कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

त्यसपछि म सडकबाटै लखेटिएँ

श्रावण २६, २०८१
त्यसपछि म सडकबाटै लखेटिएँ

Highlights

  • भन्छन् नि– दुःखीलाई कहिल्यै सुख हुँदैन । काठमाडौंका मेयर बालेन शाहको ‘सुन्दर’ सहरमा फुटपाथ व्यापारीलाई धूलोजस्तै बढारेर फ्याँकियो । सबै व्यापारी लखेटिए र म पनि लखेटिएँ । 

आमामाथिको घरेलु हिंसा थेग्नै नसक्ने तहमा उकासियो । हिंसा सहेर बस्नुभन्दा आमाले त्यसबाट छुटकारा पाउने अठोट लिनुभयो । विवाह भइसकेपछि महिलाका निमित्त श्रीमान् र उनको घरपरिवार सबथोक हो भन्ने ‘मारे पाप पाले पुण्य’ को मान्यतालाई आमाले लत्याउनुभयो । आफैं पालिने हिम्मत बटुल्दै, श्रीमान् र घरपरिवारको बन्धन तोड्दै उहाँ बाहिरिनुभयो । आमासँगै म र अरू स–साना तीन बहिनी थियौं ।

हामीलाई आमाले कार्कीको पहिचान दिएर काठमाडौंमा हुर्काउन थाल्नुभयो । हामी विश्वकर्मा हौं भन्ने मैले पछि मात्रै थाहा पाएँ । एक दिन मसँगै पढ्ने एक जना राज नामको साथी दलित भएकै कारण विद्यालय छाड्न बाध्य भयो । त्यो घटनापछि आमाले हामीलाई कार्की थर दिनुभएको अन्तर्य केही बुझें । त्यसबेला लाग्यो– धन्न आमाले बेलैमा बुद्धि पुर्‍याउनुभएछ, नत्र म र बहिनीहरू पनि यसैगरी कुनै दिन विद्यालयबाट निकालिने रहेछौं ।

आमा रत्नपार्कको फुटपाथमा मौसमी फलफूल तथा तरकारीहरूको व्यापार गर्नुहुन्थ्यो । जेठी छोरी, केही हुर्कंदै गएकी हुँदा म पनि आमासँगै कहिले कसो रत्नपार्कमा व्यापार गर्न जान थालें । बिहान–बेलुकी व्यापार, दिउँसो पढ्न जान्थें ।

गर्मीको मौसम थियो । २०६८ सालको कुनै एक बिहान सधैं झैं रत्नपार्कमा म र आमा काँक्रो बेच्दै थियौं । गर्मीमा काँक्रो निकै बिक्थ्यो । आमाले एउटा सर्लक्क परेको काँक्रोलाई उही आकारको अरू पाँचवटा चिरा पारिदिनुभयो । नुन र हरियो खुर्सानी पिनेको पेस्ट त्यसमाथि दलिदिनुभयो । त्यसलाई स्टिलको बाटामा राख्दै मेरो हातमा थमाइदिनुभयो– ‘ल, यो बेचेर आइज’ । हेर्दैखेरी कस्तो लोभलाग्दो देखिएको थियो चिरा–चिरामा बाँडिएको त्यो लामा लामा बान्की परेको काँक्रो ।

म बाटाभरि सजिएको काँक्रो बोकेर बाटोमा हिँडिरहेका पैदलयात्रीहरूलाई सोध्दै जान थालें, ‘काँक्रो खानु हुन्छ ?’ पैदलयात्रीहरूमध्ये एक जना परिचित अनुहारसँग मेरो अनपेक्षित झम्काभेट भयो, ‘बाफरे सर ?’ मलाई स्कुलमा पढाउने सरलाई झ्याप्पै भेट्दा म आत्तिएँ, त्यहाँबाट भागें । भाग्दै जाँदा म लडें । काँक्रोका चिराहरू सबै भुइँभरि छरपस्टिए । म हत्त न पत्त उठें । हस्याङफस्याङ गर्दै आमा भएको ठाउँनेर पुगें । आमालाई सबै कुरा सुनाएँ । बेच्नुपर्ने काँक्रो सबै खेर गएकोमा आमाले मलाई गाली गर्नुहुन्छ भन्ने सोचें । उहाँले काँक्रोबारे केही नभनी मेरो अवस्थामा ध्यान दिनुभयो । ‘चोरेर पो खान हुँदैन त, काम गरेर खान कहिल्यै लाज मान्नु हुँदैन’ भनेर सान्त्वना दिँदै मलाई सहज रूपमा सम्झाउनुभयो । काँक्रोको घाटा व्यापारको पीर त आमाले हटाइदिनुभयो । सरसँग भेट हुनुको पीरले भने मलाई पछिसम्म खाइरह्यो– लाऽऽऽ, सरले स्कुलमा सबै साथीहरूलाई भनिदिनु होला कि ?

