लोलिताको ७० वर्ष
Highlights
- भ्लादिमिर नाबोकोभको उपन्यास ‘लोलिता’ संसारभर ५ करोडभन्दा बढी बिकेको छ । जुलाई महिनाभर ‘लोलिता’ आख्यान र फिल्म चर्चाले विश्वसाहित्य एकपटक फेरि तरंगित भएको छ ।
भ्लादिमिर नाबोकोभको उपन्यास ‘लोलिता’ छापिएको ७० वर्ष पुग्यो । यसबीच यो कृति निरन्तर लोकिप्रिय, चर्चित र विवादास्पद छ । सन् १९५५ को सेप्टेम्बरमा पहिलो पल्ट फ्रान्समा प्रकाशित ‘लोलिता’ एक वर्षपछि प्रतिबन्धित भयो । सन् १९५८ मा अमेरिकामा छापिएको तीन हप्तामै एक लाख प्रति बिकेर यसलाई त्यतिन्जेलको सर्वकालीन ‘बेस्टसेलर’ मानियो ।
भनिन्छ, त्यसयता संसारभर यसको ५ करोडभन्दा बढी आधिकारिक प्रति बिकेको छ । अनधिकृत संस्करणहरूको बिक्रीको त गणनै छैन । जुलाई महिनाभर नाबोकोभलाई सम्झँदा ‘लोलिता’ को चर्चाले विश्व साहित्य एकपल्ट फेरि तरंगित हुन पुगेको छ ।
‘लोलिता’मा त्यस्तो के छ जसले गर्दा यसको चर्चा सदाबहार छ ? आलोचकहरूले यसलाई उत्कृष्ट कृतिसमेत भनेका छन् । ‘टाइम’ साप्ताहिकको सय उत्कृष्ट उपन्यास, ला मोन्डे शताब्दी उत्कृष्ट किताब, मोडर्न लाइब्रेरी उत्कृष्ट पुस्तक, बिग रिड उत्कृष्ट पुस्तक आदिका सूचीमा यो अग्र पङ्क्तिमा छ । खासमा यो चरम यौन अपराधलाई प्रेम करार गर्ने उपन्यास हो । यसमा ३७ वर्षे हम्बर्ट १२ वर्षे सौतेली छोरी डोलोरेस हेज उर्फ लोलिताको बाध्यताको फाइदा उठाउँदै बलात्कार गर्छ । उपन्यासको अधिकांश भाग न्यायाधीशसामु यौन अपराधी हम्बर्टको बयान र बचाउका रूपमा छ । हम्बर्टमाथि थुप्रै आरोप लाग्छ । अबोध उमेरकी लोलितालाई बलात्कार गर्नु, आफ्नो कैदमा राख्नु, साथी र नातागोतालाई भेट्न नदिनु, समाजमा नैतिक व्यभिचार फैलाउनु गम्भीर अपराध हुन् । जवाफमा ऊ आफ्नो दुःखपूर्ण बाल्यकाल सुनाउँछ ।
किशोर अवस्थामा आमाको मृत्यु, सानीमासँग बाबुको व्यभिचार, बिहे र उसलाई होस्टल पठाउनु आदिले उसमा कुण्ठा भरियो । ऊभित्र अपराधका जरा त्यहींबाट गाडियो । पश्चिमी समाजको जीवनमूल्य अलग छ । आमाबाबु बच्चाका लागि आफ्नो सुख त्याग्दैनन् । लोलिताकी आमा शार्लोट यही गर्छे । हम्बर्टसित बिहेको प्रस्ताव राखेपछि ऊ छोरीलाई समर क्याम्प र त्यहींबाट सोझै होस्टल पठाउँछे । उनीहरूको बिहे हुन्छ । तर, पहिलो भेटमै हम्बर्ट बगैंचामा अर्धनग्न अवस्थामा घाम तापिरहेकी किशोरी लोलिताप्रति आशक्त भइसकेको हुन्छ । यता पेरिसबाट पतिसँगै अमेरिका नगई हम्बर्टकी पत्नी बेलौरिया रुसी सिपाहीसँग जान्छे । प्रेमीसँग जाँदा ऊ पतिसँग एकै शब्द बोल्दिनँ । हम्बर्ट उसलाई बेइमान भन्छ । तर, ऊ स्वयं कम बेइमान थिएन । किशोर वयमै प्रेमिका अनाबेललाई गुमाएपछि बेलौरियासित बिहेअघि उसले थुप्रै केटीसित संसर्ग गरिसकेको थियो । तिनमा धेरैजसो नगरबधु थिए । भावनात्मक सम्बन्धमा कुनै रुचि नभएकाले ऊ एउटै केटीसित दोस्रोपल्ट फेरि संसर्ग गर्दैनथ्यो । बेलौरियासित पनि कुनै भावनात्मक सम्बन्ध नभएको हम्बर्ट ऊ साथ हुँदा पनि १२–१३ वर्षका बालिकाबाटै ‘सुख’ प्राप्त गर्थ्यो ।
