कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

‘सेलिब्रेटी’ स्वयं ‘सेलिब्रेट’ गरिरहेका छन् ? 

श्रावण १९, २०८१
‘सेलिब्रेटी’ स्वयं ‘सेलिब्रेट’ गरिरहेका छन् ? 

उखान–टुक्काहरू जीवनका सघन निचोडले जन्मिएका मानव हृदयको अनुभवसिद्ध अभिव्यक्ति हुन् । यसमा हजारौं वर्षदेखिका हजारौं हजार मानिसको अनुभवको निचोड खँदिलो भएर बसेको हुन्छ ।

एउटा जटिल दर्शन वा सिद्धान्तको लामो विवरणलाई एउटै छोटो उखानले सुन्दर र सरस भावले सजिलै व्यक्त गर्न सक्छ । जस्तो कि, मनको अवस्था नै प्रधान हो भन्ने गहिरो दर्शन व्यक्त गर्न एक छरितो वाक्यमा भन्नुपरे हामी ‘मन चङ्गा त लोटामा गङ्गा’ नभनी धर पाउँदैनौं । मन क्लेसहरूबाट रहित छ भनेजस्तै परिवेश पनि आनन्दले पूर्ण हुन्छ भन्ने दर्शनको चुरो कुरोलाई यति छोटो उखानले प्रस्टसँग अभिव्यक्त गरेको छ ।

संसारमा जति पनि आनन्दित मानिस छन्, ती मनका मालिक भएकाले आनन्दित हुन सकेका हुन् । जति पनि दुःखी मानिस छन्, मन तिनको मालिक हुनाले ती दुःखी हुन पुगेका हुन् । हजार किसिमको परिस्थिति र हजार किसिमका दुःख भए पनि मूल कारण मनको मालिक्याइँ नै हो ।

यस्तो अद्भुत मनको गति, प्रकृति र स्थितिलाई जसले जति छिटो बुझ्यो उसले उति छिटो दुःखबाट मुक्ति पायो । त, मनको प्रकृति कस्तो छ ? एकदमै मलिलो खेत जस्तै छ । तपाईं खेतमा जे रोप्नु हुन्छ, त्यही फल्छ । केही पनि रोप्नुभएन भने पनि खेत त्यसै बस्दैन, त्यहाँ उसले घाँस र झारपात उमार्छ । मनका सम्बन्धमा पनि ठीक यही नियम लागू हुन्छ । मनलाई केही काम लगायो भने यसले त्यही विचारलाई गहिरो गरी पक्रन्छ । कलामा रुचि राख्नेहरू कलामा, दर्शनमा मन लगाउनेहरू दर्शनमा र प्रविधिमा चासो राख्नेहरू प्राविधिक सीपमा खारिँदै जानुमा मनको यही प्रकृतिले काम गर्छ ।

यस्तो चामत्कारिक शक्ति भएको मनलाई अड्याउन कुनै विचार दिएनौं भने यो बरालिन्छ, खेतले झारपात उमारेजस्तो यसले अनेक तर्कनाहरू जन्माउँछ र दुःख दिन्छ । ‘खाली दिमाख सैतानका घर’ भनिएको त्यसैले हो ।

पतवार खियाउने कोही छ भने निर्देशित दिशामा अलमल नगरीकनै डुङ्गा अघि बढ्छ । पतवार खियाउने कोही छैन भने पनि डुङ्गा त अघि बढ्छ, तर हावाले र छालले जता लैजान्छ त्यतै । त्यसको कुनै गन्तव्य नहुनाले किनारमा यो पुग्दैन, पानीमै यो डामाडोल अवस्थामा यता र उता भड्किन अभिशप्त हुन्छ, यसमा सवार यात्रीले गन्तव्यबाट विमुख हुनाले निकै दुःख पाउँछन् । यही नै माझीबिनाको डुङ्गाको दुर्दशा हो, यही नै यसमा सवार यात्रुको नियति हो । अनिर्देशित मनको अवस्था माझीबिनाको यही डुङ्गासदृश छ । परिस्थितिले जता लग्यो त्यतै भड्किन्छ यो । वरिपरिका मानिसले जसरी चलाउन चाह्यो, त्यसैगरी चल्छ यो । आमरूपमा मानिसहरूको मनको अवस्था यस्तै छ, समयको हावाले र संसारको छालले उनीहरूको मन नामको खाली डुङ्गालाई यत्रतत्र भड्काइरहेको छ । यस्तो अवस्थाका मानिस कसैको सानो लोलोपातो र तालीले पनि मख्ख पर्छन्, कसैको आलोचना र गालीले पनि झनक्क रिसाउँछन् । यिनको खुसी यिनकै हातमा छैन, यिनका रिस पनि यिनकै अधीनमा छैन । अरू कसैले चलाउँछ यिनीहरूलाई । अरू कसैले भड्काउँछ यिनीहरूलाई ।

