कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

आदिवासी स्वत्वको पक्षमा

हामीले ‘स्वागतम्’ गेटबाट गाडी हुल्दै गर्दा सुख निम्त्यायौं कि विकासको आवरणमा विनाश हुल्यौं ? यही सघन प्रश्नको उत्तर खोज्न विमर्श आह्वान गर्ने दमदार सिनेमा हो– ‘गाउँ आएको बाटो’ ।

पछिल्लो दशक नेपालका ग्रामीण भीरपाखामा डोजर बेपत्तासँग कुद्न थालेपछि सडकले गाउँले हुलिया नै तलबितल पारेको दृश्यलाई विकास र समृद्धिको नाम दिएका छौं । अनि रैथाने सभ्यता, ज्ञान र सीपलाई दैलोमुनि दबाएर ‘आधुनिक’ आँगनमा उपरखुट्टी लगाएर मखलेल छौं । गाडीलाई ‘स्वागतम्’ गेटबाट हुल्दै गर्दा सुखलाई निम्त्यायौं कि विकासको आवरणमा विनाशलाई हुल्यौं ? यही सघन प्रश्नको उत्तर खोज्न विमर्शमा आह्वान गर्ने दमदार सिनेमा हो– ‘गाउँ आएको बाटो’ ।

आदिवासी स्वत्वको पक्षमा

सहर र गाउँबीचको अत्यासलाग्दो दूरी छोट्याउने सडकले मानिसहरूलाई जोडेको मात्रै छ ? ‘गाउँ आएको बाटो’ भन्छ– ग्रामीण सुगन्ध मार्दै जोडिनै मुस्किल हुने गरी हाम्रा रैथाने संस्कृति र सम्बन्धलाई भित्रभित्रै भत्काएको पनि छ । दुई–चार दाम गोजीमा हुँदा सुविधालाई बलेसीमै हाजिर गराए पनि सडकले गाउँलाई पुँजीवादी बजारको एक हिस्सा बनायो । स्वाद, स्वभाव र सम्बन्धमा पराया रङ पोतेर ‘नयाँ गाउँ’ द्रुत–नाफाको ध्याउन्नमा विषादी–वर्षातिर अभ्यस्त भइसक्यो । ‘सुखी नेपाली, समृद्ध नेपाल’ जस्ता अनेक सपनाका तुल, झन्डा र भाषण घरघरमा बाँडिदिएर प्रांगारिक जीवनढाँचालाई रातारात अपहरण गर्ने सडकको गाउँ–प्रवेशसँगै केन्द्रीय राजनीतिको ‘उद्घाटन’ प्रचलन गाउँगाउँ छिर्‍यो । र, पहुँचदारहरूको कमिसन–खेलले गाउँमा चलखेल गर्न थाल्यो । यस सिनेमाले नारा र उपदेशबिना यही कुरा छर्लङ्ग्याइदिएको छ ।