हम्बर्टको डायरी पढेपछि लोलिताप्रति उसको आशक्तिबारे शार्लोटलाई थाहा हुन्छ । तनावग्रस्त भएर सडक पार गर्न लाग्दा गाडीको ठक्करबाट उसको मृत्यु हुन्छ । हम्बर्टका लागि शार्लोटको मृत्यु सुवर्ण अवसर भइदिन्छ । बालरति उसको यौन उन्मादको स्वभाव हुन्छ । आफ्नो कामनाको लक्ष्य ९ देखि १४ वर्षसम्मकी बालिकालाई ऊ निम्फेट (कामकन्या) भन्छ । अभिभावकको नाताले ऊ लोलितालाई समर क्याम्पबाट लिएर आउँछ । निद्राको औषधि खुवाएर होटलमा बलात्कार गर्छ । लोलितालाई पाउने योजना गर्दा यही औषधि उसले शार्लोटलाई खुवाएर परीक्षण गरिसकेको थियो । सम्बन्ध खुल्ने डरले त्यसपछिका पूरा दुई वर्ष कतै स्थायी रूपमा नबसी कारमा अमेरिका यात्रा गर्छ । होटल, मोटल, गेस्टहाउसमा लोलितासँग यौनक्रिडामा मस्त हुन्छ । आफू लोलिताको बाबु भनेर होटल म्यानेजरको शंका निवारण गर्छ । अमेरिकी जीवनपद्धति, वातावरण र हम्बर्टको यही मनमोजी प्रवृत्तिलाई आलोचकहरूले ‘किशोर अमेरिकासित बूढो युरोपको व्यभिचार’ का रूपमा व्याख्या गरेका छन् । कतिले भने ‘बूढो युरोपसित किशोर अमेरिकाको ऐयासी’ भनेका छन् ।
त्यसपछि ऊ एउटा सानो सहर बेयर्डस्लेमा लोलितालाई स्कुल भर्ना गर्छ । आफ्नो अपराध खुल्ने डरले ऊमाथि कडा निगरानी गर्छ । सम्बन्धबारे मुख नफोर्न लोलितालाई चेतावनी दिन्छ । स्कुलमा नाटक खेलिरहेकी लोलिता गोप्य योजना बुनिरहेकी हुन्छे । उसैको आग्रहमा उनीहरू नाटक छाडेर फेरि भ्रमणमा निस्कन्छन् । एउटा कार लगातार पिछा गरिरहेको हुन्छ । बाटामा लोलितालाई सन्निपात भएर अस्पताल भर्ना गरिन्छ ।
हम्बर्ट मोटेलमा बसिरहेको एक रात ऊ अस्पतालबाट गायब हुन्छे । बल्ल तीन वर्षपछि ऊ लोलिताको चिठी पाउँछ । सत्र वर्षकी लोलिता विवाहित भएर गर्भवती हुन्छे । उसलाई पैसाको ठूलो आवश्यकता छ । हम्बर्ट पैसा दिन तयार हुन्छ । लोलिता नाटककार क्लेयर क्विल्टीसँग भागेकी हुन्छे, जसलाई ऊ पहिलेदेखि नै प्रेम गर्थी । क्विल्टी उसलाई नीलो चलचित्रमा प्रयोग गर्न चाहन्छ । नमानेपछि निकालिदिन्छ । त्यसपछि ऊ रेस्टुराँमा सानोतिनो काम गर्छे । पछि पूर्वसिपाही डिकसँग भेट हुन्छ र उसैसँग विवाह गर्छे । उनीहरू चुर्लुम्म ऋणमा डुब्छन् । हम्बर्ट लोलितालाई आफूसँग जान आग्रह गर्छ । लोलिताले अस्वीकार गरेपछि तनावमा आएर ऊ क्विल्टीको हत्या गर्छ ।
प्रेम र बलात्कार
नाबोकोभ सन् १८८९ को अप्रिल २२ मा रुसको सेन्ट पिटर्सबर्गमा जन्मेका हुन् । पछि यसलाई लेनिग्रान्द भनियो । रुसमा बोल्सेभिक क्रान्तिपछि उनको परिवार क्रिमिया निर्वासित भयो । त्यसपछि जर्मनी, अमेरिका अनि फ्रान्स । सुरुमा उनी रुसीमा लेख्थे, पछि अंग्रेजीमा । ‘लोलिता’ को रुसी अनुवाद उनी आफैंले गरे । सन् १९७७ जुलाई २ मा स्विट्जरल्यान्डमा उनको निधन भयो ।
