कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

पैसा कसले बनायो ? 

उहिले–उहिले संसारमा वस्तुसाग वस्तु साटिन्थ्यो । पैसाको आविष्कारपछि मानव सभ्यताले कोल्टो फेर्‍यो । पैसाको त्यो रोचक इतिहास कस्तो थियो ?
यज्ञ बञ्जाडे

राज्यद्वारा मुद्रा भनी घोषित गरिएको वस्तु नै मुद्रा हो – प्रोफेसर नेप ।
विनिमय माध्यमका रूपमा सर्वमान्य स्वीकार्य मूल्यको मापन तथा सञ्चय गर्ने कुनै पनि वस्तुलाई मुद्रा भनिन्छ – अर्थशास्त्री क्राउथर ।
मुद्रा त्यो वस्तु हो, जसलाई वस्तु तथा सेवाको मूल्य वा अन्य व्यापारिक दायित्वको भुक्तानीमा व्यापक रूपमा स्वीकारिन्छ –अर्थशास्त्री रोबर्टसन ।

पैसा कसले बनायो ? 

अर्थशास्त्रीहरूका यी परिभाषाबाटै स्पष्ट हुन्छ, पैसा (मुद्रा) राज्यद्वारा कानुनी मान्यता प्राप्त त्यो वस्तु हो, जसलाई आम नागरिकले विनिमयको (साटफेर) माध्यमका रूपमा प्रयोग गर्छन् । संसारमा पैसाको आविष्कार हुनुपूर्व विनिमय प्रथा थियो । त्यतिबेला आफूसँग भएको वस्तु दिएर अरूबाट आफूलाई चाहिएको वस्तु साटफेर गरिन्थ्यो । तर, वस्तुहरूको मूल्यांकन प्रणालीमा समानता नहुने, आफूलाई चाहिएको वस्तु अर्कोसँग हुने अनि उसलाई आफूसँग भएको वस्तु आवश्यक नहुने, वस्तुहरू साना–साना इकाइमा विभाजन गर्न नसकिनेलगायत यावत् समस्या भएपछि विनियम प्रथा मानिसलाई सहज भएन । त्यसपछि सबैलाई स्वीकार्य हुने विनिमय माध्यमको खोजी सुरु भयो, जसलाई मुद्रा (पैसा) भनियो ।

सर्वप्रथम पैसा (सिक्का) को थालनी इसापूर्वको छैटौं वा पाँचौं शताब्दीमा ग्रिसबाट भएको मानिन्छ । इसापूर्व ५४६ मा लिदियाका राजा कोरेससले टकसारी (निर्माण) गरेका सिक्का विश्वमा आधुनिक सिक्काको थालनी मानिन्छ ।

मानव सभ्यताको विकाससँगै विभिन्न वस्तुलाई पैसाका रूपमा प्रचलनमा ल्याइयो । सुरुवातमा पशुधन, बाघको छाला, बाँदरको पुच्छर, समुद्रमा पाइने मुगालगायत विभिन्न वस्तुलाई पैसाका रूपमा प्रयोग गरियो । त्यो चरणलाई वस्तु मुद्रा (कमोडिटी मनी) भनिन्छ । त्यसपछि सुन, चाँदी, तामा, पित्तल, फलामलगायत घातुका मुद्रा बनाउन थालियो, जसलाई धातु मुद्रा (मेटालिक मनी) का रूपमा चिनिन्छ । धातुका मुद्रा ओसारपसारमा समस्या भएपछि सहजताका लागि कागजी मुद्रा बनाउन थालियो । यसलाई ‘पेपर मनी’ भनिन्छ । यो अहिले प्रचलनमा छ ।

अहिले कागजी मुद्राको काम गर्ने गरी बैंक तथा वित्तीय संस्थाले विभिन्न कागजात (चेक, निक्षेप प्रमाणपत्र, ग्यारेन्टी पेपर) प्रयोगमा ल्याएका छन् । तिनलाई ‘बैंक मनी’ अवथा ‘क्रेडिट क्रिएसन’ भनिन्छ । पछिल्ला वर्षमा ‘डिजिटल’ मुद्राको चर्चा पनि राम्रौसँग चल्ने गरेको छ । विश्वका धेरै राष्ट्रले आफ्नै ‘डिजिटल’ मुद्रा बनाएर प्रयोगमा ल्याइसकेका छन् । नेपाल राष्ट्र बैंकले पनि ‘एनआरबी डिजिटल करेन्सी’ का लागि अध्ययन थालिसकेको छ ।