सडकले सोझा जनताका खेतबारी मिचेको मात्रै छैन, रैथाने सीप र ज्ञानलाई पाखामा फालिदिएको छ । प्रकृतिमै श्रम र सीप भर्दै जीवनलाई गति दिइरहेका आदिवासीहरूको जीवनदर्शनमा न परहानि गरेर आफ्ना लागि थुपार्ने स्वभाव हुन्छ, न त नाफाका लागि मरिमेट्ने प्रवृत्ति । प्रकृतिमुखी समुदायको जीवनदर्शन र जीवनपद्धति नै तहसनहस पारेको बजारले स्थानीय स्वादलाई अपहेलनामा धकेलेर बहुराष्ट्रिय कम्पनीका उत्पादनलाई मानभाउ दिन थालेको छ । हुर्कंदो पुस्तालाई टेलिभिजन र मोबाइलले मोहित पारेपछि नजानिँदो वर्गीय तगाराहरू तेर्सिएका छन् । मुन्दुमप्रति मुन्टो बटार्दै र्‍यापतिर लाग्ने पुस्ता उदाएपछि रैथाने संस्कृति बेवास्तामा पारिएका छन् । ‘गाउँ आएको बाटो’ मा पनि विन्द्रेको मन भने उँधैतिर भागेर जान तयार छ । तर, माइलाको अधिकांश ध्यान आफ्नै थातथलोमा पुर्ख्यौली सीप तिखार्नमै छ । वैदेशिक रोजगारीमा उनको त्यस्तो जोडबल छैन । यो कथाव्यथा माइला–परिवारले मात्रै भोगेको छैन, बजारले खुट्टा घुमाएका गाउँहरूको स्वरूप प्रायः यसरी नै लथालिङ्ग देखिन्छ । परिवार–परिवारबीचको पैँचो–पर्ममूलक पुरानो लयलाई टुटाएर सडकले नाफा–घाटा, हुने–नहुनेको नयाँ पर्खाल मात्रै लगाइदिएन, पुरानो पुस्ता र नयाँ पुस्ताबीच पनि सपना र यथार्थको जंघार जन्माइदिएर सम्बन्धमा मुस्किल थपिदियो । ‘गाउँ आएको बाटो’ मा आदिदेखि अन्त्यसम्म सडक यस्तो निर्णायक पात्रका रूपमा ओहोरदोहोर गर्छ, जसले गाउँले जीवनलाई बिस्तारै संकटको भीरतिर धकेल्छ ।

सिनेमा निर्माण, सिने–प्रशिक्षण र समीक्षाबाट बौद्धिक जगत्लाई सधैं झक्झकाउने नवीन सुब्बा र ‘नुमाफुङ’ लाई धेरैले आदर्श गुरु मान्छन् । नेपाली सिनेमाको सांस्कृतिक मूल्य र कलात्मक उच्चताको उद्बोधनमा सुब्बाको अतुलनीय योगदान रहेको सर्वस्वीकार्य छ । सबल सिनेमाको पक्षधर सुब्बाको ‘गाउँ आएको बाटो’ नेपाली बजारमा आउनुअघि नै प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा प्रशंसासहित छाएकै कारण पनि घरेलु दर्शकका लागि बहुप्रतीक्षित बन्न पुग्यो । आत्मचिन्तनसहित साधनारत साधुजस्तो लाग्ने सुब्बा चमकधमकवाला बजारको चौरस्तामा आइपुगेको दृश्यले बताउँछ– सिनेमा सार्थक त हुनुपर्छ नै, साथमा विश्व–बजार र घरेलु दर्शकलाई जोडेर लैजान सकियो भने मात्रै हाम्रा सांस्कृतिक कर्महरूले सार्थकता पाउनेछन् ।

फिल्मकर्मी अडुर गोपाकृष्णन भन्छन्– ‘जब म आफ्नो फिल्ममा काम गरिरहेको हुन्छु, मेरा दर्शक यी हुन् र मेरा फिल्म यिनका लागि प्रासंगिक हुनैपर्छ भनी सोच्दिनँ । यदि मुद्दा महत्त्वपूर्ण र प्रासंगिक छन्, विचार वैध र तार्किक छन् भने जुनसुकै देश र भाषाको फिल्म पनि स्वतः प्रासंगिक भइहाल्छ ।’ अन्तर्राष्ट्रिय फेस्टिभलतिर यस फिल्मलाई आफ्नै देशको कथासँग जोडेर हेर्ने कोही न कोही आदिवासी दर्शक सुब्बाले भेट्नुको कारण हो, उनले सिनेमालाई सस्तो मनोरञ्जन र कमाउ वस्तुका रूपमा कहिल्यै लिएनन् । उनले आफ्ना सिनेमामार्फत सधैं नेपाली समाज, सभ्यता र समुदायलाई नजिकबाट बुझाउने कोसिस गरेका छन् । राई समुदायको लगानी रहेको यस सिनेमामा राई समुदायकै कथा छ । आदिवासी समुदायमाथि विरोधी शक्तिले गरेको जालसाजी पर्दाफास गर्नका लागि सम्बन्धित समुदायकै भाषा, दर्शन, रङ र ध्वनि प्रयुक्त सम्प्रेषणीय सिनेमाबाटै राजनीतिक चेत जगाउनुपर्ने अवधारणाकै जगमा उठेको छ– ‘गाउँ आएको बाटो’ । यद्यपि, फिल्ममा राई समुदायको चरित्र केन्द्रमा रहे पनि खासमा यो राई समुदायको कथा मात्रै होइन, नेपालका अखिल आदिवासीको कटु–व्यथा हो । यसलाई सम्भवतः विश्व आदिवासी समुदायसँग जोडेर अध्ययन गर्न सक्छौं ।

