेमलाई प्रस्तुत गरेको छ । बाँसको सानो झुप्रोमा एक भाइ र दुई दिदी रमाइलोसँग जीवनयापन गरिरहेका दृश्यबाट सुरु हुने नाटकमा दिदी-भाइबीच होङग्रायो नामक चरा पात्रले अनेक समस्या सिर्जना गरिदिन्छ । जति खाए पनि नअघाउने होङग्रायोविरुद्ध यी तीनजनाले गर्ने संघर्षकै वरिपरि नाटक घुम्छ । अन्त्यमा भाइले चलाखीपूर्वक आफ्नै घुमि्रएको कपाल काटेर रक्सीमा मिसाई होङग्रायोलाई खुवाएर आफ्ना दिदीहरूलाई बचाउँछ ।
प्रकृति र माटोसँग धेरै सम्बन्ध राख्ने पात्रहरू भेटिने अन्य मुन्धुमी लोककथाझैं यसमा पनि मूल पात्र प्रकृति, चराचुरुंगी, पुतली हुन्छन् ।
प्रकृति र मान्छेको जीवनबीचको अन्योन्याश्रति सम्बन्धलाई समेत केलाउन खोजिएको एक घन्टा लामो नाटकको परिवेशलाई वास्तविकता प्रदान गर्न बाँसका घर, तान, भाँडा, बोतल, फूल, लट्ठीजस्ता सामग्री प्रयोग गरिएका थिए । घुमि्रएको कपालवाला भाइको भूमिका राजन खतिवडाले, दिदीको भूमिका सिर्जना अधिकारी र सिर्जना सुब्बा तथा होङग्रायोको भूमिकामा बुद्धि तामाङले अभिनय गरेका थिए ।
व्यवस्थित प्रकाश, थिएटर साउन्ड र स्टेजमा यो नाटक हेरिसकेका दर्शकका लागि भने डबलीको प्रस्तुति फितलै थियो । शनिबारको प्रस्तुतिमा दर्शक धेरै भएकाले पनि संवाद स्पष्टतामा समस्या देखिएको थियो ।
'तर यस्तो नाटक डबलीमा हेर्न पाउँदा खुसी नै लाग्यो,' इन्द्रचोकका निमेष श्रेष्ठले भने, 'पहिला-पहिला डबलीमा नाटक देखाइन्थ्यो भन्ने सुनेको थिएँ, आज हेर्न पाएँ ।'
प्रतिष्ठानले डबली नाट्य परम्परा लोप हुने अवस्थामा पुगेकै कारण अभियानका रूपमा डबली यात्रा थालेको हो । हरेक महिना विभिन्न डबलीमा पुगेर नाटकसँगै गीत र नृत्यसमेत प्रस्तुत गर्ने योजना बनाएको प्रतिष्ठानले यस अभियानलाई देशैभर लैजाने तयारीसमेत गरिरहेको नाट्य विभाग प्रमुख तथा प्राज्ञ रमेशरञ्जन झाले बताए ।
'सधैं नाटक मात्रै हुँदैन,' उनले भने, 'पालैपालो लोकनृत्य र संगीतका प्रस्तुतिहरू पनि हुनेछन् ।'
शनिबारको डबली यात्रामा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा, सदस्यसचिव गणेश रसिकदेखि प्राज्ञ पुष्कर गुरुङसम्मको उपस्थिति थियो । नेपाली लोकनाटक परम्परामा ठूलो स्थान राख्ने डबलीलाई ब्युँझाउने अभियानमा दर्शकको राम्रो साथ मिलेकाले आफूहरू हौसिएको गुरुङले बताए ।

प्रकाशित : पुस १४, २०७१ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?