कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

मेसीको आँखामा आँसु किन ? 

श्रावण ५, २०८१
मेसीको आँखामा आँसु किन ? 

Highlights

  • मैदानमा मेसी असाध्यै भावुक देखिए । उनी रोइरहेका थिए, एक सानो बालकझैं । यो दृश्य हेर्नेहरूले स्वाभाविक प्रश्न सोधे– लियोनल मेसी किन पो यसरी रोए होलान् ? पक्कै यसमा ठूलै कारण हुनुपर्छ । त्यसै त किन रून्थे ?
  • अबको विश्व–फुटबलमा मेसीले खेलिरहेका हुने छैनन् । के प्रशंसकहरू मेसीबिनाको फुटबल पनि हेर्न सक्छन् ?

लियोनल मेसी किन पो यसरी रोए होलान् ? विश्व फुटबल यही विषय जान्न चाहिरहेको छ अहिले । फुटबललाई माया गर्नेहरू यसको अर्थ खोज्ने प्रयासमा छन् । अनुमान नानाथरीको भइरहेको छ । भर्खरै सकिएको कोपा अमेरिका–२०२४ को फाइनलका क्रममा मेसी भक्कानिएको सबैले देखे । 

फुटबलले पाएका अहिलेसम्मकै एक सर्वकालीन महान् खेलाडी साह्रै चित्त दुखाएर रोइरहेको देखेपछि प्रश्नसहितको सहानुभूति त बन्छ नै । फेरि उनी मैदानमा नाटक गरिरहने खाले खेलाडी पनि होइनन् । उनलाई नखरा गर्न आउँदैन ।

अमेरिकाको मियामीमा रहेको हार्ड रक स्टेडियममा अर्जेन्टिना र कोलम्बियाबीचको फाइनल थियो । खेलले ६४ औं मिनेट छुँदा प्रतिद्वन्द्वी खेलाडीले छुँदै नछोएको स्थितिमा पनि मैदानमा आफैं लडे । खेल गोलरहित बराबरीकै स्थितिमा थियो । जति बेला जे पनि हुन सक्ने खेल चलिरहेको थियो । मेसीको अनुहारमा अपार पीडा देखिन्थ्यो । उनले खेल जारी राख्नै सकेनन् । उनलाई ‘सब्स्टिच्युट’ गरियो । यसरी कुनै ठूलो महत्त्वको खेलमा उनलाई यसरी मैदान छाड्नुपर्ने स्थिति यसअघि कहिल्यै आएकै थिएन ।

मैदान छाड्ने क्रममा पनि उनी सहज देखिएनन् । बेञ्चमा पुगेर एकछिन बसे । पछि दायाँ घुँडा नराम्रोसँग सुन्निएको देखियो । अर्जेन्टिनी खेलाडीले के सुनाएका छन् भने ‘हाफ टाइम’कै बेला मेसीको घुँडा ठीक स्थितिमा थिएन । सबैलाई लागिरहेको थियो, अब उनले खेल्न सक्ने छैनन् । तर, उनी आफैं मानिरहेका थिएनन्– देशका लागि खेलिरहेको हुँ, जसरी पनि खेल्नैपर्छ भनेर जिद्दी गरिरहेका थिए । तर, केही मिनेटको खेलपछि उनले सक्दै सकेनन् ।

बेञ्चमा बसेको केही क्षणमा टेलिभिजनको पर्दामा यस्तो दृश्य देखियो, जुन धेरै अर्थमा अपेक्षित थिएन । मेसी असाध्यै साह्रै भावुक देखिए । उनले आफूलाई रोक्नै सकिरहेका थिएनन् । उनी साँच्चै रोइरहेका थिए । एक सानो बच्चाजस्तै । यो दृश्य एकै क्षणमा भाइरल जस्तै भयो । अनि सबैले स्वाभाविक रूपमा त्यही प्रश्न सोधे, ‘लियोनल मेसी किन पो यसरी रोए होलान् ?’ यसमा ठूलै कारण हुनुपर्छ । मेसी त्यसै त्यसै किन रुन्थे र ?

