कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

कर्मजीवी कलाकारका कथा

केही दिन मोफसलको महोत्सवमा कलाकारसँग रमाएँ । रसुवा, पोखरा, वीरगन्ज, ठिमी, काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुरदेखि ५८ जना चित्रकार हेटौंडामा भेला भएका थिए । राति मानव सेवा आश्रममा बास बस्थे ।

कर्मजीवी कलाकारका कथा

दिनमा खुल्ला स्थलहरूमा चित्राकृति सिर्जन्थे । द्रव्यदाताविहीन देखियो, हेटौंडा कला महोत्सव । यसलाई ‘महोत्सव’ मान्ने कि नमान्ने ? बहसको विषय बन्न सक्छ । यसको पृष्ठभूमि पनि रोचकै रहेछ ।

शनिबारीय चित्रकारिता

२०७५ भाद्र १६ गते राकेशचन्द्र श्रेष्ठ, दिवेश प्रधान र दीपेन्द्रमान बनेपालीले शनिबारीय चित्रकारिता सुरु गरे । हनुमानढोका परिसरमा चित्राकृति बनाउँदा मानिसहरू झुम्मिए । दिवेशको चित्राकृतिबारे एक विदेशीले सोधखोज गर्न थाले । किन्ने हो–होइन, १५ सय रुपैयाँ भनिदिए । चित्राकृति फिनिसिङ भएकै छैन, विदेशीले तात्तातै किनेर लग्यो । दीपेन्द्रको पेन्टिङ पनि बन्दाबन्दै बिक्यो । दिवेशले उक्त पैसा शनिबारीय चित्रकारितालाई चिया खर्च भन्दै राकेशलाई सुम्पिदिए ।

पाटनमा अर्को शनिबार ७ जना, भक्तपुर दरबार क्षेत्रमा १२, ठिमी बालकुमारीमा २२ जना कलाकार सहभागी भए । आफ्नै खर्चपर्चमा सामूहिक कला अभियान जन्मियो । २०७६ सालमा कला परिषद्मा २०० कलाकृतिको प्रदर्शनी भयो, रूपन्देहीको शनिबारीय कलाकृतिसहित । काठमाडौं विश्वविद्यालयका विद्यार्थी प्रयोगात्मक कक्षाका रूपमा शनिबारीय चित्रकारितामा सहभागी भए । बिस्केटजात्राको अवसरमा भक्तपुरमा प्रदर्शित दुई दर्जन कलाकृति अस्ट्रेलियन कलाकारले लगेर करिब ४० हजार नेपाल पठाइदिए । मध्यपुर ठिमीका मेयर बेलायत भ्रमणमा जाँदा उपहारका लागि ८ वटा पेन्टिङ किनिदिए ।

भोटेकोशीसहित रसुवा बेत्रावती, भोट–नेपाल सन्धि भएको भूमिमा, अझ भव्य कार्यशाला भए । लाङटाङ निकुञ्जलाई समेत समेटेर सिर्जित चित्राकृति मिथिला आर्ट ग्यालरी ठमेलमा प्रदर्शनी भयो । चित्राकृति बिक्रीबाट आएको निश्चित रकमबाट चाँगुनारायणमा कार्यशालासहित प्रदर्शनी भयो । त्यसपछि टोखा, स्वयम्भू, पाटन, हनुमानढोका, बागमती नदी, कीर्तिपुर सिरिज सम्पन्न भए । कट्वालदह, बागद्वार, बागमतीको उद्गम क्षेत्र जस्ता स्थान जोडेर बागमती सभ्यता सिरिज तयारी हुँदै रहेछ । अध्यापनदेखि कलासँग सम्बन्धित अनेक पेसामा आबद्ध ‘कर्मजीवी कलाकार’ स्वस्फूर्त अभियानमा आबद्ध रहेछन्, जो पूर्णकालीन कलाकारिताबाट जीवन गुजारा गर्दैनन् । कलाभन्दा पर पनि पटक्कै बस्न सक्दैनन् । कलाकारितालाई बिदाको दिनमै भए पनि जारी राख्छन् । नयाँ–पुराना पुस्तामा दूरी रार्ख्दैनन् ।

२०७८ फागुनमा हेटौंडा संगमचोकबाट पनि शनिबारीय चित्रकारिता सुरु भएछ । दिवेशसहित १८ जना कलाकार पहिलो दिनमै शनिबारीय चित्रकारितामा सहभागी भएछन् । सुरुवातमै यति भव्य सहभागिता काठमाडौंमै भएको थिएन । उनीहरूले दुई वर्षमा दाताबिनै करिब २०० चित्राकृति सिर्जेछन् । अनि हेटौंडा कला महोत्सव आयोजना गर्ने आँट गरेछन् । हेटौंडामा बिनाबजेट तीन सय चित्राकृति सिर्जिएको देखियो ।