कार्की थर हामीले सधैं अपनाउन सक्ने स्थिति थिएन । आफ्नै वास्तविक पहिचानसँगै म केही डर, केही हिम्मतका साथ देखा पर्न थालें । जात खोलेपछि कोठा भाडामा बास पाउनै मुस्किल पर्‍यो । निकै कठिनाइपश्चात् कोठा भाडाको बास मिलाउन सक्यौं । यो समाज साँच्चिकै अचम्मको छ । म हिजो कार्की थरकी हुँ भन्दा यही मान्छे थिएँ । आज म विश्वकर्मा हुँ भन्दा पनि यही मान्छे छु । मेरो नामसँगै जोडिएर आएको एउटा थरले मेरो अस्तित्वलाई म मान्छे हो होइन भन्ने विषय निर्धारण गरिदिन्छ । न हामी समाजमा बस्न लायक ठहर्‍याइन्छौं न सिमेन्ट, बालुवा, इँट्टा र रडहरूले बनेको घरहरूभित्रका कोठाहरूमै ! संविधानका अनेक धारा, उपधाराहरूभित्र अक्षरशः लेखिएका समानता, न्याय, भेदभावरहित समाज जस्ता कुराहरू मेरा लागि कहिलेसम्म अक्षरमै कैद रहिरहने हुन् ?

हुर्किंदै जाँदा हाम्रा आवश्यकता पनि बढे । खर्च पनि बढ्यो । आमा एक्लैको मौसमी व्यापारले मात्रै चार जनाको ज्यान धान्न सक्ने कुरै भएन । मैले पनि व्यापार सुरु गर्ने सोच बनाएँ । व्यापारका लागि पुँजी मसँग कसरी हुनु ? भावनात्मक नाता गाँसिएको साइनो–सम्बन्धमा मैले माइजू मानेकी एक जना मनकारी महिला मेरा निम्ति उद्धारकर्ता भएर आइदिनुभयो । उहाँले २० हजार रुपैयाँ सापटी दिनुभयो । उहाँको त्यो सहयोग मेरो पहिलो एकल व्यापारको ‘सिड मनी’ बन्यो ।

उनै माइजू, आमा र म काठमाडौंको मुटु भोटेबहालमा किनमेलमा गयौं । त्यहाँ थोकमा किन्दा सस्तोमा कपडा पाइन्छ भन्ने सुनेको भरमा हामी त्यहाँ पुग्यौं । त्यहाँका पसलहरू चहार्‍यौं । आफ्नो दामअनुसारका सस्ता र प्रयोगमा आइरहने खालका कपडाहरू छानीछानी किन्यौं– मोजा, मास्क, सुरुवाल, टिसर्ट आदि इत्यादि । मेरा ग्राहकहरू मजस्तै निम्न वर्गका हुन् भन्ने ख्याल राखेरै कपडाहरू रोज्यौं । सडकमै मैले व्यापार गर्ने हुँदा मूल्य पनि सोहीअनुसारकै हुनु जरुरी थियो । सडक व्यापारबाट हाम्रो घर धानिँदै आएको हुँदा सडक व्यापारका ग्राहकहरूको मनोविज्ञान र आवश्यकता अनि रुचि मैले बुझेकी थिएँ ।

सडकमा हिँड्दाहिँड्दै वा किनमेलमै आएकाहरूले ५ सयमा दुईजोर लुगा किन्न पाउँदा खुसी हुने जमातहरूसँगै म हुर्किएकी थिएँ । मेरा निम्ति तिनै जमात अपेक्षित ग्राहक थिए । पूरै २० हजारको सामान लियौं हामीले । एकैचोटि धेरै सामान लिने ग्राहकलाई मेजमान गर्ने गरिँदोरहेछ त्यहाँ । मेरो २० हजारको किनमेलले चाहिँ त्यस्तो मेजमान पाएन । यद्यपि मेरा लागि जीवनकै पहिलो ठूलो रकमको किनमेल गरेकी थिएँ ।