पछि खेल भने अर्जेन्टिनाले नै जित्यो । अतिरिक्त समयको खेलमा अर्जेन्टिनाले एक गोल गर्‍यो । लउटारो मार्टिनेजले गोल गरेका थिए । त्यसको मद्दतले अर्जेन्टिनाले कोपा अमेरिका– २०२४ को उपाधि जित्यो । ‘डिफेन्डिङ च्याम्पियन’का रूपमा अर्जेन्टिनाले अमेरिकामा भएको प्रतियोगितामा उपाधिको रक्षा गरेको थियो । त्यसमाथि अर्जेन्टिना विश्व च्याम्पियन पनि त हो । पूरा प्रतियोगितामा अर्जेन्टिना नै सबैभन्दा राम्रो खेल्ने टिम थियो, त्यसैले उसले हकले उपाधि जित्यो ।

त्यही खेलपछि संन्यास लिएका एन्जेल डी मारियाले भनिरहेका थिए, ‘हामीले मेसीका लागि उपाधि जित्न सक्यौं, उनलाई खुसी हुन दिनु ।’ यी डी मारिया मेसीको सानै उमेरदेखिका साथी खेलाडी हुन् । उनलाई जत्ति मेसीबारे कमैलाई थाहा छ । मेसीका लागि पूरा प्रतियोगिता नै सजिलो रहेन । उनको व्यक्तिगत प्रदर्शन त्यति दमदार रहेन, जति हुनुपर्ने थियो । एकै गोल मात्रै गरे, तर त्यो पनि फिक्का खाले थियो । अनि उनी एउटा ‘पेनाल्टी’मा गोल गर्न पनि चुके ।

चोटले दुःख दिन थालेको पनि लामै समय भइसकेको थियो । अब त मेसी हेर्दाहेर्दै ३७ वर्षका भए । लगभग पक्का जस्तै थियो, यो नै उनको अन्तिम कोपा अमेरिका हुनेछ । अब उनले दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता दोहोर्‍याएर खेल्ने छैनन् । प्रश्न खालि के बाँकी थियो भने मेसीले कहिलेसम्म खेलिरहनेछन् ? के उनले अबको विश्वकप खेल्नेछन् त ? यो विश्वकप दुई वर्षपछि हुँदै छ । विश्वकप हुँदासम्म उनी ३९ वर्षका भइसक्नेछन् । साँच्चै के मेसीले अझै फुटबल खेलिरहनेछन् त ?

अमेरिका आएको पनि दुई वर्ष भयो, मेसी । त्यहाँको इन्टर मियामीबाट खेल्नेछन् । अमेरिकाको लिग फुटबल त्यस्तो छैन, जस्तो युरोपको हुने गर्छ । उनले अन्तिम पटक युरोपमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि खेले । त्यस अगाडि त उनको व्यस्त खेल जीवन बार्सिलोनामै बितेको थियो । अमेरिकामा त उनी पेन्सन पकाउनै गएका थिए । यसबीच पनि उनलाई चोटले दुःख दिइरह्यो । तर, मेसी के अमेरिका आए, त्यहाँ फुटबलको लहर नै आयो ।

एउटा डर के तयार भएको छ भने अब साँच्चै आफ्नो खेल जीवनको अन्त्यमा पुगे मेसी । अब उनलाई के राम्रोसँग थाहा भइसकेको छ भने धेरै समय खेल्न सकिन्न । र, आज नभए, भोलि वा भोलि नभए पर्सि त खेल्न छाड्नैपर्ने हुन्छ । अझ भन्दा सुरुआत भएको छ, एउटा अन्त्यको । के मेसीका प्रशंसकहरू उनीबिनाको फुटबल पनि हेर्न सक्छन् ? अथवा भनौं, अबको विश्व फुटबल त्यस्तो हुनेछ, जहाँ मेसीले खेलिरहेका हुने छैनन् ।

