कहाँ छ ब्राजिल ?
Highlights
- विश्व फुटबलका दुई ठूला प्रतियोगिता भइरहेका छन् । चर्चा छ– स्पेन, अर्जेन्टिना, इंग्ल्यान्ड र कोलम्बियाको, तर ब्राजिल कहींकतै छैन ।
ब्राजिली फुटबललाई भइरहेको चाहिँ के छ ? कोपा अमेरिका– २०२४ खेल्न ब्राजिल अमेरिका जान त गएको थियो । तर, क्वाटरफाइनलमै रोकियो । अनि चाँडै घर पनि फर्क्यो । ब्राजिललाई त समूह चरणमै गाह्रो भएको थियो । अबको विश्वकपमा ब्राजिल छनोट भएन भने आश्चर्य नमाने हुन्छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई अप्ठ्यारै भइरहेको छ ।
अब त ब्राजिल फुटबलमा पुरानो ब्राजिल रहेन । ब्राजिलले खेल्दा जित्छ जस्तो पनि हुन छाडेको छ । ब्राजिली फुटबललाई कस्तो रोग लागेको छ, त्यो खोज्ने काम हुनेछ नै ।
तर, अहिले विश्व फुटबलका दुई ठूला प्रतियोगिता भइरहेका छन्, ब्राजिल भने कहींकतै छैन । बरु सारा चर्चा कि स्पेनको छ, होइन भने अर्जेन्टिनाको । कि इंग्ल्यान्डको । कि कोलम्बियाको । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो २०२४ को उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्दै छन् । कोपा अमेरिकातिर भने अर्जेन्टिना कोलम्बियासँग वारपारको भिडन्तमा हुनेछ । एकै दिन दुई ठूला फाइनल । दुई ठूला खेल । यो त एक जुगमा आउने चन्द्रग्रहण अथवा सूर्यग्रहण जस्तै पो रहेको छ ।
जतिले पारखी आँखाले यी दुई प्रतियोगिता हेरेका छन्, तिनले अनुभव गरेकै हुनुपर्छ, फुटबल त असाध्यै फेरिएको छ अचेल । एक दशक अगाडिसम्म फुटबल जस्तो थियो, त्यो अब रहेन । अबको दुई वर्षमा जति बेला विश्वकप हुनेछ र यो सकिने पनि छ, विश्व फुटबलले कोल्टै फेर्नेछ । खेलाडीको पुस्ता हस्तान्तरण त हुनेछ नै, खासमा सबैभन्दा ठूलो परिवर्तन भनेको त वैचारिक हुनेछ । फुटबल किन र कसरी खेल्ने, त्यसमा परिवर्तन आउने छ । एक प्रकारले यसबीच अन्योलता छाउने छ । तर यसमै सुख पनि हुनेछ, फुटबललाई बुझ्दाको ।
पहिलो युरोकै कुरा । अहिले युरोमा सबैभन्दा हट–केक केही छ भने त्यो स्पेन हो । स्पेनले अहिले जर्मन भूमिमा जसरी खेलिरहेको छ, त्यसलाई हेर्दा उसैले उपाधि जितोस् जस्तो लाग्न सक्छ । स्पेनले अहिलेसम्म छ खेल खेल्यो, यी छ वटै लगातार जितेको छ । जति खेल जसरी खेलेको छ, राम्रो खेलेको छ । प्रशिक्षक लुइस डे ला फुन्टेको टिम मजबुत देखिन्छ, आक्रमणमा पनि । रक्षामा पनि । सारमा भन्दा स्पेनले
सुन्दर फुटबल खेलिरहेको छ । टिम नयाँ पनि छ । युवा खेलाडीले भरिभराउ छ । स्पेन ठूलठूला पहाड छिचोलेर फाइनल पुगेको हो, यो पनि बिर्सनुहुन्न ।
