कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

"बीपीले नारीभाव सजिलै बुझ्नुभयो"

रागिनी उपाध्याय

काठमाडौ — झन्डै चार दशक लामो मेरो कला यात्रामा अनेकौं अविस्मरणीय घटना छन् । यीमध्ये बीपी कोइरालासँग जोडिएका क्षणहरू म कहिल्यै भुल्न सक्दिनँ । मैले पहिलोपटक अग्लो कद र गोरो अनुहारका बीपीलाई दौरा सुरुवालमा देखेकी थिएँ ।

त्यतिबेला म बुबाको माइली औंला समाएर बीपी अघिल्तिर उभिएकी थिएँ । लामो नाक खुम्चाउँदै उहाँ मुसुक्क हाँस्नु भएको अझै याद आउँछ । प्रायः बुबा र उहाँको भेट भइहरन्थ्यो ।
सानैदेखि पढाइमा कमजोर थिएँ म । गणित र विज्ञानको बेला त निद्रा नै लाग्थ्यो । पास हुन हम्मेहम्मे । कला अभिरुचि भने गहिरो थियो । रंगसँग खेल्न र क्यानभासमा कुची चलाउन पाए खुसी हुन्थें । यही भएर स्कुल सकेपछि भारतको लखनऊ फाइन आर्ट युनिभर्सिटी भर्ना भएँ । हरेक क्षेत्रको साधना आफैंमा महत्त्वपूर्ण र गम्भीर हुँदो रहेछ । कला मेरो रुचिको विषय भए पनि सरल थिएन । तर, इच्छाले गरेको काममा संघर्ष गर्दा कठिनाइ पनि सरल लाग्दो रहेछ । बीपी कलाप्रति निकै चासो दिने व्यक्तित्व हुनुहुन्थ्यो । कला र कलाकारप्रतिको उहाँको सम्मान मैले नजिकबाट अनुभूति गरेकी छु । १९७८ को एक दिन नक्सालस्थित नाफामा मेरो पहिलो एकल चित्रकला प्रदर्शनी भइरहेको थियो । चित्रकार लैनसिंह वाङ्देल प्रमुख अतिथि । त्यसबेला बीपी चाबहिल बस्नुहुन्थ्यो नाटककार बालकृष्ण समचाहिँ ज्ञानेश्वर ।
हिँडेरै ज्ञानेश्वर पुगेर बीपीले समलाई भन्नुभएछ- 'रागिनीको चित्रकला प्रदर्शनी छ, हेर्न जाऊँ ।' त्यसपछि मैले प्रदर्शनीमा बीपी र समलाई सँगै देखें । 'राम्रो गर्दै जाऊ, चित्र देखाउन समजीलाई नि दौडाउँदै ल्याएको छु,' बीपीले भन्नुभएको थियो । पहिलो प्रदर्शनीमै बीपीको उत्साहले निकै ऊर्जा दियो । त्यसपछि बीपीसँग त्यस्तै अर्को संयोग लखनऊमा जुर्‍यो । सन् १९८१ को एकल चित्रकला प्रदर्शनीमा उहाँलाई निम्त्याउने मौका पाएँ । मेरो कलायात्रामा त्यो क्षणको छुट्टै महत्त्व पनि छ । ठयाक्कै याद त भएन, त्यतिबेला फस्ट या सेकेन्ड इयरमा अध्ययनरत थिएँ । कलेज पि्रन्सिपल रणवीर विष्ट हुनुहन्थ्यो । अहिले त बितिसक्नुभो । उहाँले अचानक आफ्नो कक्षमा बोलाएर भन्नुभो- 'तिम्रो प्रदर्शनीको उद्घाटन बीपीबाट गराउने है ।'
बीपी नेपालगन्ज आएर बस्नुभएको छ रे भन्ने गाइँगुइँ हल्ला सुन्नुभएको रहेछ पि्रन्सिपलले । मलाई 'तिमी त्यहाँ गएर बीपीलाई प्रदर्शनीमा निम्त्याउनू' भनेर भन्नुभो । मैले त्यसै गरें । भोलिपल्टै टयाक्सी चढेर नेपालगन्ज पुगंे । मनीषा कोइरालाकी मुमाको घरमा बीपी बस्नुभएको रहेछ । उहाँसँगै गिरिजाप्रसाद कोइराला र चन्द्रशेखर पनि हुनुहन्थ्यो । त्यतिबेला पनि बीपी दौरा सुरुवालमै सजिनुभएको देखें । मैले आफ्नो निम्तो दिएँ । उहाँले पहिलो वचनमै मुस्कुराउँदै भन्नुभयो- 'हुन्छ' । प्रदर्शनीमा चन्द्रशेखर बिरामी हुनुभएकाले आउन सक्नुभएन । तर, बीपीसँगै र गिरिजाबाबुचाहिँ आउनु भएको थियो । ब्ल्याक एन्ड ह्वाइट रंगमा कोरिएका तिनताकको चित्रको मुख्य भाव नारी मनोभाव थियो ।
प्रदर्शनीमा प्रायः प्रमुख अथितिलाई प्रत्येक चित्रको एक-एक अर्थ बुझाउनुपर्ने हुन्छ । अहिले पनि त्यो चलन कायमै छ । साहित्य र कलाप्रेमी भएर होला बीपीलाई त्यति धेरै बुझाउनुपरेन । उहाँले उल्टै 'नारीको यति गहिरो भावना चित्रमा कसरी उतार्न सकेकी ?' भन्दै सोध्नुहुन्थ्यो । त्यतिबेला घाँटीको अप्रेसन गर्नुभएको रहेछ बीपीले । सकेसम्म कम बोल्नुहुन्थ्यो र बोल्नै परे पनि निकै संघर्ष गरेर कठिनताका साथ उच्चारण गर्नुहुन्थ्यो । बीपीकै पछि पछि चित्र नियाल्दै गर्नुभएका गिरिजाचाहिँ चित्रको अर्थ सोध्नुभन्दा पनि हेरेर रमाइलो मान्नुहुन्थ्यो । ती दिन साँच्चिकै ऊर्जाशील थिए ।



प्रकाशित : चैत्र २७, २०७० १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?