कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

जीवनयात्राको उकालो

उकालो माथिल्लो बाटो हो । चढ्नु जरुर शारीरिक परिश्रम हो । र, त्यो अन्ततः विजय हो । पाइला रोक्नेहरूले कहिल्यै जित्दैनन् भन्ने सत्यवचन किताबमा छ । 
अशोक थापा

केही जरुरी छैन स्रष्टाका जिन्दगी दुरुस्त अक्षरमा जस्तै कुँदिएका हुन्छन् भन्ने ! लेखकीय जीवन र व्यक्तिगत दैनिकी उस्तै हुनुपर्छ भन्ने पनि साहित्यकारहरूमा गरिएको आग्रह मात्र हो । भलै पाठकले यस्तो अपेक्षा राख्नु घोर अनर्गल कुरा भने होइन । धेरै लेखकको लेखाइ र भोगाइको काँटा सन्तुलित पनि देखिँदैन ।

जीवनयात्राको उकालो

खासमा जिन्दगीको लय र लेखनीको लिपि उही गतिमा अगाडि बढ्दो रहेनछ । यो असन्तुलनले लेखकलाई लाभहानि के गर्छ वा जीवनीपरक समालोचनाले भने जस्तै लेखकको वैयक्तिक जीवनको प्रतिच्छाया सिर्जनामा होला नहोला ? यी छुट्टै बहसका विषय हुन् । यी सबै तथ्यलाई माथ खुवाउँदै कलम र कर्मको सही तटस्थता झल्किएको पुस्तक आएको छ, लेखक भुवनहरि सिग्देलको जीवनाख्यान ‘साँखेजुङको उकालो’ ।

पुस्तकमा सिग्देलको जीवन–कहानीसँगै तत्कालीन काठमाडौं उपत्यका वरिपरिको वास्तविक चित्र पढ्न पाइन्छ । कल्पनाको रमरम उपस्थिति पनि छ । उनले भोगेको जीवनको विकराल संघर्षका कथा पनि लिपीकरण भएको छ । सुखानुभूतिलाई भने पुस्तकमा कम महत्त्व दिएका छन् लेखकले । उनको जीवन अनुभव र उनले बाँचेको समाजको वास्तविक तस्बिर मिश्रण गरेर उनले यस किताब पठनीय बनाएका छन् । पाठकलाई पाहुनाजस्तै ठानेर जादुमयी भाषिक प्रस्तुति मात्रै पस्केका छैनन्, सुखद पठनका लागि निम्ता पनि दिएका छन् । सुन्दर प्रस्तुति, कलात्मक किस्साका कारण प्रस्तुत किताबको प्रत्येक परिच्छेद थालेपछि पाठकले अन्तिम वाक्य नछिचोली छोड्दै छोड्दैनन् । यो लेखकले स्थापना गरेको पाठक बल्झाउने सफल रणनीति पनि हो । खासमा पाठकका लागि ‘साँखेजुङको उकालो’ घनघस्याको जस्तो छैन, सजिलै चढिने स्वयम्भूको उकालो जस्तो छ ।

सिग्देलले जीवनाख्यानको नामकरण उकालोसँग दाँजेर गर्न चाहेका छन् । सायद जीवनमा आएका चुनौती र बाधाहरूको फिहरिस्त भन्न चाहेका छन् । जिन्दगीलाई ठाडो उकालोको दृष्टान्त दिएर बाल्यकालदेखि आज डाँडामाथि बस्दै गरेको उमेरसम्मलाई चुनौती र अवरोधको यात्रा भन्न चाहेका छन् । ध्वन्यार्थमा उनले जीवनका अवरोधका कहानी भन्न चाहेका छन् । कठिनाइका बग्रेल्ती उदाहरण देखाएर सारमा निरन्तरको प्रयास, लगनशीलता र इमान्दारिताले जटिल साँखेजुङका उकाला पनि छिचोलिन्छन् भन्ने भव्य सम्भावना उघार्न चाहेका छन् ।

हुन पनि उनको परिवारले जुधेको आर्थिक अभावको संघर्ष, महामारीले सोहोर्दा मुस्किलले थामिँदाको जटिलता, शिक्षाको ज्योति पछ्याउन गरिएको कहर, जागिरका लागि गरिएको प्रलय सकसको उकालो अकल्पनीय लाग्छ ।

गहिराइमा पुस्तकले के भन्न चाहेको छ भने नाकै ठोसिने उकालो पनि हरेस नखाई चढ्नु प्रगति र उपलब्धिलाई बुझाउनु हो । जटिलता छिचोलेर निश्चित गन्तव्यमा पुग्नु प्रतिकूलतालाई माथ खुवाउने साहस हो ।

यो सत्य प्रमाणित गर्न उनले सयौं वर्षको आफ्नो पुर्ख्यौली विरासत उधिन्ने प्रयास गरेका छन् । उकालो माथिल्लो बाटो हो । चढ्नु जरुर शारीरिक परिश्रम हो । र, त्यो अन्ततः विजय हो । पाइला रोक्नेहरूले कहिल्यै जित्दैनन् भन्ने सत्य किताबमा लेखिएको छ ।

उकालोमा आउने अप्रत्याशित मोड र प्रयास अनि परिवर्तनको दृष्टान्तको अभिलेखन भएको छ पुस्तकमा । उकालो असहजता हो । सौम्य र सन्तुलन कायम गर्नेले मात्रै जीवनको शिखरमा विजय हासिल गर्ने हो । उकालामा लाग्ने ठेस जीवनका कठिनाइ हुन् । जटिल नै भए पनि बाउँडिएका तिघ्रा पहलकदमीका प्रतीक हुन् भन्छ पुस्तक । भूमिकामा समीक्षक राजकुमार बानियाँले भनेजस्तै सिग्देलले धेरै उपन्यास बन्न सक्ने विषय–सन्दर्भलाई यसै पुस्तकमा जोडेका छन् ।

यो जीवनाख्यान व्यापक छ, अद्भुत छ, रोमाञ्चक छ । र, छ पठनीय ।

एक सय त्रिहत्तर उपशीर्षकमा बुनिएको ‘साँखेजुङको उकालो’ को बलियो पक्ष भनेको इमानदारिता हो । छोटा उपशीर्षकमा चाखलाग्दा यथार्थ परिघटना सुनाएर सिग्देलले पाठकप्रति न्याय गरेका छन् । उनले लेखकीय कथनमा भनेजस्तै ‘यो समयसम्मको भुवनहरि सिग्देल यसमा छ । बाहिर नखोजे हुन्छ ।’

जीवनमा रोमाञ्चक घटना धेरै हुँदैनन् । लेखनकला भएका स्रष्टाले सामान्य घटनामा पनि रोमाञ्चक रङ भर्न सक्दारहेछन् । लेखकका निजी जीवनका अति सामान्यदेखि विशेष घटनासम्मलाई कुशल कथनको माध्यमबाट प्रस्तुत गर्ने कला कमै लेखकमा पाइन्छ, त्यो सिग्देलमा छ । लेखकीय जादुका कारण अति सूक्ष्म र सामान्य घटना पनि प्रभावकारी बनेको भान हुन्छ । पुस्तकको प्रत्येक अध्यायमा अक्षर शिल्पकारिताको जादु अनुभव गर्न सक्छन् पाठकले ।

पुस्तक के कारण पठनीय बन्छ ? यस विषयमा विविध तर्क होलान्, तर ‘साँखेजुङको उकालो’ एकै कारण पठनीय बनेको छ, जुन मिठासपूर्ण भाषाशैली हो । सरल भाषामा कलात्मक जीवन दिन सीमित लेखक मात्र सफल हुन्छन् । यसमा सिग्देल सफल छन् ।

प्रचलनमा रहेका अति प्रशस्तिमूलक जीवनी यहाँ छैन । अति काल्पनिक उडान भएको आख्यान पनि यहाँ छैन । यहाँ त उनले हिँडेका उकाला, डोरेटा र वरिपरिका सुन्दर परिवेशलाई आलोकित गर्न सफल भएका छन् ।

पुस्तकमा केही प्राविधिक र गैर–प्राविधिक त्रुटि भने देखिएका छन् । मन्ददिमाग प्रतिबिम्बित हुने प्रायः निराशाजनक त्रि.वि.का शैक्षिक प्रमाणपत्रका प्रतिलिपि नछापेको भए पनि पाठक रिसाउने थिएनन् । पेटको ट्युमर फालेको डाक्टरको रिपोर्टको पनि पुस्तकमा खासै भूमिका देखिँदैन ।

उनका पूर्वप्रकाशित पुस्तकका टुक्रे चोइटाहरू यहाँ नदोहोरिएका भए जाती हुन्थ्यो । केही साह्रै सामान्य घटनालाई उल्लेख नगरेका भए पनि हुन्थ्यो । पुर्ख्यौलीहरूको फिहरिस्तलाई निकै अगाडि जोडेर एकै पटक पछिल्ला प्रसंगमा जोड्दा छेउटुप्पा नमिले जस्तो ठान्छन् पाठकले । जे होस् आत्मजीवनीलाई आख्यानात्मक बान्कीमा बुनेर प्रभावकारी शैलीशिल्पमा बुन्न सक्नु ‘साँखेजुङको उकालो’ को सबैभन्दा बलियो शक्ति हो ।

प्रकाशित : जेष्ठ २६, २०८१ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×