कोशीमा मन्त्रिपरिषद् विस्तार नहुँदा प्रदेशसभा ठप्प

करिब दुई महिनायता प्रदेशसभाको बैठक बस्न सकेन, आन्तरिक भागबन्डा नमिल्दा कांग्रेस अझै सरकारबाहिर 

भाद्र ४, २०८१

पर्वत पोर्तेल

Provincial Assembly stalled due to lack of cabinet expansion in Koshi

विराटनगर — कोशीमा मन्त्रिपरिषद् विस्तार हुन नसक्दा प्रदेशसभाको वर्षे अधिवेशनमा ढिलाइ भएको छ । गत असार ८ मा बैठक बसेर स्थगित भएको प्रदेशसभा करिब दुई महिनायता ठप्प छ । एमाले र कांग्रेसको गठबन्धनमा सरकार गठन भएको छ । तर आन्तरिक भागबन्डा नमिल्दा कांग्रेस अझै सरकारमा सहभागी भइसकेको छैन ।

प्रतिपक्षी दल माओवादीले प्रदेशसभाको बैठक तत्काल सुरु गर्न मुख्यमन्त्री र सभामुखको ध्यानाकर्षण गराएको छ । तर, कांग्रेस सरकारमा सामेल नभएसम्म संसद् चल्ने स्थिति देखिँदैन । ‘कांग्रेसबाट मन्त्रीहरू टुंगो लागेर सरकारमा सहभागी नभएसम्म संसद् चल्ने सम्भावना छैन,’ संसद् सचिवालयका एक कर्मचारीले भने ।

Provincial Assembly stalled due to lack of cabinet expansion in Koshiगत साता मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि कांग्रेसको विशेष आग्रहकै कारण संसद् बैठक बोलाउन सिफारिस नगरिएको जनाएका थिए । कांग्रेसले हालसम्म सरकारमा जाने मन्त्री टुंग्याएको छैन । सभामुख अम्बरबहादुर विष्टले संसद् सुरु गर्न सरकार नै तयार नभएको दाबी गरे । ‘सरकार तयार नभइन्जेल मैले मात्रै बोलाएर पनि काम भएन,’ उनले भने, ‘मुख्यमन्त्री त सदन बोलाउन इच्छुक नै हुनुहुन्छ । तर, सहयात्री दलको कुरा नमिलेर समस्या छ ।’

सभामुख विष्टका अनुसार प्रतिपक्षमा कांग्रेस बस्ने कि नबस्ने ? बस्दा कता बस्ने ? कता सिट प्लानिङ गर्ने त्यो पनि निर्क्योल भएको छैन ।उनका अनुसार माओवादीले सरकार छाडे पनि सत्ता छाडिहालेको अवस्था छैन । ‘त्यो कुरा पनि टुंगो नलागेर हो,’ उनले भने, ‘कांग्रेस सरकारमा आउनेबित्तिकै संसद् बस्ने पक्का छ ।’

कोशी प्रदेशसभाको करिब १९ महिने कार्यकालमा दुई विशेषसहित पाँचपटक मात्रै अधिवेशन आह्वान भएको छ । प्रदेश संसद् सचिवालयका अनुसार ६२ वटा बैठक १ सय १७ घण्टा बसेको छ । बजेटबाहेक अन्य विषयमा खास छलफल भएको छैन । यो अवधिमा धेरै विधेयकमाथि छलफल हुन सकेको छैन ।

माओवादीको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नियमित संसद् बैठक बस्न नसक्दा नागरिकको हकअधिकार कुण्ठित भएको टिप्पणी गरे । चालु बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयनमा पनि असर पुगेको उनको भनाइ छ । नागरिकका सरोकारका विषयबारे छलफल गर्ने थलो नै सञ्चालन हुन नसक्दा प्रदेशभर देखिएको प्राकृतिक विपत्तीलगायत समस्या उठान गर्न नपाएको आङ्बोले बताए ।

उनले सभामुख सरकारको लाचार छायाजस्तो देखिएको बताउँदै सरकार र सभामुख दुवै मिलेर संसद्लाई बन्धक बनाउने काम भएको आरोप लगाए । ‘सरकारले प्रदेशसभालाई बन्धक बनाएर मनोमानी गर्ने र जनआवाजलाई रोक्ने थुन्ने काम गरिरहेको छ, त्यो निन्दनीय छ,’ आङ्बोले थपे, ‘सरकार र सभामुख एकअर्कालाई दोषारोपण गरिरहेका छन्, यसको अर्थ छैन ।’

प्रदेशसभा बस्न नसक्दा सांसदहरूले जनताका समस्याहरू उठान गर्न पाएका छैनन् । संसद्मा दर्ता भएका विधेयकहरू पनि अलपत्र छन् । संसद्का विशेष समितिहरूले पनि अझै नेतृत्व पाउन सकेका छैनन् । कोशीमा १९ महिनामा ६ पटक मुख्यमन्त्री फेरबदल भइसकेको छ । एमाले, कांग्रेस, माओवादीलगायत ठूलासाना दलका ४३ सांसदहरू मन्त्री भइसकेका छन् । उक्त अवधिमा विभिन्न दलको नेतृत्वमा रहेका प्रदेश सरकारका मन्त्रिपरिषद् १३ पटकसम्म विस्तार भइसकेको छ । १४ औं पटक पुनः मन्त्रिपरिषद् विस्तारको तयारी तीव्र छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully