दुई दिन बाँच्नका लागि
सयौंपल्ट मर्दै बाँचेको म
आज कहिल्यै नमर्ने गरी मरेको छु
दुर्भाग्य !
हजुरको सभालाई भव्य बनाएर
हजुरको भाषण र दिव्यवाणी मनभरि बोकेर
हजार दुःखहरुले घेरे पनि
छोडेर बसाइँ हिँड्न नसकेको
गाउँ फर्किरहेको म
हठात् दुर्घटनामा परेर
गुमाएँ, सदालाई जिन्दगी
सँगैका साथी
दुःख तार्ने साँघु थाप्न
कोही पुगे–
बालुवाको मैदान, समुद्रको क्षितिज
कोही पुगे–
साकुराको बगैँचा, हिउँफूलको पहाड
म भने अबिराम हिँड्दाहिँड्दै
पार्टीको दर्शन र सिद्धान्तको पछि
अविस्रान्त दौडिँदादौडिँदै
संगठनको मिसन पूरा गर्न
खै ! कहाँ पुगें ?
अनुत्तरित्त छु ।
सायद, आज पुगेको छु म
बाटोदेखि बाटोसम्म
लक्ष्यदेखि लक्ष्यसम्म
जीवनदेखि जीवनसम्म
मृत्युदेखि मृत्युसम्म
अब उप्रान्त मैले
बोक्नुपर्ने छैन– पार्टीको गह्रुँगो झन्डा
लाउनुपर्ने छैन– कसैको विरोधमा चर्का नारा
फाल्नुपर्ने छैन– आक्रोशमा ढुंगा र इँट्टा
खोस्नुपर्ने छैन– छिमेकीको मतदाता परिचयपत्र
साँध्नुपर्ने छैन– कसैमाथि प्रतिशोध
गर्नुपर्ने छैन– कोही कसैको प्रतिरोध
आज यी सबैबाट मुक्त भएको छु
बाबुबाजेले मधेश–पहाड
ढाकरमा बोकेको नुनको भारीभन्दा
कैयौं गुणा गह्रुँगो हुँदो रै’छ पार्टीको झन्डा
उफ् !
यसैको बोझले थिचिएर
उठाउन सकिनछु, सन्तान ‘हुनु’ को कर्तव्य
निभाउन सकिनछु, बाबु ‘हुनु’ को दायित्व
बोक्न सकिनछु, लोग्ने ‘हुनु’ को अस्तित्व
र बाँचेछु, एउटा निकम्मा जिन्दगी
निष्कलंक, निक्खुर क्रान्तिकारी म
मुर्दामा रुपान्तरण भएपछि बोध गर्दैछु
पार्टी र झन्डाको वजन
बिन्ती छ !
हजुरले श्रद्धापूर्वक ओढाउनुभएको यो झन्डा
हटाइदिनुस् मेरो पार्थिव शरीरबाट
दुई दिन बाँच्नका लागि
सयौंपल्ट मर्दै बाँचेको म
मरेपछि पनि
यही झन्डाको बोझले थिचिएर
मरिरहन सक्दिनँ म ।
प्रकाशित : श्रावण २६, २०८१ ०८:५५