होलसेलबाट सामान त लिएर आयौं । अब पसल थाप्नु छ । कहाँ थाप्ने पसल ? बेलुकीपख भयो । विष्णुदेवी स्कुल नजिक गएर व्यापार गर्ने निधो गरें, त्यहाँ गएँ । सडकको एकापट्टिको किनारमा त्रिपाल ओछ्याएँ । सामानहरू मिलाउन थालें । कसैले ‘यहाँ नराख’ भनेर कराएको आवाज आउन थाल्यो । म नसुनेझैं गर्दै सामान मिलाउनमै व्यस्त भइरहें । पहिलो दिनको व्यापार साह्रै निराशजनक भयो । जम्मा तीनवटा मास्क बेचेर तीस रुपैयाँ कमाएर घर फर्कें । म घर पुग्दा आत्तिएँ पनि । मैले व्यापार गर्न सक्दिनँ कि भन्ने डर लाग्यो । तर, बल्लबल्ल सुरु गरेको काम कसरी निराश भइहाल्नू ! घरको गर्जो टार्नु पनि उत्तिकै जरुरी छ । आफ्नो पढाइ पनि अघि बढाउनु छ भन्ने सोच्दै आफूलाई थम्थमाएँ । ‘आज नभए भोलि त होला’ भन्ने सोचेर मैले त्यो दिनलाई बिदा दिएँ, भोलिको सुनौलो बिहानीको पर्खाइमा ।

बीएएलएलबी पढ्न नेपाल ल क्यापसमा इन्ट्रान्स दिएकी थिएँ । नाम निस्कियो । मलाई पढ्नु नै थियो जसरी पनि । तर, त्यहाँ दिउँसो पढ्न जानुपर्ने भयो । भर्ना भएर परीक्षामा राम्रो अंक ल्याउने गरी स्वअध्ययन गरी आवश्यक र भ्याएका बेला हाजिर हुने उपाय छन् कि भनेर पनि सोधिहेरें । त्यो पनि नहुने रहेछ । सेमेस्टर सिस्टम लागू गरिएको हुँदा अनिवार्य हाजिर हुनैपर्ने व्यवस्था गरिएको थियो । गयल भए नतिजामा जोडिने अंक प्राप्त हुन सक्दैनथ्यो । त्यसैले दिउँसो अनिवार्य रूपमा कजेलको कक्षाकोठामा हाजिर भएरै पढ्नुपर्ने भयो । बिहान पढ्न जान पाए दिउँसोभरि मैले केही गरेर कमाउन सक्थें भन्ने सोचेको थिएँ । त्यो योजना सम्भव नहुने भयो । दिउँसोको पढाइ सकेर म बेलुकीको व्यापार गर्दै गएँ । अनेकथरीका ग्राहक आउँथे । कोही राम्रा र किन्नकै लागि आउँथे । कोही भने सामानहरू जाँच्न, तिनको मूल्य थाहा पाउन र सडक व्यापारीहरूसँग जिस्किन मात्रै आएका हुन्थे । कहिलेकाहीं क्याम्पसमा सँगै पढेका साथीहरू पनि आइपुग्थे । उनीहरू सामु पर्दा भने नरमाइलो महसुस गर्थें । कोही बोल्न आउँथे, मजैले बोल्थे । साथीहरू धेरैलाई मैले आफ्ना सामान बेचें । उनीहरू पनि ‘अप्ठ्यारो नमान्नू’ भन्दै किनेर लैजान्थे । कोही भने नदेखेझैँ मतिर पिठ्युँ फर्काइदिएर उभिन्थे वा अर्को व्यापारीकामा जान्थे । उनीहरूसँग भने म खास मतलबै राख्दिनथें ।