समूह चरणमा स्पेनले इटाली, क्रोएसिया र अल्बानिया सम्मिलित समूह सजिलै जित्यो । तीन खेलमा पूरापूर नौ अंक । त्यसपछि सुरुमा जर्जियालाई पन्छायो । त्यसपछि उसले हराएको भनेको दुई ठूला हेभिवेटलाई हो । सुरुमा आयोजक जर्मनी । त्यसपछि फ्रान्स । सेमिफाइनलमा स्पेनले फ्रान्सको सामना गरेको हो, त्यहाँ एक खाले वैचारिक द्वन्द्व नै भयो ।
गोल गर्न बिर्सेको फ्रान्सका प्रशिक्षक डिडिएर डेसक्याम्पको दाबी थियो, जित्नु नै ठूलो हो, किन सबैलाई आकर्षक लाग्ने फुटबल खेल्नुपर्यो ? राम्रो खेलेर हार्नुभन्दा नराम्रो खेलेर जित्नुमा उनलाई ठीक लागिरहेको थियो ।
फ्रान्सेली मिडियाले आफ्नो टिमको प्रदर्शनलाई लिएर खुलेर आलोचना गर्दा डेसक्याम्पको तिनीहरूलाई सल्लाह थियो, मज्जा आएन भने अर्कै खेल हेरे भइहाल्यो नि । स्पेनले राम्रो गरिरहेकै थियो । अन्त्यमा जित स्पेनकै भयो । फ्रान्सलाई मान्न कर लाग्यो नै, यो टिमले मैदानमा राम्रो खेल्नै सकेन । डेसक्याम्प पछि भनिरहेका थिए, सारा दोष उनकै टाउकोमा हाल्दा हुन्छ । कप्तान केयलिन एमबापे भनिरहेका थिए, खेल्नै सकिएन । नराम्रोसँग असफल भइयो । यता इंग्ल्यान्डले तय गरेको बाटो पनि लगभग यस्तै रह्यो, धलमल खाले ।
तर, यो यात्रामा उसले खासै ठूला प्रतिद्वन्द्वीको भने सामना गर्नुपरेन, जस्तो स्पेनले गरेको थियो । केही त्यस्ता मोड पनि आएको थियो, जहाँबाट इंग्ल्यान्ड बाहिरिने खतरामै थियो । इंग्ल्यान्ड इंग्ल्यान्डले डेनमार्क, स्लोभेनिया र सर्बिया सम्मिलित समूह त जित्यो, तर दुई बराबरी खेले । भनेपछि एकै खेल मात्र जितेको थियो, इंग्ल्यान्डले समूह चरणमा । अन्तिम १६ मा स्लोभाकियाविरुद्ध इंग्ल्यान्ड हारबाट केही सेकेन्ड मात्रै टाढा थियो, बल्लतल्ल खेल उसकै पक्षमा रह्यो । स्विट्रजरल्यान्डविरुद्ध प्राप्त जित पनि टाइब्रेकरमा थियो ।
पेनाल्टी सुटआउटमा जस्तै नतिजा पनि आउने डर हुन्थ्यो । नेदरल्यान्ड्सविरुद्ध सेमिफाइनलमा प्राप्त जितमा पनि इंग्ल्यान्डले संघर्ष गर्नै परेको थियो । जसरी इंग्ल्यान्डले खेलिरहेको छ, त्यसको पनि इंग्लिस मिडियाले चर्को आलोचना गरिहेको छ । इंग्लिस प्रशिक्षक गेराथ साउथगेट भने यसलाई सकेसम्म बेवास्ता गर्ने पक्षमा देखिएका छन् । उनी भन्दै थिए, इंग्ल्यान्डले अहिलेसम्म तय गरेको यात्रामा खुसी नहुने पनि के इंग्लिस समर्थक र ? इंग्ल्यान्डले जितिरहेकै छ, अगाडि बढिरहेकै छ, राम्रो खेल्न सकेन भनेर केको ल्याङल्याङ ?