समग्रमा संसारभरकै पैसा निर्माणमा पशुधन, माटो, छाला, धातु, कागज, प्लास्टिक आदिको प्रयोग भएको देखिन्छ । यद्यपि अब अभौतिक (डिजिटल) मुद्राको सुरुवात भइसकेको छ, जहाँ वस्तुको प्रयोग हुँदैन । तर, हरेक राष्ट्रले जस्तोसुकै मुद्रा बनाए पनि त्यसमा सर्वमान्य, क्रयशक्ति, कानुनी मान्यता, सञ्चय क्षमता, मूल्यको मापन क्षमता लगायत विशेषता भने रहनुपर्छ ।

पैसा धातुबाट कागजी मुद्रामा रूपान्तरण भइरहँदा मानव जातिले ठूलै संघर्ष गर्नु परेको देखिन्छ । यो प्रसंगमा एउटा कथा निकै चर्चित छ । धातु मुद्राको समयमा एउटा व्यापारी (मानौं ए) ले अर्को व्यापारी (मानौं बी) सँग व्यापारका लागि पैसा बोकेर जाने क्रममा गन्तव्यमा नपुगी बाटोमै तेस्रो व्यापारी (मानौं सी) को घरमा बास बस्नुपर्ने अवस्था आयो । भोलिपल्ट धातु मुद्रा बोकेर ‘बी’ व्यापारीसँग पुग्नुपर्ने थियो । शरीरमा बिसन्चो भएकाले भोलि पनि ‘ए’ व्यापारीले पैसा बोकेर ‘बी’ सम्म पुग्न सक्ने अवस्था भएन । त्यसैबीच ‘सी’ व्यापारीले ‘बी’ लाई एउटा पत्र लेखिदियो । पत्रमा लेखिएको थियो, ‘ए व्यापारीको यत्ति पैसा मसँग छ । उसलाई पत्रमा उल्लिखित रकम बराबर कारोबार गर्न दिनू ।’ ‘ए’ त्यो पत्र लिएर ‘बी’ सँग गयो र पत्रमा उल्लिखित रकम बराबर व्यापार गरेर फर्कियो । त्यसपछि ए, बी र सी व्यापारीले महसुस गरे— कतै न कतै पैसा हुनुपर्दो रहेछ । तर कारोबार चाहिँ कागजकै (पत्र) आधारमा गर्न सकिने रहेछ । त्यसपछि कागजी मुद्राको थालनी भएको हो ।

अहिले पनि संसारभरका सबै कागजी मुद्रा माथिको कथामा ‘बी’ व्यापारीले लेखेको पत्रजस्तै हुन् । फरक यत्ति हो कि, अहिले त्यो पत्र कुनै व्यापारीले नभई राज्यको आधिकारिक निकाय वा केन्द्रीय बैंकले लेख्ने गर्छ र धितोका रूपमा बहुमूल्य धातु, ऋणपत्रलगायत वस्तु पनि उसँगै रहन्छ । कागजी मुद्रा छपाइ गर्दा बहुमूल्य धातु धितो राखिनुले पनि त्यो पुष्टि हुन्छ । हाल नेपाली कागजी मुद्रामा (पैसा) ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ एक हजार तुरुन्त पाइनेछ’ भन्ने लेखिएको हुन्छ, जसमा गभर्नरले हस्ताक्षर गरेका हुन्छन् ।

राज्यले प्रमाणित गरिदिने भएकै कारण त्यो मुद्रा संसारभर सर्वमान्य भएको हो । यद्यपि विश्वमा सबैभन्दा पहिले चीनले कागजी मुद्रा (नोट) प्रचलनमा ल्याएको इतिहास छ ।

नेपालमा मुद्रा

नेपालमा लिच्छवि राजा मानदेवको शासनकालदेखि धातुका सिक्काको सुरुवात भएको मानिन्छ । लिच्छविकालमा मानांक, गुणांक, अंशुवर्मा, वैश्रवण, पशुपति, जिष्णुगुप्त, वृष आदि मुद्राहरू प्रचलनमा आएको इतिहास छ । त्यसपछि मल्लकाल हुँदै शाहकालसम्म आइपुग्दा नोट र सिक्काको विकास हुँदै आएको छ ।