‘लोलिता’ को कथा वर्णन गर्दा जति सरल लाग्छ, त्यसको संकल्पना त्यत्तिकै जटिल छ । यो मूल वृत्तान्त हो, पूरै उपन्यास होइन । वृत्तान्तको सुरुवातअघि नै उपन्यास ‘प्राक्थन’ बाट सुरु हुन्छ । खासमा यो प्राक्थन उपन्यासकै अंश हो । मनोविज्ञानमूलक पत्रिकाको सम्पादक जोन रे जुनियरको विद्यावारिधि प्रबन्धअनुसार हम्बर्टले यो लेख्न जेलमा ५६ दिन लगाएका थिए । त्यसको केही दिनपछि कोरोनरी थ्रम्बासिसबाट उसको मृत्यु हुन्छ । सन् १९५२ को क्रिसमसमा मृत कन्या जन्माएर लोलिताको पनि निधन हुन्छ ।
हम्बर्ट सम्भ्रान्त आम युरोपवासी वा अमेरिकीको प्रतिनिधि पात्र हो, जसको हरेक ध्येय ‘सुखवाद’ ले प्रेरित हुन्छ । लोलितासँग उसको आकर्षण प्रेम होइन, विसंगत शारीरिक भोक हो । तर, नाबोकोभले यसलाई भन्डाफोर गर्नुभन्दा बढी सहानुभूतिपूर्वक प्रेमकै नाम दिएका छन् । प्रेम र बलात्कारबीचको दूरी उति धेरै हुँदैन तर एकै सिक्काका दुई पाटाझैं यी दुई बिलकुल विपरीत कुरा हुन् । सहमतिमै भए पनि बालिकामाथिको यौन बलात्कार (स्टाच्युटरी रेप) नै ठहर्छ । उपन्यासमाथि अश्लीलता र अनैतिकताको आरोप लाग्यो । अनेकौं विवाद भयो र प्रतिबन्ध लाग्यो । नाबोकोभले त्यसबारे सफाइ दिनुपर्यो । उपन्यासमा लोलितासँग हम्बर्टको ‘यौन–चर्चा’ अति छ । नाफाखोर बजारले लोलिताको नाम यौनाकर्षक किशोरीका रूपमा आधुनिक पप संस्कृतिको अंग बनाइसकेको छ । स्टान्ली कुब्रिक र एड्रिएन लेनजस्ता विख्यात निर्देशकले यसमाथि बनाएका सिनेमा निकै हिट छन् । नाटक र सांगीतिक प्रस्तुति अनगिन्ती भएका छन् ।
विवादको बजारमूल्य
तोल्सतोय, चेखब, गोर्की, इब्सेन, लुसुन, समरसेट मम, जेम्स ज्वाइस, डिएच लरेन्स, थोमस हार्डीजस्ता महान् स्रष्टाले नोबेल नपाउनुलाई नोबेलकै दुर्भाग्य मानिन्छ । अचम्म के छ भने नेपाल र भारतमा प्रकाशित ‘लोलिता’ का संस्करणहरूमा नाबोकोभ नोबेल विजेताका रूपमा प्रचारित छन्, जसमा लेखिएको छ, ‘अश्लीलताको आरोपमा पहिला प्रतिबन्धित, पछि अदालतद्वारा प्रतिबन्ध फुकुवा, नोबेल पुरस्कार विजेता बहुचर्चित उपन्यास’ । यथार्थमा नाबोकोभले यो पुरस्कार पाएकै छैनन् । नोबेल विजेताको सूची तपाईं आफैं जाँच गर्न सक्नुहुन्छ, जसमा नोभाकोबको नाम कतै भेटिन्न ।
बजार अर्थतन्त्रको युगमा यौनजन्य कृतिको बजारमूल्य उच्च हुन्छ । त्यसमाथि विवाद र पुरस्कारको ट्यागले त्यसलाई अझै उच्च बनाउँछ । हामीकहाँ पनि पुरस्कार पाएका कृतिमा त्यसको ट्याग लगाउने चलन छ । नोबेल विजेता भन्ने ठानेरै २० वर्षअघि मैले ‘लोलिता’ अंग्रेजीमा पढेको थिएँ । त्यो छिचोल्न मलाई मुस्किल परेको थियो । झन्डै १५ वर्षअघि त्यसको हिन्दी अनुवाद पढें । मनोज पाकेट बुक्सको त्यस संस्करणमा पनि ‘नोबेल विजेता’ उल्लिखित