संवाद र दृश्यले पटकथा घिसारेर मात्रै हाम्रो अनुहार आउने सिनेमा हुँदैन, त्यसका लागि सांस्कृतिक सत्वबारे गहन अनुसन्धान गर्नुपर्ने रहेछ भन्ने उदाहरण ‘गाउँ आएको बाटो’ ले पस्केको छ । मूलकथाको परिवेश भोजपुरको राई समाज भएकाले यहाँ किराती सौन्दर्य र किराती संस्कृतिको बोधले सिनेमालाई जीवन्त र यथार्थको धरातलमा उभ्याएको छ । किरातीहरूको आफ्नै खाले जीवन पद्धति, जीवन दर्शन र सपनाहरू हुन्छन् । अरू आदिवासीको जस्तै किराती समाजमा पनि प्रकृति र पुर्खा नै आस्था र विश्वासका केन्द्र हुन् भने सामूहिकता र सहअस्तित्व जीवन–पद्धतिका मार्ग हुन् । किराती समाजमा सुप्तुलुङ अर्थात् चुल्हाले सांस्कृतिक संस्थाको काम गरेको हुन्छ । सांस्कृतिक जरा र जीवन–विश्वासका आधारका रूपमा प्रतिष्ठित सुप्तुलुङले पितृवंश, मातृवंश र नातागोतालाई बलियोसँग आदर गर्नु र चुल्हो उखेलियो भने राईहरू मासिने विश्वास गर्नुले किरात समाजमा यी तीन पक्षको महत्त्व उजागर गरिदिन्छ । किरात समुदायको सांस्कृतिक अनुष्ठान–केन्द्र चुल्हाको महत्त्वलाई ‘गाउँ आएको बाटो’ ले निकै नजिकबाट आत्मसात् गरेर देखाएको छ । माइलाको परिवारमा भएका घटना–दुर्घटनामा चुल्हा पुजेको दृश्य र नाछुङहरूले मुन्दुम फलाक्दै ‘मृतात्मा’ सँग गरेका संवादले किरात सांस्कृतिक विधानलाई व्यक्त गर्छन् । विज्ञानपरक कोणबाट हेर्दा यस्ता कर्महरू अन्धविश्वासको नजिक देखा पर्न सक्छन् । तर, समुदायगत विश्वास–पद्धतिका आफ्नै मानवशास्त्रीय पृष्ठभूमि हुन्छन् । ऐतिहासिक कोणबाट हेर्दा किरात समाजमा सोपानतन्त्रपारि सम्मान आधारित संस्कृति छ, गल्तीवश तलवितल परे जाँडरक्सी राखेर माङ्गेना गर्ने चलन छ । समतामूलक दर्शनमा बाँच्ने आदिवासी समुदायमा सडकबाट नागबेली हिँडेर ‘फुटाऊ र शासन गर’ वाला उपभोक्तावाद पसेपछि भने सांस्कृतिक चलन पनि पातलो हुँदै गएको देखिन्छ । किरात संस्कृति बुझेका दर्शकहरू पात्रसँग एकाकार भई यस सिनेमाको संकेत बुझिहाल्छन् भने बुझ्न बाँकीहरू मीठो चासोसहित अध्ययनको भोक–दायरा फराकिलो पार्दै आउँछन् । हाम्रो समाज–संस्कृतिलाई थप बुझ्नु भनेको आफ्नै अनुहार सफा ऐनामा नियाल्नुसरह हो ।

