कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

बायल्सको बहादुरी

श्रावण १९, २०८१
बायल्सको बहादुरी

जतिबेला पेरिस ओलम्पिक– २०२४ सकिनेछ, त्यतिबेला दोहोर्‍याएर भनिने एउटा बबाल कथा हुनेछ, सिमोन बायल्सको बहादुरी । अहिले चाहिँ यो ओलम्पिकलाई लिएर त्यो पनि भएन, यो पनि भएन भन्ने जस्ता गुनासो मात्रै बढी सुनिने गरेका छन् ।

कत्ति त यो जत्तिको खराब व्यवस्थापन भएको ओलम्पिक यसअघि थाहा भएसम्म भएकै थिएन भन्नेहरू पनि निस्के । तर, यसबीच पनि २९ वर्षीया बायल्सको प्रदर्शनको कथाले सबैलाई खुसी दिनेछ, आफ्नो जीवनलाई हेर्ने दृष्टिकोण नै फेर्ने मदत गर्नेछ ।

अहिले नै भने हुन्छ, पेरिस ओलम्पिकको सबैभन्दा ठूला स्टार तिनै बायल्स सावित भएकी छन् । त्यसो त उनी यसअघि नै आफैं पनि सुपरस्टार हुन् । यसअघिका ओलम्पिकमा उनले तहल्का पनि मच्चाइसकेकी छन् । त्यो पनि अहिलेको भन्दा चर्को । तर, जसरी उनले ओलम्पिक मात्र होइन, आफ्नो जीवनमै पुनरागमन रचिन्, त्यो नै महत्त्वको मूल कुरा भयो । जिम्न्यास्टिकको अहिलेसम्मकै सबैभन्दा महान् खेलाडी भन्दा हुन्छ, यी अमेरिकी खेलाडीलाई । उनी यो खेलका ‘मोस्ट डेकोरेटेड प्लेयर’ भइन् नै ।

बायल्सले पेरिस ओलम्पिकमा खेल्ने भएपछि नै एक प्रकारको हल्लीखल्ली मच्चिसकेको थियो । यसलाई त्यसै पनि अमेरिकी मिडियाले ‘पुनरागमन यात्रा’ भन्न सुरु गरिरहेको थियो । उनकै खेल हेर्न सिनेमा र संगीतका ठूलठूला स्टारहरू पेरिस फुगेका थिए, जस्तो ः लेडी गागा र टम त्रुस । अरू पनि धेरै । बिल गेट्स पनि पेरिस पुग्नेमा एक थिए । त्यति मात्र होइन, सेरेना विलियम्स र माइकल फेल्स पनि थिए । भनिरहनु पर्दैन, उनीहरू आफैँ ‘स्पोर्ट्स ग्रेट’ हुन् ।

बायल्सको प्रदर्शन पनि आफैंमा उम्दा रह्यो । र, यसक्रममा उनले अमेरिकाका लागि वुमेन्स टिम इभेन्ट्समा स्वर्ण पनि जितिन् । त्यसै पनि ओलम्पिक भनेपछि त्यसको एउटा ठूलो आकर्षण जिम्न्यास्टिकमा हुन्छ । अनि यो जिम्न्यास्टिकमा पनि वुमेन्स टिम इभेन्ट्स सबैभन्दा प्रतिष्ठाको स्पर्धा हुन्छ । त्यसैमा बायल्स अब्बल सावित भइन् । यो स्वर्णको यात्रामा उनलाई साथ दिने अरू खेलाडी थिए, सुनिसा ली, जोर्डन चिल्स, जेड केरी र हेज्ली रिभेरा ।