छ । बजारिया प्रकाशनहरूले निकालेका हरेक नेपाली संस्करणमा यही छ । कहाँसम्म भने भारतीय ज्ञानपीठद्वारा सन् २०१० मा प्रसिद्ध साहित्यिक मासिक ‘नयाँ ज्ञानोदय’ को ‘बेवफाई सुपर विशेषांक– १ र २’ मा पनि यसलाई नोबेल विजेता भनिएको छ । मेरो विचारमा, सुरुमा यसलाई नोबेल विजेता भनेर चर्चा गर्नुमा बजारकै स्वार्थले काम गरेको हुनुपर्छ । पछि तथ्य जाँच नगरी सबैले यही उल्लेख गरे । हल्लाको भरमा मानिसलाई कतिसम्म मूर्ख बनाइन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो यो प्रसंग ।
विवाद र विचार
यौन चर्चा र चित्रणका कारण संसारमा थुप्रै कृति विवादमा परेका छन् । सन् १८५६ मा प्रकाशित गुस्ताब फ्लुबर्टको उपन्यास ‘म्याडम बोभारी’ मा पुँजीवादमा प्रवेश गर्दै गरेको फ्रान्सेली समाजमा एउटी महत्त्वाकांक्षी महिला एम्माको अनगिन्ती विवाहेत्तर सम्बन्ध र खर्चालु स्वभावले निम्त्याउने दुखान्त कथा छ । फ्रान्सेली समाजमा सबैजसो विवाहित जोडीको विवाहेत्तर गोप्य सम्बन्ध हुन्छ भन्ने मोपासाँका कथाहरूमा राम्ररी व्यक्त भएको छ । फ्लुबर्ट र मोपाँसा दुवैका कृतिमाथि नैतिक सवाल उठाएर अनेकौं विवाद भएका छन् । डीएच लरेन्सको ‘लेडी च्याटरलिज लभर’ नारी स्वाधीनताको अर्को दुःसाहसिक उपन्यास थियो । शारीरिक अशक्त पतिकी पत्नी कोन्स्सटान्स रिडले परपुरुषसँग बनाएको सम्बन्धको कथाले अनेकौं विवाद र प्रतिबन्ध निम्त्यायो । नैतिक सवालका सबैभन्दा ठूला आख्यानकार लियो तोल्सतोयको ‘अन्ना करेनिना’ ले समेत थुप्रै नैतिक सवाल झेल्नुपर्यो । प्रेमलाई सामाजिक नैतिकतामा बाँध्न नचाहने अन्ना श्रीमान् र बच्चा हुँदाहुँदै परपुरुषसँग प्रेम गर्छे, उसैबाट छोरी जन्माउँछे र सामाजिक स्वीकृति खोज्छे । यी कृतिले प्रेम र यौनलाई प्राणीको प्रकृतिका रूपमा व्याख्या गर्दै त्यसमाथि सामाजिक नैतिकताको बन्धन उचित हुँदैन भन्ने शक्तिशाली तर्क गर्छन । धुस्वाँ सायमीको उपन्यास ‘गंकी’, गोविन्द गोठालेको ‘के गरेकी शोभा ?’ वा सरस्वती प्रतीक्षाको ‘नथिया’ की नायिकाहरू अनेक पुरुषसित संसर्ग गर्छन् । तिनका लागि त्यो विलास होइन, कठोर बाध्यता हो । कोरियाली निर्देशक किम कि दुकका अराजक यौनसम्बन्ध चित्रण गर्ने सिनेमामा समेत त्यसका बलिया तर्कहरू छन् ।
‘लोलिता’ मा भने हम्बर्टको यौनक्रिडा बालयौन दुराचार र अपराध हो । त्यसको अन्तर्यमा म कुनै विचार, प्रेम र प्राकृतिक स्वभाव भेट्दिनँ । मेरो विचारमा संरचना उच्च साहित्यिक भए पनि ‘लोलिता’ उत्कृष्ट कृति होइन । त्यस्ता कृतिलाई कसरी उत्कृष्ट साहित्य मान्ने, जसमा मानवीयताको कुनै अनुगुञ्जन हुँदैन ! नाबोकोभले हम्बर्टको आशक्तिलाई प्रेमकै रूपमा व्याख्या गरेका छन् । प्रेम त प्रकृति हो । प्रकृतिमा बलात्कार हुँदैन, हुन्छ त केवल प्रेम र यौन ।
प्रकाशित : श्रावण २६, २०८१ ०९:०२