यस्तोमा युरोमा देखिएको वैचारिक माथापच्ची हो, राम्रो खेलेर जित्ने कि ? जसरी पनि जित्ने ? स्टार खेलाडी टिममा छ भन्दैमा धुक्क हुने कि टिम समग्रमा राम्रो बनाउने ? कहींकतै स्टार खेलाडी नै अचेल बोझ हुन थालेको त छैन ? जस्तो एमबापे नै । अझ धेरै हदसम्म क्रिस्टियानो रोनाल्डो नै । खासमा अबको फुटबलमा व्यक्तिगत धेरै स्टार खेलाडी देखिने छैन, किनभने अचेल फुटबल बढी टिममा केन्द्रित छ, एक खास खेलाडीमा होइन । एउटैलाई बढी महत्त्व दियो भने एमबापे जस्तै पो भइन्छ ।
अब यहाँबाट कोपा अमेरिकातिर गइयो भने त्यहाँ दक्षिण अमेरिकी पाराको फुटबल यसपल्ट कमै देख्न पाइयो । लियोनल मेसीको अन्तिम कोपा अमेरिकामा जति प्रमुख खेलाडी छन्, ती सबै आफ्नो व्यावसायिक फुटबल युरोमा खेल्छन् । तिनीहरूलाई युरोपेली शैलीले नराम्रोसँग थिचिसकेको छ, अब उनीहरूले आफ्नो शास्त्रीय शैलीमा खेल्न पनि बिर्सिसके । अब त झन् यो युरोपेली शैली र यो दक्षिण अमेरिकी शैली भन्ने पनि रहेन । अब त पेप ग्वार्डिओला शैली जसरी गरेर व्यक्तिगत पारा पो बढी सुन्न पाइन्छ ।
प्रशिक्षणमा ग्वार्डिओलाका पनि गुरु हुन्, मार्सेलो बिएल्सा । उनी मात्र होइन, धेरैका भन्दा धेरै प्रशिक्षकका प्रत्यक्ष अथवा अप्रत्यक्ष गुरु हुन्, उनी । अर्जेन्टिनी बिएल्सालाई अझ फुटबलका दार्शनिक भन्दा हुन्छ । उनकै नेतृत्वमा त कोपा अमेरिकामा उरुग्वेले खेलेको । अनि यही उरुग्वेसँग त हो, क्वाटरफाइनलमा ब्राजिल हारेको । उरुग्वे स्वयं भने सेमिफाइनलमा कोलम्बियासँग हार्यो । बिएल्साले ग्वार्डिओलाले जस्तो धेरै उपाधि जितेका छैनन् । अझ केही जितेन नै भन्दा हुन्छ, तर उनी आधुनिक फुटबलका महान् विचारक भने पक्कै हुन् ।
यिनै बिएल्साले कोपा अमेरिका चल्दाचल्दै मिडियासामु गज्जब विचार पोखे । यसलाई विस्फोटक नै भन्दा हुन्छ । उनलाई लागिरहेको छ, जसलाई ‘ब्युटिफुल फुटबल’ भनिन्छ, त्यो मर्दैछ । अबको फुटबल हेर्नमा कम आकर्षक हुन थालेका छन् । किनभने सबैलाई जित्नु छ र जितमै अर्थको लाभ पनि जोडिन्छ । उनको भनाइ थियो, ‘यदि फुटबल सुन्दर भएन भने हेर्ने जत्तिकै भए पनि त्यो काम छैन । यो त व्यवसाय मात्रै हुन्छ ।’ उनी के पनि मान्छन् भने फुटबल पाँच मिनेट बराबरको ‘हाइलाइट्स’ होइन । फुटबल योभन्दा धेरै हो ।
बिएल्साको भाषामा यो त संस्कृति हो, आफूलाई अभिव्यक्त गर्ने मैदानी भाषा हो । अझ ठूलो यो त कोही कसैको परिचय हो । यो नै रहेन भने के त फुटबल ? यसपल्टको युरो र कोपा अमेरिकालाई यी विचारसँग जोडेर हेर्दा एकखाले अन्योलता त देखिन्छ नै । यसलाई द्वन्द्व पनि भन्न सकिन्छ । अथवा मतभेद पनि । फुटबलका विद्यार्थीले भने यसमा सुखद् लिन सक्नुपर्छ, यसलाई नजिकबाट हेरेर । अनि बुझेर । यस्तोमा हेर्न होइन त, स्पेनविरुद्ध इंग्ल्यान्ड र अर्जेन्टिनाविरुद्ध कोलम्बियाबीचको फाइनल ?
प्रकाशित : असार २९, २०८१ ०८:४४