कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

कुबेर धनोन्माद वृत्तान्त

लघुकथाबाट साहित्य–राजमार्गमा हिँडेका लेखक रवीन्द्र समीरको पछिल्लो उपन्यास ‘पैसाको उडान’ प्रकाशित छ । नवीन मार्ग अन्वेषण गर्नु र त्यसलाई चल्तीको मार्ग बनाउनु साहित्यमा चुनौतीपूर्ण छ । समीरले त्यही चुनौतीको बाटो अवलम्बन गरेका छन् । 

कुबेर धनोन्माद वृत्तान्त

आख्यानको लघु आयाम लघुकथालाई औपन्यासिक फ्लेवरमा प्रस्तुत गर्ने उनको नवीन शैली छ । झिना कथानक उठाएर त्यसलाई आख्यानीकरण गर्दै कलात्मक हिसाबले प्रस्तुत गर्नु उनको लेखकीय वैशिष्ट्य हो । आख्यानमा उनी सामाजिक विषय उठान गर्दै त्यसलाई गम्भीर ढंगले प्रस्तुत गर्छन् ।

‘पैसाको उडान’ मा समीरले छपन्न वटा लघुकथालाई सुन्दर ढंगले औपन्यासिकीकरण गरेका छन् । लघुकथाको आयाम जस्तो देखिए पनि यिनीहरूको बनोट कलात्मक र औपन्यासीकरण आकर्षक छ । छोटाछोटा बान्कीका हरेक परिच्छेदमा केन्द्रीय विषयका रूपमा पैसा र यससँग सम्बन्धित विषय उठाइएको छ ।

पैसा साधन कि साध्य ? प्रमुख कि सहायक ? यो सदैव गम्भीर बहसको विषय हो । यो विषयमा अनेक मतमतान्तर छन् र रहनेछन् । समाज विकासक्रमदेखि नै विकास हुँदै आएको पैसाले वर्तमानमा सबैलाई आफ्नो नियन्त्रणमा राखेको छ । नेपालीमा उखानै छ– धन देखे महादेवका तीन नेत्र ! मलाई धन सम्पत्तिले भो, पुग्यो भनेर कसैले भनेको छ ? छैन । जसरी दाउराबाट आगो अघाउँदैन, पानीबाट समुद्र अघाउँदैन, त्यसैगरी धनसम्पत्तिको अतिरिक्त मोहबाट मानिस कहिल्यै तृप्त हुँदैन । यसकै कारण युद्ध भए, परिवार र समाज विखण्डित भए । गृहस्थीदेखि वीतरागीसम्म, राजादेखि रङ्कसम्म, उद्योगीदेखि याचकसम्म सबैको ध्येय पैसा कमाउनु र बचाउनुमै छ ।

मुखले कसैले बजारिया खपतका लागि वा आदर्शवान् देखिन ‘पैसा केही होइन’ भने पनि यसको मोहजालमा सबै छन् । अन्तिम सत्य पनि यही हो । तर, सत्यबोध कसले गर्ने ? किन गर्ने ?

प्रस्तुत उपन्यासमा आम मान्छेका जीवनमा जहिल्यै गम्भीर प्रभाव पार्ने अति महत्त्वपूर्ण साधन पैसालाई समीरले मूल विषय बनाएका छन् । यहाँ मानवीय जीवनका लागि पैसा हुनुपर्नेमा वर्तमानमा पैसाका खातिर मानवीय जीवन खर्च भइरहेको तीतो यथार्थ प्रस्तुत गरिएको छ । मानिसमा अहम्को बढ्दो राग र ताप पैसाकै कारण सृजित भइरहेको छ भन्ने यथार्थ प्रतिबिम्बित गर्दै लेखकले मानवीय मूल्यमान्यताको खस्कँदो स्थिति भयावह रहेको व्यञ्जना प्रस्तुत गरेका छन् । पैसा कमाउनु नै जीवनको एकमात्रै ध्येय बनाएका वर्तमानका हरेक मानिसले पैसा कमाउने हेतु विवेकलाई बन्धकी राखेका छन् भन्ने सत्यबोध उपन्यासमा छ ।

लेखकले मिथकीय पात्र कुवेर र सुदामालाई साक्ष्यका रूपमा प्रस्तुत गर्दै कथारम्भ गरेका छन् । धन, वैभवका अधिपति कुबेरलाई धनाढ्यका प्रतिनिधि पात्रका रूपमा उभ्याएर कुबेरकै मुखारबिन्दबाट उनले कथा वाचन गराएका छन् । यही पात्रमार्फत नै राजनीतिको धमिलो पानीमा शक्ति र त्यसमाथिको पहुँचले धनरूपी माछा मारेर धनाढ्य बनेका नवसभ्रान्तको अहम् र चिन्तनप्रति उनले सटीक व्यंग्य गरेका छन् ।