बलिउडको छायाछविमा सिनेमा थालेको इतिहासबाट हुर्केको कारण पनि पटकथा लेखनमा मिहिनेत नगर्ने यहाँको खराब प्रवृत्तिलाई केही सिनेकर्मीले बिस्तारै भत्काउन थालेका छन् । थोरै साहसीमध्येका एक नवीन सुब्बासँग महेश राई जोडिएर लेखेको पटकथा कला र वैचारिक दुवै दृष्टिबाट अब्बल सावित भएको छ ।

सिनेमाका लागि गम्भीर राजनीतिक चेतयुक्त विषयको महत्त्व त हुन्छ नै । तर, विषयको महत्तालाई विशिष्ट र प्रभावकारी बनाउनका लागि निर्माण पक्ष उत्तिकै सशक्त हुनु जरुरी छ । सिनेमा निर्माण यात्राको मुख्य चालक निर्देशकले दृश्यहरूबीचको पूर्वापर सम्बन्धलाई सार्थक बनाउन अनुसन्धान र भरपुर मिहिनेत गर्नैपर्छ । यसका लागि निर्देशकको वैचारिकी पुष्ट र प्रस्ट दुवै हुनु जरुरी छ । यिनै दुई सबलताको जगमा ‘गाउँ आएको बाटो’ ले एउटा कलात्मक उचाइ हासिल गरेको निष्कर्ष नै सत्यनजिक होला । नेपाली सिनेमालाई आफ्नै अनुहार दिन लागिपरेका नवीन सुब्बाले यस फिल्ममा पात्रतादेखि परिवेशमा पस्केको कायल पार्ने ‘डिटेलिङ’ ले दर्शकलाई यत्ति याथार्थिक लोकमा पुर्‍याउँछ कि गाउँमा जन्मी–हुर्केकाहरूलाई विन्द्रेको पात्रताले बाल्यकालीन नोस्ताल्जियामा डुबाउँछ भने धेरै दर्शकले माइलाको चरित्रलाई आफ्नै पितामा आरोपण गरेर सहजानुभूति गर्छन् । माइलीको पात्रतामा हाम्रै आमाहरूको स्वरूप पाउन सक्छौं । यस सिनेमाको अर्को सशक्त पाटो हो– रङ संयोजन । रक्सी बेचेर रुपैयाँ हात पर्न थालेपछिका दृश्यमा माइली, माइला र विन्द्रेका लुगाहरू सुकिला देखा पर्नु, माइलाको संकटग्रस्त परिवार देखाउँदाका प्रायः दृश्य घुर्मैलो हुनु, दुनामा कोकाकोला बाँड्नु, चिहानडाँडामा चाउचाउ र कोकाकोला चढाउनु, कक्षाकोठाको भित्तामा पृथ्वीनारायण शाहको भनाइ र सरस्वतीको तस्बिर टाँस्नु, महेन्द्रमालाकालीन माधव घिमिरेको कविता विन्द्रेले पढ्नु, ‘पापा’ को पर्खाइमा आत्तिएको विन्द्रेको अनुहारको रङ फुस्रो हुँदै जानु, गाडीमा लालीगुराँसको छाप हुनु, गाउँमा भोड्काको विज्ञापन–बोर्ड देखाउनु, लाहुरेको घरमा बजारु रक्सी र प्लास्टिककै गिलास प्रयोग हुनु, नाछुङले प्रयोग गरेका सामग्री र धरान बजारको चित्रण, फिपीलाई रङ भरेपछिको भुइँ, विन्द्रेको चस्मा– लहरा, ‘नेगेटिभ’ हुँदै बजारुसम्म– यात्रा, विन्द्रेकै टेलिभिजन मोह जनाउने गतिविधि आदिमा आएको ‘डिटेलिङ’ सहितको विशिष्ट रङ संयोजनले सिनेमा साँच्चै सशक्त दृश्यभाषा हो भन्ने पुनर्पुष्टि गर्छ ।

