पुथा उत्तरगंगाका हिमाली तथा उच्च पहाडी भेगबाट गोठालाहरू बेंसी झरेपछि यतिबेला यहाँका पाटन र खर्कहरू लगभग निर्जन जस्तै छन्। तर बर्खामा पशुचौपाया हिँडेका पाईलाका डोब र गोठका निसान प्रस्ट भेट्न सकिन्छ।
What you should know
रुकुम पूर्व — बर्खायाममा गुलजार हुने रुकुम पूर्वका अग्ला पाटनहरू यति बेला सुनसान छन् । चिसो याममा बाक्लो तुसारो र कतै–कतै हिउँ पनि परेकाले यहाँको चरन क्षेत्र बन्जरझैं देखिन्छ । तर, बर्खामा पशु चौपाया हिँडेका पाइलाका डोब र गोठका निसान प्रस्टै देख्न–भेट्न सकिन्छ ।
खासगरी पुथा उत्तरगंगा गाउँपालिकाअन्तर्गतका हिमाली र उच्च पहाडी भेग यति बेला निर्जनजस्तै छ । यसको एउटै कारण हो, यहाँ रमाउने गोठाला चिसो बढेपछि बेंसी झरे । अनि घुम्न–रम्न आउनेहरू पनि चिसोकै कारण यता उक्लिएका छैनन् । गाउँपालिकाका तकसेरा, हुकाम, रन्मा, मैकोट र पेल्मालगायतका बस्तीहरूबाट स्थानीय गोठाला बर्खामा पायक पर्ने पाटनतर्फ उक्लिन्छन् ।
हुकामका स्थानीय किसान झलमान बुढा मगरका अनुसार, उनीहरू वर्षको ६ महिना (फागुनदेखि भदौसम्म) लेकाली पाटनहरू (भेडाका लागि चरन) खोज्न उक्लिन्छन् । ‘हाम्रो एकै घरका एक सय बढी भेडा छन् । एउटा बथानमा भने १५ सयदेखि २ हजारसम्म भेडाहरू राख्छौं र ४–५ घरले पालैपालो गोठमा बसेर भेडाको रेखदेख गर्छौं । यसरी गर्दा कामको भार पनि कम पर्छ र गोठमा खान–बस्न पनि सजिलो हुन्छ,’ उनी थप्छन्, ‘लेकमा पुगेपछि हामी एउटा गोठमा एक महिनाजति बस्छौं, त्यहाँ चरन सकिएपछि अर्को ठाउँमा सरेर भेडा चराउँछौं ।’
यो भेगका अधिकांश किसानको लेक–बेंसी यात्रा एकै प्रकारको छ । उनीहरू बर्खामा पाटन उक्लिन्छन् र हिउँदमा चिसो छल्न चरन खोज्दै बेंसी झर्छन् ।
तकसेराका किसान करबहादुर बुढा गोठालाहरू हिउँदमा चरन खोज्दै दाङ आसपासका पहाडसम्म पुग्ने गरेको सुनाउँछन् । असोज पहिलो सातातिर ढोरपाटन नजिकका लेकबाट गाउँ झरेर केही दिन चाडबाडमा रमाएपछि बेंसीतिरको यात्रामा जाने उनको भनाइ छ । ‘हामी त चरन खोज्दै कात्तिक निगल्त (अन्तिमतिर) देखि यात्रामै छौं । भेडाको बथानसँगै हिँडेका हामी यतिबेला थबाङ पुगेका छौं । अबको केही दिनमा रुकुम पश्चिमको मुसीकोट नजिकका पहाडमा पुग्छौं,’ बेंसीको यात्रामा रहेका करबहादुरले भने, ‘रुकुम पश्चिमका पारिला पहाडमा फागुनसम्म बस्छौं अनि त्यसपछि बिस्तारै लेकतिरै उक्लिन्छौं ।’