सामान्य सुरुआत

एकपल्ट पुराना दिनतर्फ फर्कौं न ! सन् १९८७ मा जन्मेका हुन्, मेसी । रोसारिओ सहरका हुन् उनी । जोर्गे मेसी उनका बुबा हुन्, आमा सेलिआ । सामान्य ठिक्कको परिवार थियो । उनीहरू आधी स्पेनी र आधी इटाली मूलका हुन् । मेसीलाई सानैदेखि फुटबलमा रुचि थियो । चार वर्ष मात्रै के पुगेका थिए, छेउकै क्लब ग्रान्डोलीमा आबद्ध भए । त्यतिबेला अभ्यासका लागि मैदानमा छोड्न आउने र लिन आउने काम हजुरआमा गर्थिन् । तिनको नाम पनि सेलिआ नै थियो । मेसीमाथि उनको ठूलो प्रभाव रह्यो ।

सानोमै हजुरआमालाई गुमाए । सायद मेसी पहिलोपल्ट त्यहीबेला रोए । अहिले पनि मेसी गोल गरिसकेपछि खुसीयाली मनाउने क्रममा माथि आकाशतिर हेर्छन् र हातले आकाशतिरै फर्काउँछन् । यो खासमा उनले आफ्नी हजुरआमालाई देखाएको सम्मान नै हो । छ वर्ष पुगेपछि उनी न्युवेल्स ओल्ड ब्वाइज क्लबसँग जोडिए । मेसीले आजीवन समर्थन गर्दै आएको क्लब भनेकै यही हो । त्यहाँ हुँदा मेसीले केही नभए पनि पाँच सय जति गोल गरे । सबैको प्रिय थिए, मेसी ।

तर, दस वर्ष पुग्दा नपुग्दै उनमा एउटा रोग देखापर्‍यो । त्यसलाई भनिन्छ, ‘ग्रोथ हार्मोन डिफिसिएन्सी’ । यसै कारण मेसी बढ्नै छाडे, शरीर उत्तिको उत्तिकै रह्यो । सुरुमा न्युवेल्स ओल्ड ब्वाइजले नै उपचारका लागि सबै खर्च बेहोर्ने बताएको थियो । तर, पछि क्लबले आफ्नो वचन फेर्‍यो । उपचारमा राम्रै खर्च हुन्थ्यो, परिवारसँग त्यति खचिर्ने हैसियत थिएन । अर्जेन्टिनाको अर्को ठूलो क्लब रिभर प्लेटले पनि उनलाई अनुबन्ध गर्न चाहेको थियो, तर सबै कुरा सुनेपछि त्यो क्लब पनि पछि हट्यो ।

सन् २००० लागिसकेको थियो । मेसीका केही नातेदार बार्सिलोना सहरतिर थिए । उनीहरूले सबै कुरा सुने । त्यसैले मेसीलाई स्पेन ल्याउन चाहे । सुरुमा त बार्सिलोना क्लबले एकैपल्टमा मेसीलाई अनुबन्ध गराउन चाहेको थियो । तर किन हो, यो क्लबले पनि आनाकानी गर्न थाल्यो ! पछि दबाबकै बीच बार्सिलोनाले मेसीलाई बाध्य भएर अनुबन्ध गरेको थियो, त्यो पनि नेपकिनमा । पछि यही सामान्य कागजको टुक्रो विश्वकै सबैभन्दा प्रख्यात नेपकिन बन्यो ।