शब्दमा वर्णन गर्न कठिन कथात्मक पृष्ठभूमिलाई सानो दृश्यले नै सबल ढंगले सविस्तार बोलेको छ । संगीतमै पनि फरक स्वाद भेटिने यस सिनेमाका दृश्य र संवाद निरर्थक छैनन् । सिनेमामा परिस्थिति र परिवेशअनुरूप संगतिपूर्ण भेषभूषा र ध्वनिसंयोजनले दर्शकलाई सहजानुभूतिको गहिराइमा एकाकार गराइरहन्छ । सिनेमाका ससाना दृश्यका अर्थगत आयामहरूलाई हामी पुँजीवादका अनेक प्रभावगत सन्दर्भसँग जोडेर हेर्न सक्छौं भने पात्रता र पात्रहरूबीचको सम्बन्धबारे सामाजिक, मनोवैज्ञानिक र अर्थराजनीतिक तहमा विश्लेषण गर्न सक्छौं ।

कतिपयलाई सिनेमाको गति अलि धिमा लाग्न सक्छ भने कतिपयलाई ‘इमोसन’ परिपक्व हुने समय नछुट्याइएको र केही दृश्यलाई अलि खँदिलो पार्न नपुगेको भान पर्न सक्छ । तर, आदिवासी लयमै डुबेरै हेर्ने हो भने सायद सिनेमाको लय बुझिएला । ‘नुमाफुङ’ र यस फिल्मलाई दाँजेर निर्देशक सुब्बालाई आशावादी भाव या प्रतिरोधी चेत जगाउने सिनेमा बनाउनका लागि सुझाव आउन पनि सक्छ । तर, हरेक सचेत सिनेकर्मीको आफ्नै विश्वदृष्टि, सिनेभाषा र व्याकरण हुन्छ नै ।

‘गाउँ आएको बाटो’ को सबैभन्दा सशक्त पक्ष अभिनय नै हो, जसले दर्शकलाई पात्रसँगै हाँस्दै–रुवाउँदै यात्रा गराउँछ । राई मातृभाषी समुदायबाटै भए पनि यस सिनेमामा कलाकार दयाहाङ राई र पशुपति राईले संवादकै लागि गरेको अतिरिक्त मिहिनेत प्रस्टै देखिन्छ । विन्द्रेको भूमिकामा रहेका प्रसन राईको अभिनयबाट यो अनुमान गर्न सकिन्छ कि उनले उचित वातावरण पाए भविष्यमा राम्रो कलाकारका रूपमा प्रभावी हुन सक्छन् । नाटकमा स्थापित पशुपति राईले ‘माइली’ मार्फत आफूलाई अभिनयमा अब्बल प्रमाणित गरेकी छन्, यसकारण यो सिनेमा उनको अभिनय–यात्राकै लागि निःसन्देश अर्थपूर्ण हुनेछ । पशुपतिजस्तो कुशल कलाकारले मुख्य भूमिका पाउन नवीन सुब्बा नै कुर्नुपर्ने अवस्थाले हाम्रो बजारु सौन्दर्यशास्त्रको धङधङीलाई इङ्गित गर्छ । संवाद, हाउभाउ, हिँडाइ–बोलाइमा अर्कै स्तरको मिहिनेत गर्दै नियन्त्रणसहित पात्रतामा डुबेका छन्, दयाहाङ । यत्ति दाबीचाहिँ निर्धक्क गर्न सकिन्छ– दयाहाङ राईले अहिलेसम्म निभाएका राम्रा भूमिकामध्ये ‘माइला’ सबैभन्दा अग्रभागमा छ । यस फिल्मलाई उनको अभिनय यात्राकै ‘कोसेढुंगा’ मान्न आनाकानी गर्नुपर्दैन । यद्यपि ‘दासढुंगा’, ‘सेतो सूर्य’ र ‘त्यान्द्रो’ को उनको अभिनयलाई मूल्य–निरूपणसहितको प्रशंसा लामो समय हुनु जरुरी छ, जसले अरू कलाकारलाई पनि उत्प्रेरित गरोस् । व्यावसायिक रूपमा पनि सफल दयाहाङले यस फिल्मबाट एउटा कुरा पुष्टि गरेका छन्– अब्बल निर्देशक र धैर्यशील टिम पाएमा उनले आफ्नो पात्रताका लागि मिहिनेत गर्न कुनै कसर बाँकी राख्दैनन् । बहुराष्ट्रिय कम्पनीका सामानप्रति गाउँलेको लत बसाल्ने लाहुरेको भूमिकाका प्रेम सुब्बाको स्वाभाविक अभिनयले सिनेमालाई मीठो बनाउन टेवा दिएको छ ।