बागलुङमा पर्ने ढोरपाटन उपत्यका पनि यति बेला लगभग सुनसान छ । यहाँ पनि गोठालाहरू उक्लिएपछि फागुन–चैतदेखि भदौ अन्तिमसम्मै बिछट्टै चहलपहल हुन्छ । यसको तुलनामा यो भेग अहिले सुनसान मानिन्छ । हिउँदमा सुक्खा हुँदा चरिचरन नहुने र चिसो पनि ह्वात्तै बढ्ने भएकाले किसान आफ्ना पशु चौपायासहित करिब ६ महिनाका लागि बेंसी झर्छन् ।
बागलुङको ढोरपाटन नगरपालिकामा पर्ने बोबाङ, अधिकारीचौर, गादीखोलालगायत गाउँका गोठाला हिउँदपछि मात्रै पाटन उक्लिने बताउँछन् । तर, झन्डै एक दशकदेखि ढोरपाटनमै स्थायी रूपमा बस्नेको संख्या बर्सेनि बढिरहेको स्थानीय होटल व्यवसायी जीवन पुन बताउँछन् । ‘करिब १० वर्षअघि त ढोरपाटन निर्जन नै हुन्थ्यो । गाउँका मान्छेहरू टोल–टोलमा चौकीदार राखेर बेंसी झर्थे । तर, अब चौकीदार राख्न छोडिएको छ । किनभने यहाँका सबै टोलमा कुनै न कुनै परिवार बाह्रैमास बस्ने छन् । यसकारण सामान्य चहलपहल कायम छ,’ उनी थप्छन्, ‘बर्खामा २५ सयदेखि ३ हजार घरधुरी बस्ने ढोरपाटन क्षेत्रमा यतिबेला त्यही दुई सय घरधुरी छन् होला । अनि सुनसान त लाग्ने नै भयो ।’
सुक्खा र चिसोका कारण घुम्न आउनेहरूको संख्या पनि यतिबेला ढोरपाटनमा निकै न्यून छ । तर, अब पानी पर्नेबित्तिकै हिउँ पर्ने आशा व्यक्त गर्दै व्यवसायी पुन त्यसपछि मान्छेहरू घुम्न आउने विश्वासमा छन् ।
बिहान ७ बजेतिर घाम झुल्किने ढोरपाटन दिनैभरि घामको न्यानोमा तातिन्छ अनि साँझ ५ बजे आसपास घाम अस्ताएपछि चिसो बढ्छ । स्थानीय डिल्ली भण्डारीले लेकबेंसी गर्न झन्झट हुने भएपछि यहीँ बस्न थालेको बताए । ‘तर यहाँका धेरैजसो घर बन्द नै छन् । हामी फाट्टफुट्ट मात्रै मान्छे छौं । बेंसी झरेकाहरू फागुन–चैतसम्म आइपुग्छन् अनि बल्ल रमाइलो हुन्छ,’ उनले भने ।
यसप्रकारको मौसमी बसाइ यस भेगका किसानका लागि बाध्यता हो । पशु चौपाया पाल्नु र त्यसबाट आम्दानी गरेर घरपरिवार चलाउनुपर्ने भएकाले उनीहरू यो सबै गरिरहेको बताउँछन् । मैकोटकी किसान दिलमाया बुढाले बालबच्चा गाउँमै छोडेर लेकाली खर्क चहार्दै हिँड्नु सहज नभएको सुनाइन् । अहिले गाउँ (मैकोट) मै रहेकी उनी भन्छिन्, ‘खानेपिने, ओढ्ने–ओछ्याउने सबै बोकेर बुकी जान्छौं । जे छ त्यही खान्छौं, रमाउँछौं । हाम्रो सुरक्षा भगवान् भरोसा ।’
अहिले बसिरहेको बेंसीसम्म जसोतसो विकासका आधारभूत पूर्वाधार पुगेको भए पनि लेकाली पाटनमा एउटै गोठमा भेडाबाख्रा सँगै कोच्चिएर बस्नुपर्ने बाध्यात्मक कथा पनि उनले सुनाइन्, ‘कहाँ लेक, कहाँ बेंसी– तुलनै हुँदैन । बेंसीमा आफ्नो माया, लेकमा भेडाको माया लाग्छ ।’
