कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गर्भवती गन्तव्य

सजना बराल

काठमाडौँ — अहिले अमेरिका र क्यानडा गर्भवतीका लागि आकर्षक ‘पर्यटकीय गन्तव्य’ बन्न थालेका छन् । सन्तानको सुरक्षित भविष्यका लागि महिलाहरू गर्भावस्थामा यी दुई ठूला मुलुक पुग्ने गरेका छन् ।

गर्भवती गन्तव्य

त्यहाँ बर्थ राइट सिटिजनसिपको प्रावधान छ, जसले जन्मको आधारमा बच्चालाई आफ्नो नागरिक मान्छ । यही कारण आमा बन्न लागेका महिला उता गएर बच्चा जन्माउन लालायित हुने गरेका छन् । उतै सन्तान जन्माउने अभिप्रायले विदेश घुम्न जानुलाई ‘बर्थ टुरिजम’ भन्ने गरिएको छ ।


बर्थ टुरिस्टका रूपमा अमेरिका जाने नेपालीहरू पनि प्रशस्त छन् । पछिल्लो समय अभिनेत्री निशा अधिकारीलाई यसमा जोड्ने गरिएको छ । क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी उनी गएको पुसदेखि अमेरिकामा छिन् । गर्भवती अवस्थाका आफ्ना तस्बिर फेसबुक र इन्स्टाग्राममा सेयर गरिरहेकी हुन्छिन् । नेपालको प्रदूषणका कारण आफूलाई एलर्जी भएको र खकारमा रगत देखिएपछि बच्चा र आफ्नो स्वास्थका लागि वासिङ्टन डीसी आएको भन्दै उनले गत महिना फेसबुकमा स्टाटस लेखेकी थिइन् ।


‘यो नौ महिना तिमी र तिम्रो सन्तानका लागि मात्र हो,’ उनले लेखेकी छन्, ‘सर्भाइभल र हेल्थ पहिलो, बाँकी सबै कुरा दोस्रो प्राथमिकतामा पर्छन् ।’ भाइसँग बसिरहेकी उनी सम्भवत: उतै सन्तान जन्माउँछिन् । यसो गरेमा साना भेषवाकरलाई अमेरिकाले आफ्नो नागरिक मान्नेछ । त्यसपछि उनले आफू बालिग भएपछि (२१ वर्ष पुगेपछि) माता–पितालाई स्पोन्सर गर्न सक्नेछन्, ग्रिनकार्ड दिलाउन सक्नेछन् । बच्चा स्वयंले चाहिँ अधिकांश अवस्थामा अमेरिकी प्रावधानअनुसार नि:शुल्क शिक्षा, स्वास्थ र अन्य सरकारी सुविधा उपभोग गर्न पाउनेछन् ।


अमेरिकी नागरिक भएपछिका फाइदा मनग्गे छन् । विश्वका ४० भन्दा बढी देशमा भिसाबेगरै घुम्न पाइन्छ, हामी भारत गएजसरी । अमेरिका आउ–जाउ गर्न समस्यै भएन, नि:शुल्क हुन्छ । शैक्षिक छात्रवृत्ति, अनुदान र ऋणका लागि सहज हुनुका साथै रोजगारीमा विदेशीलाई भन्दा नागरिकले बढी प्राथमिकता पाउने भएकाले गरिखान सजिलो हुने नै भयो । (तर, सबै अवस्थामा यो लागू नहुन सक्छ, यिनै सुबिस्ता देखेर अमेरिका/क्यानडा पुग्नेहरूले केही पनि नपाएका उदाहरण उत्तिकै छन् ।)


बर्थ टुरिस्टको अर्को उदाहरण हुन्, लोक गायिका निशा सुनार । नृत्य निर्देशक शंकर बीसीसँग विवाह गरेलगत्तै उनी अमेरिका उडेकी थिइन् । उतै छोरी जन्माइन् । केही समयपछि छोरीलाई विदेश अर्थात् नेपाल पठाएकी थिइन् । उनीहरू नेपाल–अमेरिका आउ–जाउ गरिरहेका हुन्छन् । अभिनेत्री ऋचा घिमिरे निर्देशक पति शंकरसँग सन् २०१२ मा अमेरिका गएकी थिइन् । ‘तुलसी’ फिल्मको प्रचारका लागि त्यता जाँदा अभिनेत्री दुई जिउकी थिइन् । त्यसयता उनीहरू स्वदेश फर्किएका छैनन्, अमेरिकामा बसिरहेका छन् । यस अवधिमा ऋचाले दुई छोरा र एक छोरी जन्माइसकेकी छन् ।