आफ्नो घर–व्यवहार टार्नु छ, आफ्नो र बहिनीहरूको पढाइ खर्च जुटाउनु छ । रगतको सम्बन्धै नभएकी माइजूले विश्वास गरेर दिएको पैसा फिर्ता गर्नु छ । त्यसैले जसरी हुन्छ व्यापार होस् भन्ने मेरो चाहना थियो । ‘नेपालीहरूको महान् चाड बडादसैं’ आयो । यो दसैं हामीजस्ताका लागि नै दशा पनि बन्ने गर्छ । तर, जब मैले व्यापार सुरु गरें, त्यही दसैंले मेरा लागि फाइदा पनि गर्‍यो । दसैंमा जुनसुकै वर्गकाले पनि अनिवार्य नयाँ लुगा लगाउनुपर्छ भनिन्छ सायद । खासगरी गरिबहरू यो अवसरमा एकजोर भए पनि नयाँ लुगा जोहो गर्छन् । ठुल्ठूला सपिङ मल, बुटिकहरू हामीजस्ताका लागि हुँदै होइनन् । सानो पुँजी, सानै लगानी, सानै व्यापार । त्यसैले मेरा वर्गका निम्ति मजस्ताहरू नै व्यापारी हुँदा राम्रो हुनेरहेछ । उनीहरूले दसैंका लागि अनिवार्य किनमेल गरिदिँदा मेरो व्यापार फस्टायो ।

सडकमा कपडालगायत अन्य स–साना सामान व्यापार गर्ने क्रममा भेटिने अनेकौं मान्छेमाझ केही भने मेरा नियमित ग्राहक पनि बने । एक जना बाहुन बाजे मेरो पसलको दैनिक ग्राहक थिए । मलाई याद छ, पहिलो दिन उनी स्कुटरमा आएका थिए । उनले मसँग भएको पहेँलो रङको मोजा किने । त्यही क्रममा मेरो परिचय पनि विस्तृतमा सोधिभ्याए । मैले आफू दलित भएको कुरा उनलाई खुलाइनँ । उनले मोजा किनेर लगे । उनलाई हरेक सामान पहेँलो रङको चाहिँदोरैछ, उनी मेरो स्मृतिमै बस्न पुगेका थिए । त्यसपछिका दिनमा उनी सधैंजसो मेरै पसलमा आउँथे । आएपछि खाली हात कहिल्यै फिरेनन्– सानै भए पनि केही न केही किनेरै फर्किन्थे । मलाई भने सधैं एउटै प्रश्नले सोच्न बाध्य बनाइरहेको थियो– ‘बाजेले म दलित हुँ भन्ने कुरा थाहा पाएमा उनको मप्रतिको व्यवहार यस्तै रहिरहला ?’ यो एक अनुत्तरित प्रश्न भएर रह्यो मेरा लागि ।

मैले व्यापार गर्ने सडक मेरा लागि सामान बेच्ने ठाउँ मात्रै थिएन । मजस्तै श्रमजीवीहरूको भेला हुने ठाउँ पनि हो त्यो । दिनैभरि ठेलागाडा गुडाएर थकित भएका श्रमिक जम्मा भएर आ–आफ्ना दुःखसुखका पल साटासाट गर्ने ठाउँ पनि हो त्यो । बस्ने बास र खाने खासको सुनिश्चित नभएकाहरूका निम्ति त्यो आश्रयस्थल पनि हो । त्यो ठाउँले गरिखाने वर्गलाई आत्मनिर्भर बन्ने आधार पनि दिएको छ । म पनि त्यही जमातको अंग बनेकी थिएँ । त्यसैले मेरासामु उनीहरू आफ्ना अनुभूति निर्धक्क खोल्थे, गफिन्थे, हाँस्थे । त्यहाँ एउटा यस्तो जमात थियौं हामी– जो संघर्ष र अनुभवले जोडिएका थियौं । एकअर्काबारे खास थाहा नभए पनि आपसमा भने आफ्नाझैं व्यवहार गर्थ्यौं हामी । हाम्रा लागि कोही थिएनन्, न राज्य, न आफन्त न साथीसँगी । त्यसैले हामी हामी नै आफ्ना हुन पुग्ने रहेछौं त्यहाँ । अनि त्यो भौतिक साथ छुटेपछि फेरि आफ्नाहरू पनि छुट्न पुग्थे ।