झट्ट हेर्दा बा र छोराको सम्बन्धमाथिको कथाजस्तो लागे पनि अन्तर्यमा– सडकबाट सहजै छिरेको भूमण्डलीकरणले लयबद्ध रैथाने संस्कृतिलाई रैमट्ट पार्दै नाफाप्रेरित पराइ संस्कृतिको उपनिवेशकारी जालोले आक्रान्त परिवेशलाई यस फिल्मले सूक्ष्म चित्रण गर्दै आदिवासी जनजातिहरूको सम्बन्ध भूमिसँग अन्योन्याश्रित रहेको यथार्थ सघन ढंगले देखाएको छ । आस्था, भरोसा र कल्पनाको संसार आफ्नै पुर्ख्यौली थलोमा जमाएर राखेको आदिवासीहरूलाई बेदखल बनाउनु भनेको उनीहरूको स्वत्वको हरण गर्नु हो । आन्दोलन र विश्वविद्यालयतिर एउटा विम्बात्मक उदाहरण प्रख्यात छ– ‘आदिवासी भनेको मुलाजस्ता हन्छन् भने गैरआदिवासी उखुजस्ता । उखुलाई टुप्पोतिर काटेर अन्त रोपे पनि सहजै उम्रिन्छ भने मुलालाई आफ्नो जमिनबाट एक पटक उखेलेपछि अरू माटोमा लगेर जति नै मलजल गरे पनि त्यो मर्दै जान्छ ।’ आदिवासीको जरा आफ्नै भूमिमा गाडिएको हुन्छ भन्नुका विशिष्ट अर्थहरू छन् । पुर्खाले खनीखोस्रेको ठाउँ छाड्नु पर्दा माइलीको अत्यास बोल्छ– ‘चुल्हा, मान्छे सप्पै नै यहीं छ । यहाँ नफर्केर काँ पो जाने होला र ? परदेशमा त टेक्ने जमिन पनि छैन, न समाउने हाँगा नै पो छ !’ यी संवादमा आदिवासी जीवन दर्शनको सार निचोरिएर आएको छ ।

यो आदिवासी दर्शनप्रेरित मनोविज्ञानलाई राज्यले नबुझेका कारण बहुसांस्कृतिक देश नेपालको इन्द्रेणी अनुहार क्षयीकरण हुँदै गएको वास्तविकतालाई ‘गाउँ आएको बाटो’ ले अघि सारेको छ । नेता र ठेकेदारको स्वार्थबाट निर्देशित नभई भूगोलविद्, संस्कृतिविद्, स्थानीय आदिसँगको बृहत् छलफलपछि मात्रै ‘विकास’ को खाका कोर्नु आदिवासीमैत्री अर्थात् हाम्रो आफ्नै माटो सुहाउँदो हुने परोक्ष सन्देश यस सिनेमाबाट लिन सक्छौं ।

आदिवासी–दर्शन र उदारवादी विकासको मोडलबारे छलफल हुँदा लामो समयसम्म यस सिनेमालाई केन्द्रमा राखेर हामी सिर्जनात्मक विवेचना गर्न सक्नेछौं । यस्तै समयबोधी, सरल, सहज र सार्थक सिनेमा छिटो–छिटो बन्दै जाऊन् भन्ने शुभेच्छा राख्दै यो सिनेमा हेरेर आलोचनात्मक विमर्श चलाउनु श्रेयस्कर हुनेछ ।

सिनेमाको भाषा र व्याकरणमा विशिष्ट दक्खल राख्ने अब्बल निर्देशक नवीन सुब्बा र ‘गाउँ आएको बाटो’ टिमलाई रैथाने स्वाद र मौलिक परिचयसहितको समाज सचेत मौलिक कामका लागि कृतज्ञता पोख्न कञ्जुस्याइँ गर्नु हुँदैन ।

प्रकाशित : असार १, २०८१ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×