अमेरिका गएका वडाध्यक्ष नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी

कार्तिक ७, २०८१

डम्बरसिं राई

The ward office was locked after the ward president who went to America did not return

खोटाङ — साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल अमेरिका गएर नफर्किएपछि स्थानीयले वडा कार्यालयमा ताला लगाएका छन् ।

२०८० माघ १७ गतेदेखि कार्यालयमा अनुपस्थित भई अमेरिका बसेकाले वडा तथा कार्यालयको काममा प्रभावित भएको भन्दै बुधबार उनीहरुले ताला लगाएका हुन् । वडाको विकास निर्माण तथा वडा कार्यालयको काम प्रभावित भएपछि तालाबन्दी गरेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

गाउँकार्यपालिकाले भीमबहादुर खड्कालाई तीन पटकसम्म कार्यवाहक तोकेको र त्यो अवधि पनि सकिएकाले ताला लगाउन बाध्य भएको भट्टराईले बताए ।  ‘गत साउन २१ गतेको सर्वदलीय बैठकले १५ दिनभित्र वडाध्यक्ष वडामा उपस्थित हुनु पर्ने वा मार्गप्रशस्त गर्नु पर्ने माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थियौं,’ भट्टराईले भने, ‘त्यसपछि गाउँकार्यपालिकाको बैठकले वडा सदस्य भीमबहादुर खड्कालाई कार्यबाहक तोकेर वडाको काम भएको थियो, त्यो पनि असोज २० गते अवधि सकिएपछि हामीले वडामा ताला लगाउनुका साथै सर्वदलीय/सर्वपक्षीय बैठकको प्रतिलिपिसहित गाउँपालिकालाई दिएका हौं ।’

ताला लगाएपछि त्यसको जानकारी तथा सर्वपक्षीय/सर्वदलीय बैठकको निर्णयसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्मिला राईलाई बुझाएको भट्टराईले सुनाए । कांग्रेसका स्थानीय नेता बुद्धिबोल राई, जीवन श्रेष्ठ, एमालेका गोपीकृष्ण खड्का, माओवादी नेता युवराज दुलाल, भोला फुँयाललगायतले तालाबन्दी गरी गाउँपालिकालाई जानकारी गराएको भट्टराईले बताए । यसअघि पनि साउन २१ गते गाउँपालिकालगायत जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । 

वडाध्यक्ष कटवालले ज्येष्ठ वडासदस्य भीमबहादुर खड्कालाई अवधि नतोकी २०८० माघ १९ गते कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर अमेरिका गएका थिए । नागरिकता लिन प्रशासन पुगेका सेवाग्राहीलाई प्रशासनले अवधि नतोकिएका कार्यवाहक वडाध्यक्षले दिएको सिफारिस मान्य नहुने भन्दै फर्काइदिएपछि २०८१ वैशाख २६ गतेदेखि साउन ३० गतेसम्मको कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए । त्यसअवधि सकिएपछि वडासदस्य खड्का कार्यवाहक वडाध्यक्षको जिम्मेवारी लिन अस्वीकार गरेका थिए । तर ०८१ साउन १७ गतेको गाउँकार्यपालिकाको बैठकले खड्कालाई नै ०८१ साउन १८ गतेदेखि साउन ३२ गतेसम्म, ०८१ भदौ ४ गतेको कार्यपालिकाको बैठकले भदौ २० गतेसम्म र त्यसपछि फेरि ०८१ भदौ २३ गतेको कार्यपालिका बैठकले असोज २० गतेसम्मका लागि खड्कालाई नै कार्यवाहक अध्यक्षको जिम्मेवरी दिएको भट्टराईले बताए । ‘पदको दुरुपयोग गरी जनतामाथि अन्याय गरेकाले बाध्य भएर ताला लगाइएको हो,’ भट्टराईले भने । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully