कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

एक डेरावालको दुःख–वर्णन 

सहरका महत्त्वपूर्ण मेरुदण्ड हुन्– बहालवाला । सहर चलायमान बनाउने स्रोत तिनले तिरेको घरबहाल हो ।
प्रणेता

श्रीमान्‌ले सिंगल केटीलाई रुम नदिने भन्नुभो नानी ।’
‘तपाईंले त नपाएको रुम हामी (दलित) ले झन् कसरी पाउनु !’ 
‘मधेशीलाई त नदिने, उनीहरूले धेरै पानी सक्छन् ।’
‘काठमाडौंमा सिंगल कोठा खोजेर हुन्छ ? त्यो पनि धारोमा पानी खस्ने ? मरेनी पाउँदिनौ ।’ 

एक डेरावालको दुःख–वर्णन 

माथिका संवाद सुनिएका हुन्– मैले करिब ३ महिना पैदल हिँडेर डेरा खोज्ने क्रममा । यी संवादले भन्छन्– संघीय राजधानीका घरधनीले मधेशी, दलित समुदाय र अविवाहित युवा (केटी–केटी दुवै) लाई कुन नजरबाट र कसरी हेर्छन् ! काठमाडौं टेकेपछि ५० महिना ५ दिन बसेको घर ‘शुभ’ बार अर्थात् बुधबार पारेरै छाडियो । तर, ‘शुभ’ साइतमा पाएको नयाँ डेरा फापेन भनौं । ३ महिना पनि नपुग्दै सर्नुपर्ने भइसकेको छ । घरबेटीको चरम असहयोग र अपमानजनक व्यवहारले गलिसकेकी छु म ।

संघीय राजधानी अर्थात् अवसरहरूको खानी, अवसरहरूकै भूमि ! उच्च शिक्षा, करिअरलाई आकार दिने सपना बोकी हरेक वर्ष काठमाडौं छिर्ने हजारौं युवाका लागि भाडामा बस्नु नियति हो । धेरैको जीवन नै भाडाको घरमा सकिन्छ । अतः अनियन्त्रित भाडादर, पानी अभाव र रुखो व्यवहार राजधानीका अधिकांश भाडावालले बेहोर्नुपरेको समस्या हो । कोठाको भाडादर मात्रै होइन, ट्याङ्करबाट ल्याएको पानी धाराबाट खसालेर सहज बनाउनु र लागेको बेहोराउनु साटो बाल्टीमा प्रतिबाल्टीका दरले हिसाब लगाएर भर्ने ‘सिस्टम’ यहाँका घरबेटी अधिकांशले बसालेका छन् । प्रतियुनिटमा विद्युत् प्राधिकरणले लिएभन्दा कम्तीमा २ वा ३ रुपैयाँ शुल्क बढी लिने घरबेटीहरू नाफाका लागि मरिमेट्ने ‘व्यापारी’ झैं लाग्छन् । कतिपयमा घरको अधिकांश खर्च (पानी, बत्ती, फोहोर) भाडावालबाटै असुल्ने र आफूले गरेको उपभोगको खर्च पनि तिनैबाट ‘निकालेर’ बचाउने छुच्चोपन पनि देखिन्छ । यस आलेखमा आफ्नै अनुभवमा आधारित रहेर भाडा–प्रणाली, घरधनी र भाडावालबीचको अन्तरसम्बन्ध केलाउने प्रयत्न गरिएको छ ।

घरधनी–डेरावाल सम्बन्ध

‘एउटै घरमा बसेपछि आफ्नै घर सम्झिएर बस्नुपर्छ’ भन्ने घरबेटीहरू अपवादबाहेक डेरावाललाई एकै घरको सदस्य नभएर सधैं पराया र ‘हैसियतविहीन’ को व्यवहार गरिरहन्छन् । बहालमा रहने सदस्य/परिवारलाई ‘सहरमा/काठमाडौंमा घर नभएका’ का रूपमा खसालेर व्यवहार गरिन्छ । घर ठड्याउने ‘हैसियत’ नभएका वर्गका रूपमा हेर्ने ‘घरबेटी’ मानसिकताका सिकार अधिकांश डेरावाल भएका छन् सहरमा ।

घरबहालमा लगाउनेलाई डेरावालले अर्थतन्त्रको टेकोका रूपमा काम गरिरहेका छन् भन्ने तथ्यको बोध सायदै छ । सहरका अधिकांश घरहरूको मूल आर्थिक स्रोत घरबहालबाट जुट्छ । घरधनीको दैनिक आधारभूत आवश्यकता पूर्तिदेखि सन्तानको व्यक्तित्व निर्माणमा गर्नुपर्ने आर्थिक लगानीको जोहो पनि घरमा डेरा गरी बस्ने सदस्यबाट भएको हुन्छ । घर बनाउँदादेखि नै भविष्यमा आर्जन गर्न सकिने, बुढ्यौलीमा नगद अभाव हुन नदिने घरबहाललाई प्राथमिकतामा पारेर कोठा–फ्ल्याट तय गरिन्छ ।

‘शिक्षित’ र ‘चेतनशील’ हरू रहने भनिएको सहरका घरधनीहरू जात, लिङ्ग, भूगोल (डेरावालको घर–गाउँको सुगमता या दुर्गमता, पहाड–मधेश–हिमाल) हेरेर व्यवहार गर्न माहिर छन् । यसैकारण दलितका नाममा घर भाडा नदिएको, महिनावारी बार्नुपर्ने सर्त राखेको, डेरावालको आर्थिक वा परिस्थितिजन्य संकटमा असहयोग गरेको, निक्लिएर जान धम्की दिएका खबरहरू बाहिरिन्छन् । घरबेटीले गर्ने अपमान, विभेदको मात्रा डेरावालको जातीय, लैंगिक भौगोलिक पृष्ठभूमि अनुसारको हुनेरहेछ । मसँग भर्खर सरेर आएको नयाँ डेरामा कारणवश घर–भाडा बुझाउन पाँच दिन मात्रै ढिला हुँदा घरधनी सासू, बुहारीले गरेको अपमानको अनुभव छ– तुरुन्तै निक्लिएर जानू, नगए सामान फालिदिन्छु...।

तर, सबै घरबेटीलाई नकारात्मक पोट्रेट गर्नु अन्याय र एकाकी बुझाइ हुन्छ । घरबेटी सबै हेपाहा र घमण्डी हुँदैनन् । डेरावालबाट घरबेटीमा स्तरोन्नति भएका केहीले सामान्य र सन्तुलित व्यवहार पनि गर्छन् ।

यही सहर काठमाडौं हो, जहाँ घरधनी र बहालवालबीच पारिवारिक माहोल भएकै कारण तीन दशकदेखि डेरा नसरेको उदाहरण पनि भेटिन्छ । डेरावालले औधी रुचाएका घरबेटी पनि छन्– दयालु, बुझ्झकी स्वभावका । जस्तो कोभिड–१९ महामारीमा घरभाडा छुट दिएर मानवीय सहयोग गर्ने घरबेटी, बिमार हुँदा सोधपुछ र आत्मीय रेखदेख गर्ने घरबेटी, महिनौं बेरोजगार भएर भाडा तिर्न नसक्दा धैर्य गर्ने घरबेटी, अभावका बखत आर्थिक रूपले भरथेग गर्ने घरबेटीहरू सम्झनलायक छन् ।

काठमाडौंमा घर हुनुको अभिमान र बढ्दो व्यावसायिकताकै कारण घरधनी–डेरावालबीच खाडल पैदा भएको छ । घरधनीको ‘काला गए गोरा आउँछन्, काठमाडांैंको मेरो घरले खाली बस्नुपर्दैन’ भन्ने मानसिकताले डेरावालसँग कट्टर ठाडो व्यवहार गर्न उत्प्रेरित गर्छ । यही अहम्ले नहिच्किचाइकन अपमानमा उत्रिने घरबेटीका कारण कतिपय मानसिक समस्या भोगेरै बाँचिरहेका छन्, तर आत्मसम्मान गुमेको अनुभूति गरेको मैले प्रहरीको सहयोगले घरबेटीलाई माफी पनि मगाएको छु एक बेला । खासगरी डेरावाललाई बेइज्जती र अपमान गर्नु अपराधको रूप हो । तर, न घरधनी मालिक हो, न डेरावाल दास ।

विश्वासको संकट

व्यक्तिलाई भाडामा दिनकै लागि सूचना टाँसिएका प्रायः घरमा लेखेको देखिन्छ– महिलाका लागि मात्र । मैले डेरा खोज्ने क्रममा कोठा खाली रहेको थाहा पाएर सोध्दा कतिपयले ‘केटा मान्छेलाई नदिने वा केटा मान्छे बसेको तर निकालिदिएको’ सुनाए । यसो किन गरे होलान् ? तिनले भनेका थिए– सरसफाइमा ध्यान नदिएको, भाडा समयमा नदिएको, माग्दा उल्टै थर्काएको, मान्छे जम्मा गरेर मध्यरातमा होहल्ला गरेको । ‘छोरी मान्छे शान्त हुन्छन्, सरसफाइ गरेर बस्छन्’ भनी भरोसा राख्नु र आम छोरा मान्छेप्रति नकारात्मक हुनुले घरबेटीमा भाडावालप्रति विश्वासको संकट देखाउँछ ।

म नयाँ डेरा सरेकै तेस्रो दिन घरबेटीले दुइटा कोठामा अन्दाजी २५/२८ वर्षका ३ जना केटाहरू राखे । त्यसपश्चात् चर्पी र कोठाअघि करिडोरमा चुरोटको गन्धले खपिनसक्नु हुन थाल्यो । डेढ महिनासम्म कसैले वास्ता नगरेपछि मैले युवकहरूसँग चर्पीमा चुरोट नखान, पालो लगाएर सफा गर्न र एक ट्याङ्कर पानी सबै कोठाले मिलेर तिर्ने गरी किन्न प्रस्ताव राखें । सरकारी जागिर खानेले भन्यो– म चुरोट खान्नँ, चर्पी सफा पनि गर्दिनँ । मलाई चर्पीमा चाहिने पानी ल्याउँछु तर ट्याङकर किन्दिनँ ।

घरबेटीले लिनुपर्ने पहल आफैंले लिँदासमेत ‘युवा’ हरूबाट भएको असहयोगले मलाई दिक्क लगायो । त्यसपछि मैले सामाजिक सञ्जालमा लेखेको थिएँ– ‘केटाहरूलाई किन रुम दिँदैन रहेछन् भन्ने बल्ल बुझ्दै छु । अभिभावकहरू छोरालाई यसरी हुर्काउनुस् कि घर छोडेर डेरामा पठाउनुपर्‍यो भने सजिलै डेरा पाऊन् ।’ यसको आशय थियो– सफासँग रहनु, वरपरको वातावरण प्रदूषित नगर्नु, मानवीय हुनु ! यत्ति बुझुन् घरबेटीले, साफसफाइ छोरीको गर्भे जिम्मेवारी होइन ।

भित्तामा किला ठोकेको सुन्दाखेरी मुटुमै किला ठोकेको महसुस हुने बताएका थिए केही घरबेटीले । डेरावालले वर्षौंको पसिना र मिहिनेतको आर्जनमा दुरुपयोग गर्दा स्वभावतः हरकोही आक्रोशित हुन्छ नै । जे होस् यी भोगाइले घरबेटीलाई डेरावालप्रति संवेदनाहीन भएर र रुखो व्यवहारमा प्रस्तुत हुन पनि बाध्य तुल्याएको छ नै ।

घरबहालका सन्दर्भमा मन लागेका बेला डेरा खाली गराउने विशेषाधिकार घरबेटीसँगै सुरक्षित छ । राज्यको फितलो नीति र बेवास्ताले मनपरी भाडादर तोक्नेदेखि मनलाग्दी व्यवहार गर्ने दुस्साहस पनि घरबेटीबाटै हुन्छन् । अन्य विकसित देशमा भाडामा लगाउने घर वा कोठामा के–के न्यूनतम सुविधा हुनुपर्छ सरकारले तोकेको हुन्छ । कहीं त भाडादरसमेत तोकिएको हुन्छ । अस्ट्रेलियामा रहेका एक मित्रका अनुसार, त्यहाँ घरधनीले घर–भाडा लगाउनु परे रियल स्टेट कम्पनी एवं एजेन्टलाई सम्पर्क गर्छन् । घरधनीले सरसफाइको स्डान्डर्ड अनुसार घर सफा गरेपछि मात्रै रियल स्टेटसँग सम्पर्क गर्छन् । रियल स्टेट र घरधनीको सहमतिमा तत्कालीन बजार मूल्यअनुसार भाडा निर्धारण गरिन्छ । घर खोजेकाहरूले हेर्छन् र मनपरे आवेदन दिन्छन् । आवेदन हाल्ने मान्छेको आयस्रोत र चरित्र तथा पहिले भाडामा बस्दाको अवस्था अध्ययन गरेपश्चात् भाडामा दिने/नदिने निर्णय गरिन्छ । घर भाडामा पाउनेले चार हप्ताको भाडा रकम धरौटी स्वरूप राख्नुपर्छ र २ हप्ताको अग्रिम तिर्नु पर्दोरहेछ । घर छोड्नुपूर्व २ देखि ४ हप्ताको सूचना छोड्नुपर्छ । सबै लिखित सम्झौता हुन्छ । नेपालका मुख्य सहरमा केही रुम फाइन्डर एजेन्टले डेरा खोज्ने डेरावाल र घरबेटीबीच सामान्य सम्झौता त गर्छन्, तर कागजमा ‘यस्तो हुनुपर्छ’ लेखिए पनि कार्यान्वयन र अनुगमन हुँदैन । डेरा खोज्नकै लागि तम्तयार एजेन्टहरूसम्म नपुग्ने नेपालका घरबेटीले एकतर्फी रूपमै आफूले बनाएको कागजमा आफ्ना नियम लाद्छन् र डेरावालहरू लाचार भएर त्यो मान्न विवश हुन्छन् ।

घरबहाल र आवास क्षेत्रलाई व्यवस्थित बनाउन र भाडावालले आत्मसम्मानपूर्वक बाँच्न पाउने हक सुरक्षित गर्न राज्य गम्भीर हुनैपर्छ । यो विषयलाई अधिकारवादीले उपभोक्ताको अधिकारको नजरबाट हेर्नुपर्छ । आजको समयमा खाद्यान्न र तिनको गुणस्तरसँगै बहालरूपी आवासको हक पनि बरोबर महत्त्वको विषय हो । सहरका महत्त्वपूर्ण मेरुदण्ड हुन्– बहालवाला । तिनले तिरेको घरबहाल हो– सहर चलायमान बनाउने स्रोत ।

प्रकाशित : जेष्ठ २६, २०८१ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×