भरिभराउ एरिनामा बायल्सले सबैभन्दा पहिले भल्टमा सजिला भन्न मिल्ने प्रदर्शन देखाइन् । त्यसपछि बार्स र बिममा आफ्नो लचकदार शरीरलाई खेलाइन् । लगत्तै सबैलाई सबैभन्दा बढी मन पर्ने फ्लोर डिस–प्लेमा दमदार प्रदर्शन दोहोर्‍याइन् । अनि त के चाहियो र ? उनको यत्तिको व्यक्तिगत प्रदर्शन अमेरिकालाई वुमेन्स टिम इभेन्ट्समा स्वर्ण दिलाउन पर्याप्त थियो । जायल्सले खेलिरहँदा सबै मन्त्रमुग्ध देखिन्थे । अमेरिकी टिमकी प्रशिक्षक हुन्, सिसेली लान्डी । उनी पनि मख्ख पर्ने नै भइन् ।

फ्रान्सेली यी प्रशिक्षकले अमेरिकाले स्वर्ण जित्ने निश्चित भएपछि दिएको तुरुन्तैको प्रक्रिया हो, ‘सबैले भन्थे, यो बायल्सको पुनरागमन यात्रा हो । हो नै । अमेरिका यो स्पर्धामा स्वर्ण जित्न चाहन्थ्यो । यो त्यो स्वर्ण हो, जुन अमेरिकाले टोकियोमा जित्न सकेको थिएन ।’ यति भनेपछि तीन वर्ष अगाडि कोराना महामारीबीच जापानको टोकियोमा भएको ओलम्पिकमा फर्कनु नै पर्ने हुन्छ । त्यस ओलम्पिकमा पनि बायल्स सबैभन्दा ठूलो आकर्षण थिइन् ।

सन् २०१६ को रियो डे जेनेरियो ओलम्पिकमा बायल्सले चार स्वर्ण जितेकी थिइन् । त्यसमा एउटा त टिम इभेन्ट्स भइहाल्यो । अर्को अलराउन्ड, भल्ट र फ्लोर एक्सरसाइज थियो । टोकियोमा भने सबैखाले अपेक्षाका बाबजुत उनले एकै रजत र कांस्य मात्र जित्न सकिन् । यो पनि धन्न उनले जित्न सकेकी थिइन् । नत्र खाली हात अमेरिका फर्कने डर थियो । खासमा भएको के थियो त ? खास कथा यही हो । यसलाई बुझ्नु आवश्यक छ ।

उनी अमेरिकाको प्रतिनिधित्व गर्दै टोकियो त पुगिन्, तर खेल्नै सकिनन् । खेल्नबाट नामै फिर्ता लिएको स्थिति थियो । त्यस अर्थमा टोकियो ओलम्पिक– २०२० उनका लागि घोर निराशाको प्रतियोगिता रह्यो । त्यतिबेला उनी २६ वर्षकी थिइन् । केही नभए पनि छ स्वर्ण एक्लैले जित्ने अपेक्षा थियो । तर, त्यस्तो केही भएन । उनी चर्को मानसिक दबाबको सिकार भइन् । उनको त्यो बेलाको स्थितिका लागि प्रयोग हुने अंग्रेजी शब्द हो, ‘ट्वेस्टी’ । यो यस्तो स्थिति हो, जहाँ जिम्नास्टिकका खेलाडीले एकाएक खेल्न बिर्सने हुन्छ ।

यो त लेखिरहनेले लेख्नै बिर्सने, अभिनय गरिरहनेले त्यही बिर्सने जस्तै भयो । यसमा हुने चाहिँ के हो त ? जिम्नास्टिकमा असाध्यै फिट शरीर त चाहियो नै, त्यसलाई निर्देशन र नियन्त्रण गर्ने मस्तिष्क पनि चाहियो । तर, खेल्दा खेल्दै मस्तिष्क र शरीरबीचको सम्बन्ध टुट्छ र खेलाडी अवाक् खान्छ, के गर्ने र के नगर्ने भनेर । विशेषतः यो शरीर जमिनमाथि हावामा कावा खाइरहँदा हुन्छ । त्यसो त यो सबै खेलमा लागू हुन्छ । खेल मात्र के र ? सबैको जीवनमा कुनै न कुनै बेला लागू हुन्छ ।