बर्खाको झरी बेहोरेर हिउँदको घाम ताप्न बेंसी झरेका बागलुङ बोबाङका किसान मानबहादुर अदैं पनि हिउँदका दिन बर्खाको तुलनामा सहज हुने बताउँछन्, ‘कहाँ बर्खे झरीमा भिज्दै चिप्लो बाटोमा गाईबाख्राको पुच्छर समातेर हिँड्ने दिन अनि कहाँ अहिलेको यो घाम ताप्दै पशु चौपायालाई यताउता अलमल्याएर बसिरहेका सुखारी दिन । तुलनै हुन्न जस्तो लाग्छ मलाई ।’
यस भेगमा पालिएका एउटा भेडा/च्याङ्ग्रा १५ देखि ३० हजार रुपैयाँसम्ममा बिक्री हुने गर्छ । बाँकी गाई–भैंसी पाल्ने किसानले भने घिउ बेचेर आम्दानी गर्छन् । यहीँबाट भएको आम्दानीले घरपरिवारको खर्च चल्ने बागलुङ बोबाङका किसान पन्थराम विक बताउँछन् । ‘हामी त बर्खामा यहाँबाट ३ दिनको यात्रा गरेर रुकुमको ठाँकुर पाटन पुग्छौं । भैंसीको दूधबाट घिउ जम्मा गरेर बेच्छौं । एक सिजनमा ५० देखि १ लाखसम्मको घिउ बिक्री गर्छौं,’ उनले सुनाए । तकसेराका करबहादुर भन्छन्, ‘पहिलेजस्तो भेडा नै बिक्री हुन्न, भए पनि बार्गेनिङ धेरै गरेर सस्तो मूल्यमा लिन खोज्ने धेरै हुन्छन् । पहिले–पहिले भेडाको त ऊन पनि बिक्री हुन्थ्यो । अब त्यो पनि हुन छोड्यो । यसकारण कमाउन सजिलो छैन ।’
आफ्नो मूल घर छोडेर लेकाली पाटन र खर्क चहार्दै हिँड्ने रुकुम पूर्वका गोठाला किसानको खेतीपानी भने गाउँमै हुन्छ । खासगरी सिजनअनुसार आलु, फापर, मकै, कोदोलगायतका बाली लगाएर घरमा रहेकाहरूले त्यसको रेखदेख गर्ने र लेकमा रहेकाहरूले पशु चौपायाको रेखदेख गर्ने उनीहरू बताउँछन् । लेकमा रहँदा भने बेंसीबाटै बोकेर ल्याएको पिठो–चामलले गुजारा चल्ने उनीहरूको भनाइ छ ।
उता ढोरपाटनमा पनि यतिबेला खासगरी आलु, फापर, गहुँ र जौंको खेती छ । भर्खर आफ्नो मुन्टो जमिनमाथि देखाएको यो खेतीपाती भित्र्याउने बेलासम्म बेंसी झरेका किसान यहाँ उक्लिसक्छन् । र, त्यसअघि बेंसीको खेतीपातीको काम पनि सकिन्छ ।
ढोरपाटनका स्थानीय गोरे भण्डारीले रैथाने खानाहरू यहीँ उत्पादन हुने तर भाते संस्कृति बढेकाले चामल आयात गर्नुपर्ने बताए । यहाँबाट बसाइँ सरेर जाने किसानले सबै पशु चौपाया साथै लिएर र घरमा ताला लगाएरै जाने गरेको पनि उनले बताए । बसाइँ सरेर यसरी लेकबेंसी गर्ने परम्परा सदिऔंदेखि चलिआएको भण्डारी बताउँछन् । ‘यो अहिलेको चलन होइन । हाम्रा बाजे–बराजुले पनि यसैगरी आफ्नो जीविका चलाएका थिए । बरु अब यो कम हुँदै जाँदै छ ।’
भेडा चराउने पाटनहरूमा कुनै पनि सरकारी सुविधा हुँदैन । आफैंले बोकेर ल्याएको अन्नपातले जीविका चलाउने हो । तर, ढोरपाटनमा भने केही वर्षयता विद्यालय, स्वास्थ्य चौकी र विद्युत्लगायत संरचना बनाइएका छन् । यसै कारण बर्सेनि यस ठाउँमा स्थायी बसोबास गर्नेहरूको संख्या बढिरहेको छ ।
