कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

त्यसपछि म ‘शुद्ध’ भएँ !

 मेरो गाउँमा गोदना खोप्ने महिला पूर्ण निरक्षर थिइन्, भुइँमा कोरिएको आकृति हेरेर शरीरमा कला खोप्थिन्
रीता साह

हालै एउटा कार्यक्रममा एक पुरानो एक साथीसँग भेट भयो । मैले उनको शरीरभरि गोदना देखें । सोधें– अहो ! कति धेरै गोदना बनाउनुभएको ? उनी मतिर पुलुक्क हेरिन् र भनिन्, ‘यो त अहिलेको फैसन हो नि !’ 

त्यसपछि म ‘शुद्ध’ भएँ !

छेउमै बसेको अर्को साथीलाई मेरो हातको गोदना देखाएँ । तर, त्यो गोदना कुनै फेसनका लागि बनाएको होइन, म तरुनी छँदा गाउँमा गोदना बनाइन्थ्यो । मेरो गाउँमा बिहे हुनुअघि प्रायः सबै युवतीले गोदना बनाउनु (गोदनु) अनिवार्य थियो । पहिले गोदना गोदाउनुको उद्देश्य फेसन थिएन, युवतीहरूलाई शुद्ध बनाउन गोदना खोपिन्थ्यो । त्यतिबेला मधेशी समुदायमा बिहेअघि युवतीलाई गोदना गोदाएपछि मात्रै ती ‘शुद्ध’ मानिन्थे । किनभने बिहेपछि गोदना नभएको महिलाले खाना पकाएकोलाई अशुद्ध मान्ने चलन थियो । कतिपय मानिस गोदना नगोदाएकी महिलाको हातले पकाएको खाना खाँदैनथे । मेरो गाउँमा मेरो उमेरका सबै साथीले गोदना गोदाइसकेका थिए, तर मलाई गोदना गोदाउन निकै डर लाग्थ्यो । गदना गोदाउँदा ‘म मर्छु’ जस्तो लाग्थ्यो । डर लाग्नुको कारण थियो, सानै छँदा हजुरआमाबाट सुनेका अनेकौं किस्साहरूको सम्झनाले ।

हाम्रो घरमा धेरै बालबालिका थिए, हामी संयुक्त परिवारमा बस्थ्यौं । राति हजुरआमाको कोठामा लहरै भुइँमा ओछ्यान लगाएर सुत्थ्यौं । हजुरआमा हामीलाई खिसा कहानी सुनाउनुहुन्थ्यो । एक दिन हजुरआमाले एक महिलाले गोदना गोदाउँदा ज्यान गुमाएको कथा सुनाउनुभयो । म खुब त्रसित भएकी थिएँ । खिस्सामा एक जना महिलाले आफ्नो शरीरमा ब्लाउजको डिजाइनमा गोदना गोदाउँदै थिइन् । शरीरभरिको ब्लाउज बनाएर अन्तिम बटन बनाउने बेला उनको मृत्यु भएको थियो । उक्त खिस्सा सुनेपछि मलाई गोदनादेखि निकै डर लाग्न थाल्यो । तर, मेरो सबै साथीले गोदना बनाइसकेका थिए । त्यो देखाएर आमा, दिदीहरू मलाई पनि गोदना गोदाउन हौस्याउँथे ।

एक दिन मेरी दिदी र काकीकी छोरीले योजनै बनाएर जबरजस्ती मलाई पनि गोदना गोदाए । त्यो दिन म धेरै रोएकी थिएँ, तर उनीहरू हाँसिरहेका थिए । उनीहरूको नजरमा अब म पनि ‘शुद्ध’ भएकी थिएँ । मेरो गाउँमा एक परिवारले मात्रै गोदना गोद्ने काम गर्थ्यो । हजुरआमाहरू उनीहरूलाई ‘नटवा नटिनिया’ भनी सम्बोधन गर्नुहुन्थ्यो । सायद नटवा जातिको भएर हो । नटवा जातिको एक परिवार मात्रै थियो हाम्रो गाउँमा । गाउँ बाहिरपट्टि ऐलानी जग्गामा बसेका थिए उनीहरू । ती महिलालाई हामी काकी भन्थ्यौं । उनीहरू बसेकै ठाउँमा हाम्रो दुई बिघाको आँपको बगैंचा थियो । आँपको मौसममा हामी साना नानीहरू दिनैभरि बगैंचामा खेल्ने गर्थ्यौं । उनीहरू हामीसँग आँप माग्थे, बदलामा गोदना गोरिदिन्छौं भन्थे ।