देशमा आन्दोलनका नाममा चलेका हत्या, हिंसा र त्यसैको आवरणमा भएको राष्ट्रिय सम्पत्ति दोहनबाट एउटा आम सर्वसाधारण कसरी एकाएक सम्भ्रान्त हुन्छ ? र, उसमा पैसाको तुजुक कसरी चढ्छ ? त्यो यथार्थबोध उपन्यासमा छ । नाजायज किसिमले प्राप्त धनबाट व्यक्तिमा बढेको धनोन्मादको उत्कर्ष उपन्यासमा सुन्दर किसिमले चित्रित भएको छ । पैसाले जिन्दगीका आदर्शलाई परिवर्तन गरिदिन्छ, सिद्धान्तलाई पाखा लगाइदिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै लेखकले किताबमा भौतिकताको चास्नीमा डुबुल्की मारेर त्यसैको रस पिउन पल्केका कुबेर प्रवृत्तिका मानिसको चित्तवृत्ति चिरफार गरेका छन् ।

जगत्ले निर्धारण गरेका निश्चित मान्यतालाई पनि सम्पत्तिको उन्मादमा रहेको कुबेर परिवर्तन गर्न चाहन्छ । यहाँ गरिबहरूले बनाएका हाइपोथेसिसलाई धनीहरूले परिवर्तन गर्न सक्छन् र त्यो परिवर्तनको मूल साधन धन नै हो भन्ने अन्तिम निष्कर्ष छ किताबको । भौतिक वस्तुको निश्चित मूल्य हुन्छ, त्यसैले भौतिक वस्तुको प्राप्तिमा धनवान्हरूको वर्चश्व स्वाभाविक छ । यही तथ्य बुझेको औपन्यासिक पात्र कुबेर आफूलाई श्रेष्ठ तुल्याउन अभौतिक वस्तुको क्रयमा तल्लीन रहेको सन्दर्भ उपन्यासमा सान्दर्भिक छ ।

पैसाले बढेको मपाइँत्व र त्यसको महोन्मादले हरेक वस्तुको मूल्य निर्धारण गर्न सक्छ र धनको आसमा रहेका हरेक व्यक्ति धन प्राप्तिका लागि हरेक कुरा बिक्री गर्न तयार छन् भन्ने विचार यहाँ प्रस्तुत भएको छ ।

भौतिकताको जालोले बेरिएको कुबेर मार्क्स, माओको विचारधाराले व्यक्तिगत आर्थिक क्रान्ति हुन नसक्ने मान्यता बुझेर मार्ग परिवर्तन गरेको सगौरव बताउँछ । व्यक्तिगत रूपमा सम्पत्तिको अथाह संग्रह गरी त्यसैलाई जीवन दर्शन बनाएको कुबेर त्यसअघिका सबै आदर्शवादी मूल्यमान्यतालाई आफूले विसर्जन गरेको भाव अभिव्यक्त गर्छ । धनकी देवीहरूको पूजाअर्चनामा समय बिताउन थालेको कुबेर भोक, निद्रा, खुसी, यौन, मुस्कान, सौन्दर्य जस्ता अनेकन अभौतिक वस्तु पैसाले किनेर शक्ति प्रदर्शित गर्न पाउँदा आनन्ददायक देखिएको छ ।

वंशवादलाई प्रश्रय दिने एउटा ब्रह्मास्त्र हो– सम्पत्ति । सदियौंदेखि कथित उत्तराधिकारीले यसलाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् । धृतराष्ट्रको पुत्रमोहको उदाहरण दिँदै किताबमा एउटा आप्तवाक्य प्रयोग गरिएको छ– पुत सपुतका धनसञ्चय, पुत कपुतका धनसञ्चय । अन्त्यमा कुबेरकै सन्तान बाबुको सम्पत्तिप्रति निरपेक्ष देखिएका छन् । आफ्नै सन्तान आफ्नै विचारप्रति असहमत देखिएको र विपुल सम्पत्ति त्यज्य बनेको सन्दर्भसँगै उपन्यासले मार्ग परिवर्तन गरेको आभास हुन्छ । सबै चिज किन्न उपयोग गरिएको र आफैंमा यति धेरै आत्ममुग्धता बढाउन प्रयोग भएको पैसाले आमाबाबु किन्न नसकेको यथार्थबोधसँगै उपन्यासको पनि अन्त्य भएको छ ।

‘पैसाको उडान’ मा समीरले मानवीय सोचाइ र व्यक्तिमा खस्कँदो मानवीयता र बढ्दो कृत्रिमता प्रस्तुत गरेका छन् ।

प्रकाशित : जेष्ठ २६, २०८१ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×