त्यसपछि त मेसीको सम्पूर्ण परिवार स्पेनमा बसाइँ सर्‍यो । प्रसिद्ध नोउ क्याम्प छेउमै डेरा खोजिएको थियो । नोउ क्याम्प हो, बार्सिलोनाले खेल्ने घरेलु मैदान । असाध्यै प्रख्यात छ यो मैदान । बार्सिलोना समर्थकका लागि तीर्थ जत्तिकै हो यो । सुरु–सुरुमा मेसीलाई साह्रै गाह्रो भएको थियो । उनी बोल्दै बोल्दैन थिए । त्यसैले उनका साथी खेलाडीलाई केसम्म लागेको थियो भने मेसीले बोल्नै सक्दैनन् । पछि क्लबको एकेडेमी ला मासियामा भर्ना भए उनी । र, सुरु भयो, मेसीको वास्तविक कथा ।

मेसी १४ वर्ष पुग्दा नपुग्दै उनको हार्मोनको उपचार भइसकेको थियो । बार्सिलोनाले सारा खर्च थेगेको थियो । मेसी एकाएक असाध्यै राम्रो खेलाडी सावित भए । मेसी सम्मिलित टिमलाई त्यही बेला ‘बेबी ड्रिम टिम’ भनियो । यस्तो किन भन्दा बार्सिलोनाको क्लब इतिहासमै यति बबाल उमेर समूहको टिम बनेकै थिएन । यो टिमले भएभरका खेल जित्यो, सबै उपाधि आफ्नो नाममा लेखायो । अनि १६ वर्ष ४ महिना र २३ दिनको उमेरमा बार्सिलोनाको पहिलो टिमका लागि खेले मेसी ।

सानो शरीर ठूलो शक्ति

बार्सिलोनाबाट सन् २००१ सम्म खेले उनले । यसैबीच त हो, उनले भएभरको ख्याति कमाएको । उनको खेललाई सबैले मन पराए । बार्सिलोनाका लागि खेलेर उनले सबैथोक जिते । जित्न बाँकी केही पनि रहेन सायद । बार्सिलोनाकै लागि खेलेर त हो, उनले आफूलाई फुटबलको सर्वकालीन महान् खेलाडीका रूपमा स्थापित गरेको । आजभोलि यस्ता खेलाडीका लागि ‘गोट’ शब्द प्रयोग गरिन्छ । अर्थात् ‘जीओएटी’ । यसको विस्तारित रूप हो, ‘ग्रेटेस्ट अफ अल टाइम’ ।

यस्तो हुन सक्नुका पछाडि पनि एउटा ठोस कारण छ । र, त्यो हो, उनलाई सानोमै लागेको त्यही रोग । मेसीको शरीर हलक्क बढ्दै बढेन । उनी सानो शरीरमै रोकिए । तर, यसले गज्जबको फाइदा भयो । सानो कदको खेलाडीलाई फुटबलमा एउटा फाइदा हुन्छ– गुरुत्त्वाकर्षण भार शरीरमा कम पर्छ । यसैकारण यस्ता खेलाडीले सर्लक्क चारैतर्फ मोडिएर खेल्न सक्छन् । अग्ला खेलाडीलाई यति गर्न गाह्रै हुन्छ । अनि होचा खेलाडीलाई विपक्षी खेलाडीको ‘ट्याकल’ छल्न पनि उत्तिकै सजिलो हुन्छ ।

तर, मेसीको त्यो सानो शरीरमा पनि कसिलो बल भने थियो । खुट्टा पनि छोटो नै रह्यो । त्यसैले त्यसले तीव्र गति पनि पायो । अनि त्यसैकारण उनी मज्जाले ‘ड्रिब्लिङ’ गर्ने खेलाडी भए । मेसी मैदानमा यताउता गरेर बल सात्तसुत्त सजिलै छलाइहाल्थे । मेसीको खेल जीवनमा प्रशिक्षक पेप ग्वार्डिओलाको भूमिका ठूलो छ । उनले एकपल्ट अनौठो कुरा भनेका छन्– मेसी जति एक्लै दौडिन सक्छन्, त्योभन्दा बढी उनी बल लिएर दौडिन सक्छन् । त्यसैकारण पनि उनको खेल अझ राम्रो भयो ।