तर, जिम्न्यास्टिकमा बढी हुन्छ । अनि यो हुन्छ चाहिँ किन ? यसको ठ्याक्कै उत्तर कोहीसँग पनि छैन । खालि केहीखाले अनुमान भने छ । जस्तो, दबाब । उत्कृष्ट प्रदर्शनको चर्को अपेक्षा । यसलाई ‘परफेक्सन’ को चाहना भन्दा हुन्छ । अनि आफ्नोतर्फबाट कुनै पनि सानो भूल नहोस् भनेर गरिने उच्च सतर्कता । सँगसँगै आफ्नै प्रदर्शनमा उठ्ने शंका । यस्तो सबथोक अलि कम अलि बढी हाम्रै दैनिक जीवनमा पनि मज्जाले भइरहेकै हुन्छ । पढाइ र महत्त्वाकांक्षी करियरमा अझ धेरै ।

बायल्सलाई पनि यस्तै भयो । उनले लगभग खेल्नै छाडिन् । त्यस उप्रान्त उनको ओलम्पिक जस्ता ठूलठूला प्रतियोगितामा सहभागितामाथि नै प्रश्न बन्यो । आखिरमा यो यस्तो खेलाडीमा भएको घटना थियो, जसलाई जिम्न्यास्टिकले लगभग सर्वकालीन नम्बर १ महान् खेलाडी भनेर दाबी र गर्व दुवै गर्थ्यो । तर, मुख्य कुरा बायल्सले हार भने मानिनन् । फेरि आफूले आफैंलाई सम्हालिन् र यो सबै लामो यात्राले पेरिसमा गएर सार्थक त खाएको छ, जति बेला अमेरिकाले ‘वुमेन्स टिम इभेन्ट्स’मा स्वर्ण जित्यो ।

खेलकुदका ‘टेक्स्ट बुक’ हरूमा यस्तो स्थितिबाट कसरी बच्ने भनेर केही उपाय पनि दिइएको छ । जस्तो, खेलाडीले फेरि एकपल्ट आधारभूत सुरुवाती चरणबाटै अभ्यास सुरु गर्ने, मनमनै आफूले यसरी खेल्ने भनेर दृश्य तयार पार्ने । त्योभन्दा पनि ठूलो आफूले आफैंलाई शान्त राख्ने । शरीरलाई मस्त आराम दिने । सम्भवतः बायल्सले पनि यस्तै गरिन् होला । साँच्चै उनी के कस्तो प्रक्रियाबाट गुज्रिन ? त्यसबारे कुनै दिन उनकै मुखबाट सुन्न पाइन्छ होला ।

उनले यत्ति ठोस कुरा भने बोलेकी छन् । उनी भन्छिन्, ‘म आफैं अरू सबैलाई आफ्नो मानसिक स्वास्थ्यबारे बोल्नुपर्छ भन्ने मान्छे । तर, मैले आफैं सकिनँ ।’ टोकियोमा भएको त्यही थियो । त्यसपछि उनले दुई वर्ष जति विश्राम लिइन् । विस्तार फेरि खेलमा फर्किन् । गत वर्ष बेल्जियममा भएको वर्ल्ड च्याम्पियनसिपमा चार स्वर्ण जितिन् । यो सबैको अर्थ के हो भने बायल्स जस्तै जो कोही पनि ‘ट्वेस्टी’ को सिकार हुन सक्छ । र, यसबाट बचेर फेरि अब्बल हुन पनि सकिन्छ ।

यसपल्टको पेरिस ओलम्पिकको मूल नारा पनि लगभग यही हो, खेलाडीले आफ्नो मानसिक स्वास्थ्यलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ । कतै यसै कारण केही खराबी त भइरहेको छैन ? सबैले खेल्ने त जित्नकै लागि हो । तर, जित्नु पनि त सबथोक होइन, यदि आफ्नो मानसिक स्वास्थ्य दरिलो रहेन भने । फेरि केही भइहाल्यो भने पनि आफूलाई सच्याउन त सकिन्छ नै । आखिरमा बायल्सले गरेर पनि देखाइन् । यही हो, बहादुर बायल्सको कथा ।

प्रकाशित : श्रावण १९, २०८१ १०:५५
x
×