कला–साहित्य सम्बन्ध

नारायणबहादुर सिंहका किताबहरू पढ्छु । उनी लेख्छन्– नेपालमा कलाकार, कलाका विषयवस्तु छन्, कलाप्रेमी छैनन्, भोलि भेटिएलान् । अहिले कलाप्रेमी केही मात्रामा बढेको देख्छु । सिंह साहित्य र कलाको विषयवस्तु एउटै हुन् भन्छन् ःसंस्कार, संस्कृति, प्रकृति । आज भोकै मर्नेहरू भोलि प्रसिद्ध बनेका विश्व उदाहरण पेस गर्छन् । नेपाली कला(कार)का कथाव्यथा भने साहित्यमा राम्ररी लिपिबद्ध भएको भेट्दिनँ ।

किराँतकालमा विकसित कला लिच्छविकालमा फैलिएको दाबी छन् । सम्राट् अशोक काठमाडौं उपत्यका आएको मिथकहरू छन्, ठोस प्रमाणहरू पाइन्नन् । गेहेन्द्रमान अमात्यको शब्दमा किराँत, लिच्छवि र मल्ल कालमा मन्दिर, पाटी, घरका भित्ताहरू ठुल्ठूला चित्राकृतिले सजिन्थे । यसर्थ चीन, बर्मा, जापान, थाइल्यान्डसम्म नेपाली कला उहीबेला फैलिए । सिंहका शब्दमा, काठमाडौंलाई मात्र केन्द्र बनाएर कलालाई हेर्न हुन्न । यो केन्द्रीकृत मान्यता हो । यसले विविधतामय संस्कृतिलाई न्याय गर्दैन । मल्लकालका राजाहरू (प्रताप, जयस्थिति, यक्ष मल्ल) कलाप्रेमी थिए । पृथ्वीनारायण शाहले कलाबारे सोच्नै भ्याएनन्, लडिमात्रै रहे । उनले उपत्यकाको चारवटै राज्यका कलाकारलाई वसन्तपुर दरबार सजावटमा संलग्न गराए भनिन्छ । पछिल्ला शासकले नेपाली मौलिकतामाथि प्रहार गर्ने काम गरे । विदेशी प्रभावमा मौलिक कलालाई त्याग्दै गए ।

मौलिकतामाथि प्रहारका उदाहरण थुप्रै छन् । रानीपोखरी मन्दिर मल्लकालको भन्नाभिन्न भारतीय गुम्बज कलामा उभिएको देखिन्छ । भारतीय कलाको प्रभाव नेपालमा धेरै मात्रामा पर्‍यो । पृथ्वीनारायण, रणबहादुर शाहले काशी बनारससँग वैवाहिक सम्बन्ध गाँसे । कोही निर्वासनमा काशी गए । ल्हासा हुँदै इसाई मिसनरी नेपाल भित्रियो । सुगौली सन्धिपछि बेलायती राजदूत नेपाल आएर बस्न थाले । कोतपर्वले नेपाली कलालाई अर्कै संसारमा पुर्‍यायो । भाजुमान जंगबहादुरसँग बेलायत गएर आएपछि नेपाली कला अझै अर्कै भएर गयो । बालकृष्ण समका शब्दमा त्यो नेपाली कला इतिहासमा कालो रात थियो । मल्लकालीन जनमैत्री कला शासकमैत्री प्रशस्तिमा रूपान्तरित बन्दै गयो । देवीदेवताभन्दा जंगबहादुर माथिझैं उनका मूर्तिहरू बने । बेलायती शासकको शैलीमा जताततै जंगबहादुर उभिए । कलाकार भने अपवादबाहेक कष्टपूर्ण जीवन भोग्न बाध्य छन् ।

ललितपुरमा रक्षा मण्डल केन्द्र स्थापना भयो, २००८ सालमा । राजा त्रिभुवनले केन्द्रको उद्घाटन गर्दै सम्बोधनमा भने, ‘कलाकार भोकै नमरून्, बेरोजगार नबसून् । कलालाई जनताको हर दैनिकीसँग जोडौं । कलाको दैनिक जीवनसँग सम्बन्ध स्थापित भएर बेचबिखन होस् ।’ रक्षा मण्डलले कलासँग जनतालाई नजिक ल्याउन पुस्तिका प्रकाशनै गरेको रहेछ । राजा महेन्द्र र वीरेन्द्रले साहित्य–कलालाई आफ्नो रुचिको विषय बनाए । कलाकार–लेखकलाई आफ्नो वैचारिकीबाट प्रभावित पनि पारे । प्रजातन्त्रपछि आधुनिक कला अघि बढ्यो भनिन्छ । अहिले देशमा गणतन्त्र, लोकतन्त्र स्थापना गरिएको छ । कस्तो वैचारिक चेत कलामा आउनुपर्ला ? कलालाई कसले कसरी सघाउनुपर्ला ? हामी घोत्लिएका छौं त ?