मलाई भने त्यही जमातको अंश बनेरै जुनी काट्नु थिएन । मेरा सपनाहरू साकार पार्नु थियो । परिवारले सधैं आधारभूत आवश्यकताकै निम्ति हड्डी घोटीरहनू नपरोस् भन्ने चाहन्थें । त्यसमाथि सडक व्यापारीका रूपमा झेल्नुपर्ने दुर्व्यवहार र अपमानले मलाई बेलाबेला पोल्थ्यो । म भित्री बस्त्रहरू पनि बेच्थें । त्यस्ता बस्त्र तुलनात्मक रूपमा धेरै बिक्री हुन्थ्यो । महिलाहरू सहज रूपमै उज्यालैमा आएर हेर्थे, छान्थे अनि चित्त परेको किनेर लैजान्थे । केटाहरू भने प्रायः रात परेपछि आउँथे । कोही राम्रैसँग किन्ने नियतले आएका हुन्थे, हेर्थे अनि किनेर जान्थे । कोही चाहिँ किन्ने मनसायले आए पनि छिरदिन्थे । कोही साह्रै अचम्मको व्यवहार पनि गर्ने गर्थे । कसैकसैले त हातमा लिएर तन्काउँदै मलाई ‘ठीक हुन्छ कि नाइँ’ भन्दै जानी जानी देखाउँथे । कसैले ‘ट्राइ गरे कसो होला ?’ भन्थे । त्यसबेला तिनलाई त्यहीं मानहानिको मुद्दा हालिदिउँझैं लाग्थ्यो । तर म कानुनी अभ्यास गर्ने थलोमा थिइनँ । न मसँग त्यसो गर्न सक्ने हैसियत नै थियो । थियो त केवल मनभित्र आक्रोश र अपमानबोधको दुखाइ ।

खासमा म त्योबेला एक सडक व्यापारी थिएँ, युवा महिला थिएँ । ती मेरा ग्राहक थिए– केही मात्तिएका, केही उच्छृंखल युवा, केही अधबैंसे उत्ताउला पुरुष थिए । त्यस्तालाई मैले अनौठा खालका ग्राहकका रूपमा राख्दै भड्किएलान् र अर्कोचोटि नआउलान् भनेर धेरै पटक चुपचाप बस्न बाध्य भएकी छु ।

कलेजमा प्रायःजसो ‘असाइनमेन्ट’हरू गरिरहनुपर्थ्यो, ‘प्रजेन्टेसन’ दिइरहनुपर्थ्यो । कजेलको पढाइ र व्यापारको चटारोमा म पिल्सिन पुगें । व्यापारलाई समय दिँदा पढाइमा समय अपुग हुने ! पढाइलाई समय दिँदा बिहान–बेलुकीको छाक टार्न धौधौ पर्ने ! मेरा लागि कुन चाहिँ आवश्यक भनेर रोज्ने ठाउँ नै थिएन । एकातिर भविष्यमा थप व्यावसायिक बन्न पढ्नु अति आवश्यक थियो, अर्कोतिर तत्कालको आवश्यकता पूरा गर्न सडक व्यवसायबाहेक अरू विकल्प थिएन । कहिलेकाहीं लाग्थ्यो, मसँग पनि लगानी गर्ने पैसा भइदिएको भए गार्मेन्ट खोलेर ठूलो मात्रामा व्यवसाय गर्ने थिएँ । मेरो व्यवसायले मलाई मात्रै नभएर अरूलाई पनि रोजगार बनाउन सक्ने थियो, आफ्नो व्यवसायसँगै अरू काम पनि गर्न सक्ने हुनेथिएँ ।