मन एक भूत हो, जसले काम पाएन भने अनेक वितण्डा गर्छ । जसले मन पैसामा लगाउँछन्, अनेक तरहको उधुम गरेर पैसा पनि कमाउँछन्, कमाइसकेपछि आराम गर्न खोज्दा मन मान्दैन, पैसाकै पछिपछि दौडन्छ । किनभने, उसले तालिम पाएकै पैसाको पछि कुद्न हो, कसैका लागि ऊ किन आराम गरोस् ! थप पैसाको कुनै जरुरतै नपर्ने बिन्दुबाट धेरै अघि बढिसक्दा पनि एकथरी मानिस पैसाकै पछिपछि फेरि–फेरि एकदम दरिद्रजस्तो गरी कुदिरहनाको कारण नै यही हो । सुनको पलङमा अनिद्राको औषधि खाएर रातभरि जागै बस्ने अवस्थामा पुगेका असंख्य धनाढ्यहरूको सार यही हो । आनन्द, सौन्दर्य र यसको भव्य आश्चर्यको कुनै बोध नभई उनीहरूको जीवन सकिन्छ । शक्तिको पछि कुद्नेहरूको अवस्था पनि यही हो, एकपछि अर्को, एकपछि अर्को गर्दै पदहरूको सिँढी चढेकाहरू एक दिन आफूलाई सबै पदहरूबाट ओर्लिएको अवस्थामा पाउँछन् । मन शक्तिको अम्मली भइसकेको हुन्छ यतिबेलासम्म । पद प्राप्त गर्नमै सारा शक्ति लागेकाले, पदहीन हुँदा उनीहरू आफूलाई विषादले घेरिएको अवस्थामा पाउँछन् । जति ठूलो ओहदाको मानिस हो, अवकाशपछि उसको दुःख उति नै ठूलो हुन्छ भन्ने अनेकन मनोवैज्ञानिक खोजबिनले देखाएको छ ।

यो वैश्य युगमा मनोरञ्जनका दुई ठूला क्षेत्र कला र खेलले जति प्रसिद्धि केहीले दिँदैन । किनभने, सारा मानिस दुःखबाट केही क्षणको विश्रामका लागि मनोरञ्जनको सहारा लिन पुग्ने हुनाले नाम र दाम यी दुई क्षेत्रमा मनग्यै छ । मनोरञ्जन भन्नु नै मनको रमाइलो हो । पढाइ, काम र सम्बन्धहरूमा मन नरमाएको हुनाले सिनेमाघर गएर वा फुटबल हेरेर मनलाई अलिकति सामसुम पार्ने अवस्थामा आजको मनुष्य छ । यसले गर्दा कला र खेलले मनग्यै पैसा र प्रसिद्धि कमाउन पुगेको छ । यी दुई क्षेत्रले जति ‘सेलिब्रेटी’हरू कुनै क्षेत्रले पनि जन्माएको छैन मानव सभ्यतामै ।

‘सेलिब्रेटी’ शब्दको अर्थ ख्याल गर्नुभएको छ ? कसैको उपस्थितिमा मानिसहरू ‘सेलिब्रेट’ गर्न अर्थात् रमाउन सके भने, त्यो व्यक्ति ‘सेलिब्रेटी’ हो । जो आफ्नो जीवन आफैं ‘सेलिब्रेट’ गर्न सक्छ, उसका लागि ऊ स्वयं नै ‘सेलिब्रेटी’ हो । नसक्नेका लागि ‘सेलिब्रेटी’ अरू नै भइदिनुपर्छ । पर्दाका नायक नायिका र प्रसिद्धि कमाएका कलाकारहरू, खेलकुदमा सफलता पाएकाहरू र अरू यस्तै कुनै चर्चा बटुल्ने काम गरेकाहरू नै आजका ‘सेलिब्रेटी’हरू हुन् । सारा मानिसलाई रमाइलो गराउने उनीहरू आफैं चाहिँ के रमाइरहेका छन् त ? मनोचिकित्सा र मनोपरामर्शको सेवा प्रदान गर्ने अमेरिकाको ठूलो कम्पनी ‘थ्राइब वर्क्स’ ले तयार पारेका तथ्यहरूले के देखाउँछन् भने, ‘सेलिब्रटी’हरू सामान्य मानिसभन्दा पनि दुःखी छन् । आम मानिसभन्दा ‘सेलिब्रेटी’हरूले ज्यादा लागूऔषध सेवन गर्छन् । आम मानिसमा भन्दा ‘सेलिब्रेटी’हरूमा आत्महत्याको दर उच्च छ । आम मानिसको सम्बन्धभन्दा ‘सेलिब्रेटी’हरूको सम्बन्ध बढी टुटिरहेको छ । यो सबको कारण पनि मनको उही भूत प्रवृत्ति हो । प्रसिद्धि कसैको पनि सधैं एकनास रहँदैन । आज एउटा चर्चाको शिखरमा छ, भोलि त्यहाँ अर्कै आइपुग्छ, पर्सि त्यो ठाउँ झन् अर्कैले लिन्छ । मनको खुराक यही प्रसिद्धि थियो भने त्यो गुम्दा यो मणि हराएको नागजस्तो आहत हुन पुग्छ । यसरी, एउटा बिन्दुमा पुगेपछि न पैसाले, न प्रसिद्धिले, न शक्तिले, न सौन्दर्यले र न सत्ताले नै दुःखलाई रोक्न सक्छ । दुःखलाई रोक्न त, मनलाई मालिक हुनबाट रोक्नुपर्छ ।

(खड्काको हालै प्रकाशित पुस्तक ‘आनन्द संहिता’ बाट’)

प्रकाशित : श्रावण १९, २०८१ १०:०५
x
×