मुकेश मल्लका शब्दमा नेपालमा कला–आन्दोलन भएकै छैन । यद्यपि, कलाकारहरू रङसँग रमाइरहेकै छन् । अशोकमान सिंहका शब्दमा रङ शक्ति हो । यसले हाम्रा सम्पूर्ण इन्द्रीयहरूलाई अपिल गर्छ । सारा विश्वब्रह्माण्ड, एकोस्फेयर रङहरू रहेछन् । पञ्चतत्त्व पनि रङ नै रहेछ । रङ संगीतसँग पनि सम्बन्धित रहेछ । जहाँ रङ त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ संगीत हुन्छ भनिन्छ । त्यसैले हाम्रा चाडबाड, उत्सव रंगीन हुन्छन् । अझ एउटा सशक्त कलामा कति शक्ति होला ? सम कलासँग कविता जोड्थे । अन्तस्करणको काल्पनिकीबाट कला जन्मने विश्वास गर्थे । सपनाबारे कविता लेख्थे, सपनालाई स्वरूप दिन चित्राकृति कोर्थे । जीवनको अमृतका लागि कविता लेख्छु, अमूर्तलाई मूर्तरूप दिन चित्राकृति बनाउँछु भन्थे सम । वास्तवमा, साहित्यसँग नजोडिएको कलाकृति अपुरो–अधुरो हुन्छ । नत्र स्वरसम्राट् नारायणगोपालले साहित्यिक पत्रिका ‘बागिना’ जन्माउने कष्ट किन गर्थे ।

मोफसलमा कलाकारिता

हामीले हर्नामाडीमा मूर्तिकला कार्यशाला गर्‍यौं । सोच्दै नसोचेको जनमानस उर्लियो । के त्यो कला–आन्दोलन थियो ? नेपालमा कलाको नाममा त्यति धेरै जनसहभागिता जुटेको थिएन, त्यो पनि मोफसलमा । यद्यपि उक्त कला अभियानमा आफू निकै अल्लारे बोध अहिले भइरहेको छ । वैचारिकी, चिन्तन, अध्ययन–अनुसन्धानको हिसाबले हामी निकै कमजोर रहेछौं, आज आएर आर्टिजमको गहिराइबारे अलिकता महत्त्वबोध गर्दै छु । कहाँ कस्तो कला किन बनाउने ? बृहत्तम वैचारिक–सांस्कृतिक चेत भएन । स्वाधीन कर्ममा रमाउनेमाथि स्वार्थ समूहको हैकम हावी हुँदै गएको पनि देखियो ।

साहित्यिक संस्थाहरू बलिया छन् हेटौंडामा प्रशस्त पुरस्कारसहित । साहित्यमा कलाको कथाव्यथा उजागर भएको भने भेटिन्न । कलाकारको संघसंस्थामा कोष देखिन्न । राज्यबाट उपेक्षित विधा देशको संस्कृतिसँग भने अभिन्न रूपले जोडिएको देखिन्छ । सत्ताले बुझ्दैन, ‘आर्टिभिस्ट’ जन्मन सकिरहेको छैन । रङरेखासँग खेल्नेहरू आम मानिसको मनमुटुसम्म पुग्न सकिरहेको देखिन्न । आँखाबाट पस्ने यो विधा, अन्य एउटै कृति लाखौंमा पुगेझैं, नेपालमा फैलन सकेको छैन । मोफसलमा कलाका विषयवस्तु, तिनलाई सजाउने कलाकार, कलाप्रेमी बढ्दो देखिन्छन् । डिजिटल ‘इम्मर्सिभ’ कलाले परम्परागत कलामा नवीनता थप्दै छ । यस्तो समयमा साहित्यले कलालाई, कलाले साहित्यलाई सघाउन सक्छ, सघाउनुपर्छ । साहित्य र कलाको सम्बन्धबाट सार्वजनिक ‘आर्टिभिस्ट’ जन्मिओस् ।

प्रकाशित : जेष्ठ २६, २०८१ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×