व्यापारमा कहिलेकाहीं थाक्थें । आफैंमा ऊर्जा भर्न कहिलेकाहीं अरूजस्तै भाइरल भइदिउँ कि भन्नेजस्ता रमाइला सोच पनि आउँथ्यो । भाइरल चटपटेवाला, भाइरल चियावाली भनेर धेरै फोटो–भिडियो सामाजिक सञ्जालमा यत्रतत्र देखेपछि मलाई पनि त्यस्तो सोच आएको हो । भाइरल भएँ भने व्यापार धेरै हुन्थ्यो कि ? मेरो मिहिनेतले केही बढी परिणाम ल्याउँथ्यो कि ? यस्ता कल्पना गर्थें । अनि सायद मेरो पढाइका लागि पनि कोही सहयोगी मनकारी पो भेटिन्थ्यो कि ! तर, भाइरल हुन तस्बिर, भिडियोमा आफू र आफ्नो काम उतार्ने रुचि र सीप पनि चाहियो । त्यो दुवैमा म अति अरुचिकर मान्छे हुँ । आफ्नो वास्तविकतालाई कसैले मजाक नबनाओस् भन्नेमा सधैं सचेत रहें म । मसँग मेरा विगत र वर्तमानलाई तस्बिरमा कैद गर्ने सोच कहिल्यै आएन । व्यापार कसरी बढाउने भन्ने सोचसँगै पढाइलाई पनि जसोजतो धान्दै थिएँ । दिनभरि कलेजमा कानुन विषय पढ्यो, ४ बजेपछि सडकमा व्यापार गर्‍यो । मेरो यही दैनिकीमा बानी परिसकेको थियो । दुःखीलाई कहिल्यै सुख मिल्दैन भन्ने उखानझैं भयो मलाई पनि । काठमाडौंका मेयर बालेन शाहको सुन्दर सहरमा फुटपाथ व्यापारीलाई कसिंगर बढारेर फ्याँकेझैं सबै व्यापारीहरू लखेटिए । म पनि लखेटिएँ ।

सडक व्यापारीहरू लखेटिएपछि पक्ष–विपक्षमा अनेक कुरा गरिए, व्याख्या विश्लेषण सुन्न पाइयो । रातारात यहाँको प्राकृतिक सम्पदा र संरचना मास्दै विकासका नाममा कंक्रिट सहर बनाउँदा बढेको सुन्दरता घटाउने हामी सडक व्यापारी पर्‍यौं । हाम्रो व्यापारमा रोक लगाएर सहरको गुमेको सुन्दरता फिर्ता आयो ? सडकको क्षमताभन्दा बढी मात्रामा सवारी साधन ल्याउने र गुडाउने अनुमति दिनेहरूका निम्ति हामीले सडक अस्तव्यस्त बनायौं । हामी लखेटिएपछि सडक खुला भयो ? तपाईंको सहरमा ट्राफिक जाम हुन छाड्यो ?

सत्य के हो भने, कुनै पनि परिवर्तनमा ठूला गाथा बोकेका, बुलन्द भनिने आवाजले म र मजस्ताको स्थितिलाई सम्बोधन गरेन । हाम्रो यथार्थ छाम्ने कोही भेटिएन । कति दिनसम्म म र मजस्ताहरूको घरको चुलो बलेन, कैयौं छाक अनगिन्ती पेटहरू रित्तारित्तै बास बसे, भोकभोकै श्रममा खटिए । सडकदेखि सदनसम्म कसैलाई त्यसको पीडाले छोएन ।

मेरो व्यापारमा बन्देज लागेपछि घरको चुलो चिसियो । भाँडा रित्तोको रित्तै रहे । मेरो भविष्य बनाउने आधार, मेरो शिक्षा बीचैमा थाती रह्यो । के सडक व्यापार गरेरै पेट पाल्नु, पढाइ खर्च जुटाउनु मेरो दोष हो ? यसको जवाफ कोसँग छ ? मेयरसँग ? संसद्सँग ? मन्त्रीसँग ? प्रधानमन्त्रीसँग ?

यो देशको एक नागरिकको हैसियतमा संविधानले मलाई दिएको गाँस, बास, कपासको हक–शिक्षाको हक–रोजगारीको हक हनन भइरहँदा खोइ मेरा निम्ति कानुन ? आफ्नो नागरिकलाई सुरक्षा र संरक्षकत्व प्रदान गर्ने राज्य खोइ ?

बेलुका ७–८ बजेपछि रात्रिकालीन व्यापार गर्न दिनु उचित हो भन्ने सुझाव पनि सुनिन्छ । यदि यस्तो हुने हो भने यो सरासर सडक व्यापारीविरुद्धको प्रपञ्च हो । दिनभरिको कडा परिश्रमले थाकेका श्रमिकले खानपिनको बन्दोबस्त गर्नुपर्ने बेला उत्सव मनाएझैं बजार लगाउनु श्रमजीवीहरूको समय प्रतिकूल हुन्छ । त्यसमाथि पनि घरभित्रैदेखि बाहिरसम्मै असुरक्षित रहँदै आएका मजस्ता महिलाको भौतिक तथा मानसिक सुरक्षाको ग्यारेन्टी राज्यले गर्न सक्छ ?

प्रकाशित : श्रावण २६, २०८१ १०:०८
x
×