फेरि मेसी प्राकृतिक रूपमा बायाँ खुट्टाबाट खेल्ने खेलाडी हुन् । यस्ता ‘लेफ्ट फुटेड प्लेयर’ को खेल त्यसै पनि हेर्न मज्जाको हुन्छ । मेसी भनेपछि फेरि गोल गरिहाल्नुपर्ने खेलाडी हुन् । उनको ‘फिनिसिङ’ नै तगडा ! र, क्षणभरमै निर्णय गर्न सक्ने क्षमता ! कहाँनिर कसरी मौका बन्न सक्छ ? त्यो सुँघेर थाहा पाउन सक्ने ! फेरि उत्तिकै सटीक ‘प्लेमेकर’ पनि । त्यो कस्तो भन्दा ट्याक्क टुक्क मिलाएर पास मिलाइहाल्ने । त्यो पास पनि कस्तो भने साथी खेलाडीलाई गोल गर्न खासै केही पनि गर्नु नपर्ने ! र, गोलभन्दा पास राम्रो हुने !

‘फ्रि किक’ मा पनि उनी उत्तिकै माहिर । यस्तो ‘डेड बल’ अवस्थामा मानवीय पर्खाल तयार पारिन्छ, विपक्षी टिमबाट । ‘ह्युम्यान वाल’ हो, यसको ठ्याक्कै नाम । यस्ता पर्खाललाई पनि छक्याउँदै उनी ‘फ्रि किक’ मा दामी गोल गर्छन् । यसका लागि उनी बललाई घुमाउरो बाटो दिन पनि सिपालु छन्, लगभग केराको आकारमा । पेनाल्टीमा पनि उनलाई महारथ प्राप्त छ । भनेपछि उनीसँग के छैन त ? सबथोक छ । त्यसैले त उनी जादुयी खेलाडी ! नामी दस नम्बरका खेलाडी ! यो सबै कुरा सम्भव भएको बार्सिलोनाबाट खेल्दा नै हो । फेरि बार्सिलोनाको आफ्नै अलग्गै भाषा, अनि राष्ट्रिय भावना पनि । त्यसैकारण मेसी ‘क्याटलान’ छविकै पर्याय भए । तर, एक दिन त्यस्तो पनि आयो, जुन दिन मेसीले बार्सिलोना छाड्नुपर्ने भयो । उनी भन्थे, बार्सिलोना कहिल्यै छाड्नु नपरोस् । तर, त्यो पनि भएन । जति बेला उनले बार्सिलोनाबाट औपचारिक रूपमा बिदा लिए, त्यो बेला पनि उनी रोए । हिक्कहिक्क गर्दै बिदाइमा बार्सिलोनाको बखान गरे । अनि पीएसजीतिर लागे ।

सबैभन्दा सफल खेलाडी

चन्द्रमा सुन्दर त हुन्छ, तर त्यसमा कालो दाग पनि हुन्छ भनेको यही हो । मेसी जत्तिकै राम्रो खेलाडी भए पनि उनीमाथि एउटा आरोप लागिरह्यो– उसले अर्जेन्टिनाका लागि केही पनि जित्न सक्दैन । साँच्चै भइरहेको पनि त्यस्तै थियो । अर्जेन्टिना विश्व फुटबलकै शक्ति थियो, यो देशमा एकसेएक खेलाडी थिए । तर, लामै समय भइसकेको थियो, केही पनि नजितेको । अर्जेन्टिना फाइनल नपुगेको पनि होइन, चाहे त्यो विश्वकप होस् अथवा कोपा अमेरिका । तर, फाइनलमा हार्ने टिम यही हुन्थ्यो ।