मेरी दिदीले त्यस घरकी महिलालाई एक बाल्टी आँप दिएर मेरो हातमा गोदना गोदाएकी थिइन् । ती नटवा परिवारका महिलाको पेसा नै गोदना बनाउनु थियो । उनी गाउँभरिका घरघरमा गएर महिलाहरूको गोदना गोद्ने काम गर्थिन् । त्यसबापत उनी चामल र खानेकुरा पाउँथिन् । उनीहरूको जीविकोपार्जनको माध्यम गोदना थियो । उनले बनाउने गोदना प्रायःजसो रूखबिरुवाको हुन्थ्यो । केही महिला आफ्नो नाम खोपाउँथे, कोही आफ्नो पतिको नाम लेखाउँथे । तर, गोदना गोद्ने महिला पूर्ण निरक्षर थिइन् । उनी भुइँमा कोरेको नामको आकृति हेरेर गोदना गोद्थिन् ।

यसरी गोदना गोदेर जीविका चलाउने उक्त परिवारलाई एक दिन गाउँबाट लखेटियो । गोदना गोद्ने काकीकी छोरा छिमेकी गाउँका एक जमिन्दारको घरमा ‘नोकरी’ बसेको थियो । ती काकीको छोरा र जमिन्दारको छोरीबीच प्रेम भएको थियो । दुवै घरबाट भागेका थिए । जमिन्दारको छोरी भगाएको भन्दै प्रेमीको आमालाई गाउँलेहरूले सामूहिक बलात्कार गरेर बदला लिएका थिए । ‘इज्जतको बदला इज्जत’ भन्दै त्यसो गरिएको थियो उबेला । त्यो हदैसम्मको अमानवीय व्यवहारमा पनि गाउँमा कसैले उनको बचाउ गरेन । घटनाको केही दिनपछि उनीहरू गाउँबाटै विस्थापित भएको सुनियो । यसरी एक मात्र गोदना खोप्ने परिवारको विस्थापन भएको त्यो घटना सम्झिेको थिएँ, साथीको शरीरभरि ट्याटु देखेर ।

मधेशी समुदायको गोदना गोद्ने चलनको इतिहास र मूल्यमान्यतामाथि विमर्श गरौं । गोदनाको इतिहास हेर्दा यो पाँच हजार वर्षभन्दा पुरानो भएको पाइन्छ । नेपालमा गोदना बनाउने चलन मधेशी, थारू, धिमाल, गुरुङलगायतका जातजातिमा छ । त्यस्तै भारतको मध्य प्रदेश र छतिसगढको बेगा जातिको आदिवासी समुदायमा पनि यसको प्रचलन छ । बेगा जातिको महिलाको पहिचान नै गोदना हो । त्यहाँको प्रचलनअनुसार छोरीहरू हुर्केपछि पहिलो पटक टाउकोमा गोदना बनाउनुपर्छ । त्यसपछि उमेर बढ्दै गएपछि हात, खुट्टा र बिहेपछि छातीमा गोदना गोदाउने चलन छ ।

यसरी गोदना गोद्नुको परम्परा र मान्यता हेर्दा यो शुद्धता, सुन्दरता र यौनिकतासँग सम्बन्धित देखिन्छ । प्राचीनकालमा राजाहरू भ्रमणमा जाँदा सुन्दर महिलालाई अपहरण गर्थे । र, यौन शोषण गरी कष्ट दिन्थे । शासकहरूबाट बच्न आदिवासी र अन्य रैथाने समुदायका युवतीले ‘आफूलाई कुरूप देखाउन’ गोदना गोद्ने गरेको विभिन्न अनुसन्धानमा उल्लेख छ । भारतमा पनि मुगलकालमा मुगल शासकले युवती र महिलालाई अपहरण गरेर लैजान्थे । त्यसैले उनीहरूले पनि आफ्नो ‘सुन्दरता छिपाउने माध्यमको रूपमा’ गोदना संस्कृतिको विकास गरेको इतिहासमा पाइन्छ । कसैकसैले गोदनालाई गहनाका रूपमा लिने गरेको पाइन्छ । थारू समुदायका महिला यसलाई मर्दा सँगै जाने जीवनभरिको निसानी मान्छन् ।

प्राचीनकालमा शुद्धता, सुन्दरता र यौनिकताका लागि गोदना गोदाउने प्रचलन रहे पनि पछिल्लो समयमा यसले फेसनको रूप लिएको छ । अहिलेको युवापुस्ता यसलाई ट्याटु भन्छन् । तिनले सायदै ‘गोदना’ शब्द सुनेका छन् ।

गोदनाको शाब्दिक अर्थ हुन्छ– घोच्नु । कुनै–कुनै समुदायमा यसलाई ‘खोदना’ पनि भनिन्छ । कतिपयले गोदनालाई पेसाका रूपमा पनि अँगालेका छन् । पहिले–पहिले गोदना केवल महिलाले बनाउने हो भन्ने सोचाइ थियो, तर अचेल पुरुषले पनि बनाउँछन् । गोदना पहिचान, संस्कृति, परम्परा वा फेसन जे भए पनि यो मौलिक कला हो । यो संस्कृतिलाई मौलिकसहित जोगाउन सक्नुपर्छ ।

प्रकाशित : असार १, २०८१ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×