१९८९ सालमा टक्सार स्थापना गरी आधुनिक सिक्का र २००१ असोज १ मा इस्तिहार जारी गरी नेपालमा कागजी मुद्रा प्रचलनमा आएका हुन् । त्यस्ता कागजी मुद्रा १००, १०, ५ मोरुका थिए र तिनमा पहिलो खजाञ्ची पण्डित जनकराज पाण्डेले हस्ताक्षर गरेका थिए । त्यसपछि दुई जना खजाञ्ची पण्डित भरतराज पाण्डे र पण्डित नरेन्द्रराज पाण्डेले हस्ताक्षर गरी मोरु नै नोट निष्कासन भएका थिए । यी नोट सदर मुलुकी खानाबाट निष्कासन भएका थिए ।

२०१३ वैशाख १५ मा केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंक स्थापना भएको हो । २०१६ फागुन ७ देखि हिमालयशमशेर जबराको हस्ताक्षरमा केन्द्रीय बैंकमार्फत कागजी नोट निष्कासन सुरु भएको हो ।

नेपालमा हालसम्म ११ दरका नोट निष्कासन भएका छन् । विगतमा १, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५००, १००० रुपैयाँ दरका नोट निष्कासन गरिएको थियो । हाल १, २, २५, २५० रुपैयाँ दरका नोट छपाइ गरिँदैन । ५, १०, २०, ५०, १००, ५०० र १००० रुपैयाँका नोट मात्र निष्कासन हुँदै आएका छन् । १ र २ रुपैयाँका सिक्का मात्र छपाइ गरिन्छ ।

हाल प्रायः सबै राष्ट्रमा केन्द्रीय बैंकले मुद्रा छपाइको काम गर्दै आएका छन् । सामान्यतया कागजी मुद्रा र सिक्का निष्कासन गर्दा केन्द्रीय बैंकले निष्कासित मुद्रा बराबर बहुमूल्य धातु (सुन, चाँदी, सेयर, ऋणपत्र आदि) धितो राख्ने गर्छन् । विगतमा यस्तो प्रचलन अनिवार्य जस्तै थियो । सन् १९२४ पछाडि सुरक्षा कोष

(रिजर्भ फन्ड) का आधारमा कागजी मुद्रा निष्कासन गरिन्छ । यद्यपि धितोबिना कागजी मुद्रा निष्कासन गर्न नसकिने भने होइन । मुलुकको अवस्था अनुसार, धितो नराखेरै पनि नोट छपाइ गर्न सक्छन् । धितो नराखी छपाइ गरिने मुद्रा भविष्यमा सुन चाँदी लगायत बहुमूल्य धातुमा परिवर्तन गर्न मिल्ने परिवर्तनीय र अपरिवर्तनीय गरी दुई किसिमका हुन्छन । तर, नेपाललगायत धेरै राष्ट्रले हालसम्म धितोबिना नोट छपाइ गरेका छैनन् ।

कसरी छापिन्छ पैसा ?

नेपालमा मुद्रा छपाइबारे राष्ट्र बैंकले नोट छपाइ तथा सिक्का टकमारी निर्देशिका जारी गरेको छ । त्यसकै आधारमा नोट तथा सिक्का छपाइ हुँदै आएको छ । नोट तथा सिक्का छपाइ कहाँ गर्ने भन्नेबारे निश्चित तोकिएको नभए पनि अन्तर्राष्ट्रिय रूपमा बोलकबोल आह्वान गरेर मुद्रण कम्पनी छनोट गर्नुपर्छ । नेपालमा अन्तर्राष्ट्रियस्तरका मुद्रण कम्पनी नभएकाले राष्ट्र बैंकले विदेशमा मुद्रा छपाइ गर्दै आएको छ ।