बर्थ टुरिस्टका रूपमा अमेरिका वा क्यानडा पुग्नेहरूमा एसियाबाट चिनियाँ महिलाको संख्या सबैभन्दा बढी रहेको बताइन्छ । हफिङ्टन पोस्टमा प्रकाशित पछिल्लो समाचारका अनुसार विश्वभरबाट बर्सेनि ३६ हजार महिला गर्भावस्थामा अमेरिका जाने गरेकोमा २० हजार त चिनियाँ नै हुने गरेका छन् । प्राय: मध्य वा उच्च वर्गीय परिवारका महिलाले यो बाटो रोज्ने गरेको बताइन्छ । साथै, स्थायी आवासको अनुमति नपाएका वा गैरकानुनी रूपमा अमेरिका वा क्यानडा छिरेकाहरू पनि सन्तानमार्फत ‘लिगल’ बन्न खोज्ने चलन छ ।


भारत, इरान, दुबई, जमाइका, रुस लगायत विश्वभरका महिला बर्थ टुरिस्टका रूपमा यी दुई ठूला मुलुक पुगिरहेको फोब्र्स, एनबीसी लगायत विदेशी सञ्चार माध्यमले जनाएका छन् । बर्थ टुरिस्टले जन्माएको सन्तानलाई अमेरिकातिर ‘एंकर बेबी’ भन्ने गरिन्छ । पछिल्लो अमेरिकी राष्ट्रपति निर्वाचनका बेला यो शब्दावली निकै चर्चित बनेको थियो । राष्ट्रपतिको चुनावताका डोनाल्ड ट्रम्पले आप्रवासी नीति र बर्थ राइट सिटिजनसिप खारेज गर्ने प्रस्तावको क्रममा एंकर बेबी शब्द उच्चारण गरेका थिए । हिलारी क्लिंटनले भने बच्चालाई बच्चा मात्र भन्नुपर्ने र एंकर थपेर तिनको अपमान गर्न नहुने बताएकी थिइन् ।


अमेरिकी सपना पूरा गर्न चाहनेलाई लक्ष्य गर्दै चीनलगायत कतिपय देशमा बर्थ टुरिस्ट एजेन्सी नै खोल्ने गरिएको छ । तिनले ‘तपाईंको बच्चालाई नागरिकता उपहार’ भन्दै विज्ञापन गर्ने गरेका छन् । भ्यानकभर सन पत्रिकाका अनुसार सन् २०१६ मा क्यानडामा २६ वटा ‘बर्थिङ हाउस’ वा अवैध रूपमा खोलिएका ‘म्यार्टनिटी सेन्टर’ सञ्चालनमा थिए । तिनले सन्तान जन्माउन क्यानडा पुगेका महिलालाई शरण र सेवा दिने गरेका समाचारमा उल्लेख छ । यस्ता खबर बाहिर आएदेखि अमेरिका र क्यानडेली सरकारले बर्थ राइट पोलिसीमाथि पुन: विचार गर्ने बताइरहेको छ ।


अमेरिकी वेबसाइट द डेली बिस्टले सन् २०११ मा एंकर बेबीको समाचार छाप्दा केही प्रख्यात व्यक्तिको नाम उल्लेख गरेको थियो । त्यसमा स्ट्यान्ड–अप कमेडियन जोन रिभर्स, खेलाडी मिसेल क्वान, अमेरिकाका लागि राष्ट्रसंघकी दूत निकी हेली, अभिनेत्री रेने जेलवेगर, गायिका/अभिनेत्री नोरा जोन्स लगायत थिए । ‘यिनीहरूलाई एंकर बेबी भन्न ठ्याक्कै नमिल्ला,’ वेबसाइटमा भनिएको छ, ‘तर, यी सबै आप्रवासी अभिभावकका सन्तान हुन् ।’


बर्थ टुरिस्टको विषयलाई लिएर सन् २०१३ मा ‘फाइन्डिङ मिस्टर राइट’ शीर्षकको फिल्म नै बनाइएको थियो । त्यसमा टुरिस्ट भिसामा अमेरिका पुगेकी चिनियाँ महिलाको कथा छ । प्रेमीले धोका दिएपछि उनी अमेरिका जान्छिन् । उनको प्रमुख उद्देश्य कोखको सन्तानलाई उतै जन्म दिने हुन्छ । रोमान्टिक कमेडी विधाको फिल्मले त्यो बेला नै यो विषयलाई चर्चित र सनसनीपूर्ण बनाएको थियो ।

प्रकाशित : चैत्र २८, २०७४ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?