तर, यही सबै कुरा तीन वर्ष अगाडि फेरियो, जति बेला मेसीको नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिका जित्यो । अनि लगत्तै कतारमा भएको विश्वकप पनि जित्यो । अब फेरि लगातार दोस्रो कोपा अमेरिकाको उपाधि ! अब के चाहियो र ? मेसी बनेका छन्, विश्व फुटबलकै सबैभन्दा सफल खेलाडी । उनले जत्तिको उपाधि अरू कसैले जित्ने सकेको छैन । सायद जित्ने पनि छैन । मेसी भएका छन्, ‘मोस्ट डेकोरेटेड प्लयेर’ ।

यसअघि यस्तो उपलब्धि ब्राजिली खेलाडी डानी एल्भासको नाममा थियो । मेसीले उनलाई उछिनेका छन् । अहिलेको कोपा अमेरिका मेसीले जितेको ४५ औं उपाधि रह्यो । यही हो, उनको नाममा जोडिएको दुर्लभ कीर्तिमान । सन् २०२१ देखि २०२४ बीच उनको खेल जीवनले कोल्टै नै फेरेको भन्दा हुन्छ, दुई कोपा अमेरिका र एक विश्वकप उपाधि ! बार्सिलोनामा छँदाका स्वर्णिम समयमा उनले चारपल्ट च्याम्पियन्स लिग जिते । अनि दसपल्ट स्पेनी ला लिगा । यसबीच आठपल्ट बेलन डे’अर पनि जिते । ६ पल्ट युरोपेली गोल्डेन बुट पनि । मेसीले जितेका ४५ उपाधिमा ३९ क्लबका लागि रहे । यसमा १२ लिग उपाधि छन्, उनले दुईपल्ट पीएसजीका लागि लिग जिते । यस्तै उनले १७ घरेलु कप प्रतियोगिता पनि जिते । यी कप उपाधि बार्सिलोना र पीएएसजीसँगै इन्टर मियामीका लागि पनि रहेका छन् । सँगसँगै यसमा तीन यूईएफए सुपर लिग र तीनै फिफा क्लब वर्ल्डकप पनि छन् । अर्जेन्टिनाका लागि सन् २००५ मा यू–१७ विश्वकप जिते । सन् २००८ मा ओलम्पिक स्वर्ण पनि । यी सबैभन्दा स्वादिलो त सन् २०२२ कै विश्वकप रह्यो ।

यसरी एउटा खेलाडीका रूपमा मेसीले सबथोक जिते । उनको पछिल्लो उपाधि त यही कोपा अमेरिका–२०२४ नै रह्यो । यसैको फाइनलमा उनले ६८ मिनेटभन्दा पर खेल्न सकेनन् । अनि मेसी नरोएर को रुन्छ त ? एक दिन मेसीले आफ्नो भित्री मनको कुरा खोल्ने नै छन् । र, सारा संसारलाई भन्नेछन्– आफू किन रोएँ ! तर, उनलाई पनि डर त लागिसकेको छ, अब उनको खेल जीवन टुंगिनै लागेको छ । अब धेरै बेरसम्म खेलिरहन सक्ने छैनन् उनी ।

खेलमा एउटा भनाइ छ, खेलाडी दुईपल्ट मर्छ । एउटा त शाश्वत प्राकृतिक मृत्यु नै भयो । अर्को मृत्यु भावनात्मक अर्थात् खेल्न छाड्दाको । अनि यो यस्तो मृत्यु हो, जसलाई आफूले पनि हेर्नुपर्ने हुन्छ । मेसीलाई यसकै डर लागेको छ । यो पीडादायी हुन्छ, भयावह पनि ।

उनलाई पनि राम्रोसँग थाहा छ, अब सुरुआत भइसकेको छ, आफ्नो खेल जीवनको अन्त्यको । मेसीलाई सबैभन्दा मनपर्ने भनेकै फुटबल खेल्न हो, अब त्यही छाड्नुपर्ने दिन आएको छ ।

नत्र मेसी त्यसै बिनाकारण नै रुने मान्छे कहाँ हुन् र ?

प्रकाशित : श्रावण ५, २०८१ १०:१८
x
×