यसरी विदेशमा नोट छपाइ गर्दा ५ रुपैयाँका लागि प्रतिनोट १.६८ रुपैयाँ र एक हजारका लागि ३.३७ रुपैयाँ लागत लाग्दै आएको छ । राष्ट्र बैंक टक्सार विभागले करिब २० वर्षअघिसम्म नेपालमै सिक्का टकमारी गर्ने गर्थ्यो । त्यसयता राष्ट्र बैंकले सिक्का पनि विदेशमै छाप्दै आएको छ । यद्यपि गत वर्षदेखि टक्सार विभागले परीक्षणका रूपमा नेपालमै एक र दुई रुपैयाँका सिक्का छाप्न सुरु गरेको छ । नेपालमा दुई दशकअघिसम्म राष्ट्र बैंकले सुन्धारास्थित टक्सार विभागबाट सबै प्रकारका सिक्का (चलनचल्तीका र सुन तथा चाँदीका स्मारिका) बनाउँदै आएको थियो । पछि राष्ट्र बैंकले चलनचल्तीका सिक्का बनाउन छोड्यो । त्यसपछि चाँदीका स्मारिका सिक्का र सुनका असर्फी मात्र बनाउन थाल्यो । अहिले पुराना मेसिनलाई मर्मतसम्भार गरेर चलनचल्तीका सिक्का छाप्न मिल्ने गरी तयारी अवस्थामा पुर्‍याइएको र परीक्षणका रूपमा केही थान सिक्का छपाइ गरिएको टक्सार विभागले जनाएको छ ।

केही वर्षयता नेपालले एक र दुई रुपैयाँका कागजी नोट छाप्न छोडेको छ । ती सिक्का विदेशमै छापिने भएकाले त्यसबाट धेरै रकम बाहिरिँदै आएको छ । राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिएको सिक्का अरू कागजी नोट जस्तो सम्पूर्ण रूपमा वित्तीय प्रणालीमा फर्किंदैन । यसकारण पनि हरेक वर्ष नयाँ सिक्का छाप्न करोडौं रुपैयाँ खर्च हुने, तर त्यो पैसा वित्तीय प्रणालीमा नफर्किने भएकाले बढी खर्चिलो हुँदै आएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार, गत वैशाखसम्म ५ खर्ब ७४ अर्ब रुपैयाँ बराबरका मुद्रा चलनचल्तीमा छ । ०८० असारसम्म यस्तो रकम ५ खर्ब १४ अर्ब रुपैयाँ थियो । उक्त पैसा विभिन्न माध्यममार्फत राष्ट्र बैंकमा फर्किन्छ । यसरी राष्ट्र बैंकबाट बाहिरिएको तर बैंकमा नफर्किएको पैसालाई चलनचल्तीमा रहेको मानिन्छ ।

पैसा छाप्ने र आपूर्ति गर्ने एक मात्रै आधिकारिक निकाय राष्ट्र बैंक भएकाले मुलुकको आवश्यकता र औचित्यका आधारमा पैसा छपाइ गरी बजारमा पठाउने काम उसैले गर्छ । चलनचल्तीमा रहेको मुद्रा प्रायः घटबढ भइरहन्छ । बजारमा पैसाको माग धेरै भएको समयमा धेरै र कम भएको समयमा कम मुद्रा चलनचल्तीमा रहन्छ । बजारको मागअनुसार, निर्देशन मापदण्डभित्र रहेर राष्ट्र बैंकले विभिन्न माध्यममार्फत बजारमा पैसा पठाउँछ ।

राष्ट्र बैंकबाट बाहिरिएपछि त्यो चलनचल्तीमा गएको भनेर गणना हुन्छ । यसरी चलनचल्तीमा रहेको मुद्रा निश्चित समयपछि बैंक तथा वित्तीय संस्थाहरूमार्फत राष्ट्र बैंकमा फर्किन्छ । जति पैसा राष्ट्र बैंकमा आइपुग्छ, त्यति नै मुद्रा चलनचल्तीबाट घटाइन्छ ।

राष्ट्र बैंकबाट बाहिरिएका नोटहरूमध्ये केही नोट विभिन्न कारण (मानिसको बदमासी, बाढी, पहिरो, आगलागी आदि) ले नष्ट भएको हुन सक्छ । तर, राष्ट्र बैंकको गणनामा ती नोट पनि चलनचल्तीमा रहेको मानिन्छ । यसकारण राष्ट्र बैंकले ‘चलनचल्तीमा छ’ भनेमध्ये सबै पैसा नागरिकको हातमा नहुन पनि सक्छ । यस्तो पैसा कति छ भन्ने तथ्यांक कसैसँग पनि छैन ।

प्रकाशित : असार २२, २०८१ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×